Home / मनोरञ्जन / तीजगीतका ‘ब्राण्ड’ यादव

तीजगीतका ‘ब्राण्ड’ यादव

देवेन्द्र बस्नेत
नेपाली संगितमा दुई ‘कित्ता’ छ । एउटा पक्ष गीतको असली भाव संरक्षणको पक्षमा छ भने अर्को जसरी भएपनि ‘हिट’ बन्ने । त्यसो त, ‘समयको माग’ भन्दै रातारात हिट बन्ने सपना बुनेका संगितकर्मीहरुले ‘भड्किलो संगित’लाई आत्मसाथ गरिरहेकै छन् । यसैकारण प्रश्न उब्जीन्छ ‘खोई कालजयी गीत ?’ तर केहि संगितकर्मीहरु भावलाई गीतबाट गुम्न दिनु हुन्न भन्ने चिन्तनका साथ संगितकर्ममा लागिरहेकै छन् । यी मध्यका एक हुन् दाङका यादव योगी । यादव कुशल संगीतकार संगै कुशल गायक हुन् । यति मात्रै होईन उनी गीत लेखनमा पनि उत्तिकै अब्बल छन् । गीत लेखन, संगीत तथा गायकीको बारेमा लामो समय देखि जानकार उनी भन्छन् ‘गीतमा मर्म रहेन भने त्यो गीत हुँदैन, यसर्थ म गीतमा भाव खोज्छु ।’

उनको यो भनाईलाई अहिले तीज गीतमा गरेको उनको प्रयासले पनि प्रमाणीत गरिदिएको छ । समय सापेक्ष गीतहरु अर्थात पर्वसँग जोडिएको गीतसंगीतमा मौलिकता गुम्दै गएको छ । नजिकीदै गरेको तीज पर्वसँग सम्वन्धीत तीज गीतहरुमा तीजको पुरानो मौलिकता पाउनै मुश्कील भैसकेको छ । तीज गीतको लय, शब्दनै पृथक छ । तर अहिलेका गीतहरु दोहोरी गीत भन्दा फरक सुनिदैनन्,यानिकी तीज गीतमा तीजको छनकै पाउन सकिन्न । तर योगीले आफ्नो मेहनतमा तीजको मौलिकपनलाई उतारेका छन् । यसर्थ उनि तीज गीतका लागि ‘ब्राण्ड’ बनिदिएका छन् ।

yadav1 ६ वटा तीजका गीतमा श्रम गरेका छन् यादवले यसपाला । यी मध्य चार वटा गीत बजारमा आईसकेका छन् । एउटा गीतमा उनि आँफैले स्वर भरेका छन् भने बाँकी ३ वटामा संगितको काम गरेका छन् । तर उनले आफ्नो संलग्नतामा बजारमा आएका गीतहरुमा न्याय दिएका छन् । तीजको भाकालाई टपक्क टिपेका छन् । ‘सिजनेबल गीतहरुमा कुन चिजलाई लक्षित गरिएको हो,त्यो चीज अनिवार्य रुपमै भेटिनु पर्छ,’उनले भने ‘मैले अहिलेका तीजका गीतहरुमा यहि कुरालाई ध्यानमा राखेर काम गरेको छु ।’
यादवले यसपाला ‘जाउ मोटर चढेर’बोलको गीतमा बिशाखा शाहिसंग आवाज भरेका छन् । यो गीतमा श्रीमतीलाई तीजमा माईत जानका लागि श्रीमानले प्रेरित गरेको कथाभाव समेटिएको छ । उनले आँफुले गाएको गीतमा मात्रै होईन, गीतका लागि अन्यत्रबाट आएका ‘अफर’ लाई पनि तीजकै मौलिक पनलाई भरिदिएका छन् ।
रीता केसी र सन्दीप न्यौपानेको आवाजमा रहेको ‘तिमी त नाच्नमा एक नम्बर,’ ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको आवाजमा रहेको चट्ट कपाल कोरौली र सचेत बिरही र कोमल ओलीको आवाजमा रहेको ‘लै लै मायाँ बोल’का तीज गतिमा पनि उनले उत्तिकै न्याय गरेका छन् । यि गीतहरुमा यादवले संगित भरेका छन् । ‘मैले गीतमा भाव समेट्नका लागि सबै गीतहरुमा न्याय गरे जस्तो लाग्छ,’उनले भने ‘किनकी म रातारात चल्नका लागि भन्दा ओजीलो संगितको पक्षमा रहन्छु ।’
लमही सतवरियाका योगी लामो समय देखि संगितमा सकृय छन् । त्यसोत, उनले काठमाडौँ मात्रै संगितको केन्द्र भन्ने मान्यतालाई सहजै चिरिदिएका छन् । देउखुरीमै रहेर नेपाली संगितलाई उनले उत्तिकै न्याय दिईरहेका छन् भने संगितकर्मलाई उँचो बनाईरहेकै छन् । ‘कलाकार बन्नका लागि काठमाडौँ मात्रै केन्द्र हो भन्ने भनाई मलाई सहि लाग्दैन,’उनले भने ‘क्षमता भयो भने जहाँ बसेर पनि काम गर्न सकिन्छ,मुख्य कुरा क्षमता र ज्ञानको हो ।’ देउखुरीमै रहेर विभिन्न चलचित्र तथा दर्जनौ गीतमा संगित भर्नु यादवको यो भनाईको बलियो उदाहरण हो ।

