Home / Feature Breaking news / सफल व्यवसायी नरेशकुमार श्रेष्ठ : व्यवसायिक संघर्षदेखी व्यवसायीक संस्थाको नेतृत्व यात्रा

सफल व्यवसायी नरेशकुमार श्रेष्ठ : व्यवसायिक संघर्षदेखी व्यवसायीक संस्थाको नेतृत्व यात्रा

नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ सम्भावनाको खोजी गर्दै प्युठानको भिङ्ग्रीबाट दाङ झर्दा नरेशकुमार श्रेष्ठसँग ठूलो व्यवसायिक साम्राज्य बनाउने योजना थिएन । थियो त केवल केही गर्ने हुटहुटी, मेहनत गर्ने आत्मविश्वास र आफ्नै खुट्टामा उभिने दृढ इच्छा । त्यही इच्छाशक्ति, निरन्तर मेहनत र चुनौतीसँग जुध्ने साहसले उहाँलाई आज दाङको व्यवसायिक क्षेत्रमा परिचित नाम बनाएको छ ।

वि.सं. २०७१ सालमा घोराहीमा कोसेली बेकरी सञ्चालन गर्दै श्रेष्ठले आफ्नो व्यवसायिक यात्राको औपचारिक सुरुवात गर्नुभयो । सामान्य लगानीबाट सुरु भएको त्यो यात्रा सहज भने थिएन । बजारको प्रतिस्पर्धा, ग्राहकको बदलिँदो रुचि, व्यवस्थापनका चुनौती र लगानीको दबाबबीच उहाँले व्यवसायलाई निरन्तर अघि बढाउनुभयो । नयाँ सोच, गुणस्तर र बजारको मागअनुसार आफूलाई परिवर्तन गर्दै लैजाने उहाँको प्रयासले विस्तारै परिणाम दिन थाल्यो ।

घोराहीबाट सुरु भएको कोसेली बेकरीको यात्रा अहिले घोराही, तुलसीपुर र लमहीलगायतका सहरमा आधा दर्जन शाखासम्म पुगेको छ । व्यवसाय विस्तारसँगै उहाँले आफूमात्र होइन, थुप्रै युवालाई रोजगारीसँग जोड्ने अवसर पनि सिर्जना गर्नुभएको छ । एउटा सानो व्यवसायबाट सुरु भएको यात्रा आज धेरै परिवारको रोजीरोटीसँग जोडिएको छ ।

तर श्रेष्ठको यात्रा बेकरी व्यवसायको विस्तारमा मात्रै रोकिएन । व्यवसायमा प्राप्त अनुभवसँगै उहाँले होटललगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्नुभयो । परम्परागत ढर्राबाट अघि बढिरहेको व्यवसायलाई आधुनिक व्यवस्थापन, नयाँ सोच र उपभोक्ताको बदलिँदो मागअनुसार अघि बढाउनुपर्ने मान्यताका साथ उहाँ निरन्तर प्रयोग र परिवर्तनको पक्षमा उभिनुभयो ।

व्यवसाय बढ्दै गएसँगै श्रेष्ठले व्यवसायीका साझा समस्या पनि नजिकबाट देख्न र भोग्न थाल्नुभयो । व्यवसायीका लागि बजारमा टिकिरहनु मात्रै चुनौती थिएन । बैंकको ब्याजदर, लगानीको वातावरण, व्यवसाय सञ्चालनको बढ्दो लागत, बजारको अनिश्चितता र युवा व्यवसायी पलायनजस्ता विषयले उहाँलाई गम्भीर बनायो ।

आफ्नै व्यवसाय सञ्चालन गर्दा भोगेका चुनौतीले उहाँलाई एउटा प्रश्नतर्फ डोर्‍यायो—‘व्यवसायीको समस्या कसले बोल्ने ?’

त्यही प्रश्नको उत्तर खोज्दै उहाँ दाङ जिल्ला उद्योग वाणिज्य संघको गतिविधिमा सक्रिय हुनुभयो । व्यवसायीका व्यक्तिगत समस्याभन्दा माथि उठेर साझा मुद्दामा आवाज उठाउनुपर्ने आवश्यकता उहाँले महसुस गर्नुभयो । संघमा सचिव हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा श्रेष्ठले व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, छलफल गर्ने र समाधानका लागि पहल गर्ने कामलाई प्राथमिकता दिनुभयो ।

