दाङ, २३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ मा नियमित पुजापाठ गरिने भएको छ । धार्मिक उपसमितिले दैनिकरुपमा पुजापाठ गर्ने निर्णय गरेको छ ।
प्रदर्शनी अवधिभर अखण्ड दीप प्रज्वलन गरिने मूल आयोजक समितिका सहसंयोजक नरेश कार्कीले जानकारी दिए । त्यसैगरेर चैत ५ गते २१ बटुकद्वारा लघु रुद्री पाठ गरिने पनि उनले बताए । लघु रुद्रीको जिम्मा प्रकाश भट्टराई, भजनकीर्तनको जिम्मा घनश्याम केसी दैनिक योगका लागि पतञ्जली योग समिति, दैनिक पुजापाठका लागि टोपेन्द्र पौडेललाई जिम्मा दिएको धार्मिक उपसमितिका संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।
प्रर्दशनीको समयमा हेलिकप्टरमार्फत लुम्विनी प्रदेशका विभिन्न जिल्ला तथा कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए । हेलिकप्टरमार्फत नागरिकको इच्छाअनुसार पर्यटकीय तथा धार्मिकस्थलसम्म पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।
त्यसैगरी भोजन तथा आवास व्यवस्थापन उपसमिति विस्तार गरिएको छ । उपसमितिका संयोजक विष्णुप्रसाद रिजालको अध्यक्षता तथा मूल आयोजक समितिका सहसंयोजक नरेश कार्कीको प्रमुख आतिथ्यमा भएको बैठकले समिति विस्तार गरेको हो । समितिको सदस्यमा दिपेन्द्रकुमार पुनमगर, ईश्वर बुढामगर, मोहन केसी, टीकाराम भुसाल, श्यामकुमार विक, खर्कसिंह पुन, भरत पछाई, मानबहादुर घर्ती, शंकर अधिकारी, नवराज मैनाली रहेका छन् । त्यस्तै आइतवार खानेपानी तथा सरसफाई उपसमिति विस्तार गरिएको छ ।
उपसमितिका संयोजक मित्रदेव अधिकारीको अध्यक्षता तथा मूल आयोजक समितिका सहसंयोजक रामप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा बसेको बैठकले समिति विस्तार गरेको हो । समितिको सदस्यहरुमा रुद्रबहादुर डाँगी, भक्तबहादुर केसी, विष्णु जिसी, विष्णु पोख्रेल, दुर्गाप्रसाद घिमिरे, सुमन शर्मा र विशाल गिरी रहेका छन् ।
संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास : परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ को झिँगौरामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको लागि प्रचार प्रसार, चिठ्ठीपत्र पठाउने, भेटघाट, छलफल तथा प्रदर्शनीस्थलमा भौतिक निर्माण कार्य समेत तीव्रता दिइएको प्रदर्शनी मूल आयोजक समितिका सहसंयोजक तथा संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन सबै उपसमितिले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उपसमितिहरुले आफ्नो कामलाई तीव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिएका छन् ।
RaptiSandesh RaptiSandesh