yadav2

०५५ देखि संगितको औपचारिक यात्रा सुरु भएको थियो यादवको । आकाशैमा कालोमैलो बोलको गीत गाएर नेपाली संगित क्षेत्रमा प्रवेश गरेका उनलाई त्यो गीतले ठूलो उत्साह पैदा गरायो । त्यसको दुईबर्ष पछि बस्यो पिरती बोलको दोहोरी गीत ल्याएका यादवलाई यो गीतले झनै राम्रो साथ दियो । २०५९ मा ‘बाँके बर्दिया’ बोलको गीत बजारमा ल्याएका यादव यो गीतबाटै संगित क्षेत्रमा ‘नामी’ संगितकर्मीका रुपमा उभिन सफल भए । ‘बाँके बर्दिया बोलको गीतबाट मैले धेरै मायाँ पाएँ,’उनि भन्छन् ‘त्यसपछि मेरो सांगितीक यात्रा उँभो लाग्दै गयो ।’

लगातार संगितकर्मलाई अघि बढाएका यादवले दर्जनौ गीतका काम गरे । एक दर्जन बढि गीतहरु उनि आँफैले गाएका छन् । झण्डै चार दर्जनको हाराहारीमा उनले संगित भरेका गीतहरु बजारमा आएका छन् । एक दर्जन बढि गीतहरुमा उनको रचना छ । त्यसोत, तीन वटा चलचित्रमा समेत उनले संगितकारको रुपमा काम गरे । खवरदार चलचित्रको ‘हेरन आकाशैमा उड्ने चखेवाको जोडी’ को गीत निकै मन पराईएको थियो । यसैगरि रथ, र भैहाल्छ नि नामक चलचित्रमा पनि उनले संगित दिएका छन् । उनका अब गाउने गीतहरुको संख्या झण्डै दर्जनको हाराहारीमा छन् ।

केहि बर्षयता उनि तीज गीतमा प्रति पनि मोहित बनेका छन् । गतबर्ष उनले बजारमा ल्याएको गीत ‘नाई नाई नभने’ बोलको गीतले निकै चर्चा कमाएको थियो । ‘रातो सारी,माईत,दर राखेर लोकगीतको भाका हालेर तीज गीत बनाउने क्रम अत्यधिक बिकसीत हुँदै गएको छ,’यादव भन्छन् ‘तर यसले तीज गीतको मर्ममाथि प्रहार गरिरहेको छ ।’

उनका अनुसार अहिले गीत सुन्नेहरु भन्दा नाच्नेहरु बढि छन् भन्ने मानसिकता नेपाली संगितकर्मीहरुमा परेको छ । यसर्थ संगितकर्मीहरुको ध्यान केवल नचाउने गीतमा मात्रै केन्द्रित छ । ‘सबै त नाच्नेहरु मात्रै छैनन्नी,’ उनले भने ‘सबै नचाउने गीतहरुकै पछि लाग्ने हो भने सुन्न खोज्नेहरुका लागि कस्ले गीत बनाउने ?’ यसर्थ तीजका गीतहरुमा पनि लोकगीतको भाव बढि समेटेर चट्किलो भाकामा लय हाल्ने गरिएको उनि बताउँछन् ।

काठमाडौँबाट टाढा रहेर संगितकर्ममा खटिएका यादव जिल्लाकै नब संतिकर्मीहरुका लागि उत्तिकै सहयोगी समेत बनिदिएका छन् । उनले बुझेका छन् हरेकलाई काठमाडौँ सम्म पुग्न कठिन छ । यसर्थ नयाँ पुस्तालाई हात समाएर डोर्याईरहेका छन् उनले । ‘नव प्रवेशीहरुलाई मैले आफ्नो क्षमता अनुसारको साथ र सहयोग गरिरहेकै छु,’उनले भने ‘केहि साथी भाईहरुले अहिले यो क्षेत्रमा जिल्लामै बसेर पनि राम्रो गरिरहनु भएको छ ।’ उनले संगितकर्ममा लागेकाहरुलाई सहयोग गर्न पाउनुमा निकै आनन्द अनुभुती हुने गरेको समेत सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*