विशेषगरी बैंकको ब्याजदर वृद्धि र त्यसले व्यवसायमा पारेको प्रभावका विषयमा उहाँले व्यवसायीको पक्षबाट आवाज उठाउँदै आउनुभएको छ । व्यवसायीलाई ऋण लिएर व्यवसाय सञ्चालन गर्नुपर्ने तर बढ्दो ब्याजदरका कारण व्यवसाय नै संकटमा पर्ने अवस्थाले धेरै उद्यमीलाई निराश बनाएको उहाँको बुझाइ छ ।

“व्यवसायीका समस्या नजिकबाट देखेको छु । व्यवसाय सञ्चालन गर्न कति चुनौती छन् भन्ने आफैँले भोगेको पनि छु,’ श्रेष्ठ भन्नुहुन्छ, ‘त्यसैले व्यवसायीको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने नेतृत्व आवश्यक रहेकाले उम्मेदवार बनेको हुँ ।’

श्रेष्ठका लागि नेतृत्वको अनुभव भने दाङ आएपछि मात्र सुरु भएको होइन । वि.सं. २०५४ सालमै तत्कालीन प्युठानको भिङ्ग्री गाविस–२ को वडा अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले सार्वजनिक जिम्मेवारी र समुदायसँग जोडिएर काम गर्ने अवसर त्यही समयदेखि प्राप्त गर्नुभएको थियो ।

त्यसैले उहाँको नेतृत्व यात्रामा तीनवटा फरक अनुभव जोडिएका छन्—सार्वजनिक जिम्मेवारी, व्यवसायिक संघर्ष र व्यवसायीको संस्थागत नेतृत्व । यी तीनै अनुभवलाई अहिले उहाँले दाङका उद्योगी–व्यवसायीको साझा हितसँग जोड्न खोज्नुभएको छ ।

उहाँको बुझाइमा दाङको आर्थिक सम्भावना ठूलो छ । तर सम्भावना आफैँ अवसरमा परिणत हुँदैन । त्यसका लागि लगानीमैत्री वातावरण, उद्योगको विकास, स्थानीय व्यवसायको संरक्षण र युवा उद्यमशीलताको प्रवद्र्धन आवश्यक हुन्छ ।

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको कामलाई गति दिनुपर्ने, घोराहीका व्यवसायीलाई विस्थापित हुनबाट रोक्न स्थानीयस्तरमै व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने र व्यवसायीका लामो समयदेखि अधुरा रहेका मुद्दालाई निष्कर्षमा पुर्‍याउन पहल गर्नुपर्ने उहाँको प्राथमिकता छ ।

पर्यटन प्रवद्र्धन र खेलकुद क्षेत्रको विकासमा समेत सहयोग गर्दै आउनुभएका श्रेष्ठ निजी क्षेत्रलाई जिल्लाको आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताउनुहुन्छ । उहाँका लागि उद्योग वाणिज्य संघ केवल व्यवसायीको संस्था मात्र होइन, जिल्लाको आर्थिक गतिविधि र उद्यमशीलताको नेतृत्व गर्ने साझा मञ्च हो ।

यही सोच, अनुभव र यात्रालाई आधार बनाएर श्रेष्ठले दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज २४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

संघमा सचिव र वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दा सिकेका अनुभवलाई अब अध्यक्षको जिम्मेवारीमा पुगेर अझ प्रभावकारी रूपमा अघि बढाउने उहाँको योजना छ ।

“संघमा रहेर काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ । व्यवसायीका लागि गर्नुपर्ने अझै धेरै काम बाँकी छन्,’ उहाँ भन्नुहुन्छ, ‘त्यसलाई निरन्तरता दिँदै व्यवसायीको हितमा काम गर्ने मेरो उद्देश्य हो ।’

प्युठानको भिङ्ग्रीबाट सुरु भएको सार्वजनिक जीवन, दाङ आएर सामान्य लगानीबाट सुरु गरेको व्यवसाय, उतारचढावबीच विस्तार भएको व्यवसायिक यात्रा र व्यवसायीका साझा समस्यासँग जोडिँदै विकसित भएको नेतृत्व—नरेशकुमार श्रेष्ठको उम्मेदवारी यही यात्राको अर्को अध्याय हो ।

उहाँका लागि यो निर्वाचन केवल एउटा पद प्राप्त गर्ने प्रतिस्पर्धा होइन, वर्षौंको व्यवसायिक अनुभवलाई व्यवसायीको सामूहिक हितमा प्रयोग गर्ने अवसर पनि हो । त्यसैले उहाँले दाङका उद्योगी तथा व्यवसायीलाई आफ्नो विगतको काम, अनुभव र आगामी योजनाका आधारमा मूल्यांकन गर्दै सहयोग गर्न आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*