Home / Feature Breaking news / व्यवसायीको दुःख-सुखका सारथी माधव खनाल

व्यवसायीको दुःख-सुखका सारथी माधव खनाल

दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज २४ गते हुने निर्वाचनमा महासचिव पदका उम्मेदवार माधव खनाल व्यवसायीका सुखदुखका सारथी हुन् । व्यवसायीको दुखसुखमा साथ दिने खनाल संघको महासचिव बनेर व्यवसायीको थप सहारा बन्ने तयारीमा छन् । हरेक व्यवसायीको दुखमा होस् वा सुखमा सहभागी हुने माधव पद भन्दा पनि काम ठुलो हो भन्ने मानसायका साथ लागिपरे । उनी अब महासचिव बनेर व्यवसायीहरुको सहारा बन्नका लागि महासचिवको उम्मेदवार बनेको बताउछन् ।

प्युठानको स्वर्गद्वारी–खोलाखर्कमा वि.स.२०४२ साल माघ २८ गते जन्मिएका खनाल २०५३ सालमा साविक हापुर–९, हालको घोराही उपमहानगरपालिका–१२ मा बसाइँ सरेका थिए । त्यसपछि २०५९ देखि २०६५ सालसम्म काठमाडौंमा रहेर विभिन्न अनुभव हासिल गरेका खनालले २०६५ साल फागुन ५ गतेदेखि घोराहीको बैंक रोडबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन्। बैंक रोडबाट सुरु भएको उनको व्यवसायिक यात्रा हालसम्म निरन्तर अगाडि बढिरहेको छ ।

व्यवसायलाई आफ्नो मुख्य कर्मक्षेत्र बनाउँदै आएका खनाल पछिल्लो समय व्यवसायसँगै सहकारी, शिक्षा, सामाजिक सेवा र सामुदायिक क्षेत्रमा समेत सक्रिय छन् । लामो समयदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभवलाई उनले दाङ जिल्ला उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारीको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन् । खनाल हरेक व्यवसायीको दुख सुखमा पुग्ने पात्र हुन् । व्यवसायीहरुलाई समस्या परेको समयमा उनी व्यवसायीहरुको समस्या समाधानकालागि लागिपर्ने पात्र हुन् ।

खनाल हाल कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड, घोराही–१५ का अध्यक्ष हुन् । सहकारी क्षेत्रमा उनको भूमिका केवल संस्थागत नेतृत्वमा मात्र सीमित छैन । उनी जिल्ला सहकारी संघ लिमिटेड, दाङका वरिष्ठ उपाध्यक्ष समेत हुन् । सहकारी क्षेत्रमा आर्थिक अनुशासन, पारदर्शिता, सदस्यको हित तथा संस्थागत विकासमा नेतृत्व र समन्वय गर्ने अनुभव उनले हासिल गरेका छन् ।

त्यस्तै, खनाल दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य २०७९ – २०८२ र सह–कोषाध्यक्ष २०८०–२०८३ को जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन् । संघको आन्तरिक गतिविधि, व्यवसायीका समस्या, आर्थिक अनुशासन तथा संस्थागत प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्राप्त गरेका कारण महासचिवको जिम्मेवारी निर्वाह गर्न आफू सक्षम रहेको उनको दाबी छ ।

व्यवसायिक क्षेत्रमा पनि खनालको लामो अनुभव छ । प्रयास फेन्सी स्टोर, घोराहीका प्रोप्राइटर रहेका उनी स्थानीय बजार, उपभोक्ताको आवश्यकता, व्यापार सञ्चालन र व्यवसायीका दैनिक समस्या नजिकबाट बुझेका व्यवसायीका रूपमा परिचित छन् । यही व्यावसायिक अनुभवलाई संघमार्फत जिल्लाका व्यवसायीको हितमा प्रयोग गर्ने उनको लक्ष्य छ।

खनालको सक्रियता व्यवसाय र सहकारीमा मात्र सीमित छैन । उनी ज्योतिपुञ्ज आ.मा.वि. घोराही–१५ भरतपुरका सञ्चालक समिति सदस्य तथा निर्माण समिति संयोजक र ज्योतिपुञ्ज मोडेल बोर्डिङ, घोराही–२, रामपुरका सञ्चालक समिति सदस्य तथा निर्माण समिति संयोजकको रूपमा समेत जिम्मेवारीमा रहेका छन् ।

सामाजिक क्षेत्रमा पनि उनी विभिन्न संस्थासँग जोडिएका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र, घोराहीका सञ्चालक समिति सदस्यका रूपमा समुदाय र प्रहरीबीच सहकार्य, शान्ति, सुरक्षा तथा सामाजिक सद्भावका क्षेत्रमा काम गर्ने अवसर उनले पाएका छन् । त्यस्तै कोशिस फाउन्डेसन, घोराहीका सदस्य, खनाल सेवा समिति दाङका सचिव तथा स्वर्गद्वारी प्युठान–दाङ सरोकार समितिका सञ्चालक समिति सदस्यका रूपमा पनि उनी सक्रिय छन् ।

सहकारी क्षेत्रको अनुभवलाई थप संस्थागत रूपमा उपयोग गर्दै उनले राष्ट्रिय सहकारी बैंक, घोराही शाखाका सल्लाहकारका रूपमा समेत भूमिका निर्वाह गरिरहेका छन् ।

विभिन्न क्षेत्रमा प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघको नेतृत्वसँग जोड्दै खनालले व्यवसायीका समस्या समाधान, संस्थागत सुशासन, आर्थिक अनुशासन, व्यवसायिक वातावरण निर्माण र निजी क्षेत्रको सम्मानजनक भूमिकालाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् ।

उनको उम्मेदवारीलाई व्यवसायसँगै सहकारी, शिक्षा र सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा उपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ। बैंक रोडबाट सुरु भएको उनको व्यावसायिक यात्रादेखि सहकारी संस्था, उद्योग वाणिज्य संघ, विद्यालय, सामाजिक संस्था र सामुदायिक क्षेत्रमा निर्वाह गरेका विभिन्न जिम्मेवारीले उनको उम्मेदवारीको पृष्ठभूमि तयार गरेको देखिन्छ ।

असोज २४ गते हुने निर्वाचनमा महासचिव पदका उम्मेदवार खनालले आफूले विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवलाई संघको संस्थागत विकास र जिल्लाका व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*