Home / Feature Breaking news / मानिस हराउने क्रम बढ्दो, हराउनेमा महिला र बालिका धेरै
फाईल तस्वीर

मानिस हराउने क्रम बढ्दो, हराउनेमा महिला र बालिका धेरै

सुशीला ओली

दाङ जिल्लामा वर्षेनि महिला, बालबालिका तथा जेष्ठ नागरिक हराउने क्रम बढ्दो छ । हराउने क्रम बढे पनि प्रहरीको तथ्यांकमा फेला पर्नेको संख्या भने न्यून रहेको छ  । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक अनुसार हराएका मध्ये सबैै फेला नपर्ने गरेको पाइएको हो ।

पछिल्लो समय मानिसमा जिज्ञासा बढ्दा र स्वतन्त्र रहन चाहानुका कारणले गर्दा हराउने क्रम धेरै देखिन्छ । आमा बुवा काममा व्यस्त हुदाँ र आफनो घरका सदस्यको निगरानी र समय दिन नसक्दा पनि बालबालिका हराउने क्रम बढ्दो देखिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

पछिल्लो समय अभिभावकको जिम्मेवारीमा बस्नुपर्ने समयमा बालबालिकाहरु प्रति अभिभावकको निगरानी हराएको देखिने गरेको छ । यसैगरी महिलाहरु पारिवारीक समस्याका कारण तथा श्रिमान बैदेशिक रोजगारका क्रममा गएको र घरमा श्रीमतिले पैसा हिनामीना गराएर घरबाट हिड्ने समस्या आएको उहाँको भनाइ छ ।

जिल्लामा चालु आर्थिक बर्ष २०७९÷०८० को हालसम्म महिला बालबालिका र जेष्ठ नागरिक गरेर ८९ जना हराएका छन् । जसमध्ये ४६ जना महिला, १८ जना बालक, २३ जना बालिका र दुईजना जेष्ठ नागरिक हराएको उजुरी प्रहरी कार्यालयमा परेको छ । हराएका मध्ये २० महिला, ६ बालक, १४ बालिका र जेष्ठ नागरिक दुई जना फेला परेका छन् भने अरु कहाँ छन् भन्ने प्रहरीको तथ्याङ्कमा छैन् ।

यसैगरी गत आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय ५३ जना महिला, बालक ८३ जना, एक सय ५८ जना बालिका र १५ जेष्ठ नागरिक गरेर जम्मा ६ सय नौ जना हराएका थिए । यी मध्ये दुई सय ३४ महिला, ६७ बालक, एक सय ३२ बालिका र १२ जना जेष्ठ नागरिक फेला परेपनि अरु नभेटिएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा चार सय ५३ जना मानिस हराएका थिए । जसमध्ये महिला तीन सय एक, बालक ३९ जना , बालिका एक सय सात जना र जेष्ठनागरिक ६ जना हराएका थिए ।

हराएकामध्ये महिला दुई सय ३६, बालक ३७, बालिका ९० र जेष्ठनागरिक चार जना गरी तीन सय ६७ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म ८६ जना सम्पर्कबाहिर छन् । उमेर पुगेका र विवाह भएका केही युवतीहरु अन्यन्त्रै विवाह गरेर गएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी कार्यालयमा हराएको निवेदन आएपनि फेला परेको जानकारी नआउने भएकाले हराएकाहरुको तथ्याँक बढि रहेको प्रहरीको भनाई छ । परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् ।

तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतम बताउनुहुन्छ्। हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची लामो भएको हुन सक्ने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*