Home / Feature Breaking news / प्रदेशसभा भवन निर्माणको ७० प्रतिशत काम

प्रदेशसभा भवन निर्माणको ७० प्रतिशत काम

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यकामा निर्माणाधीन प्रदेशसभा भवनको ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणधीन दुई तले भवनको पहिलो तला ढलान गर्नेदेखि सभा स्थलमा कुर्सी राख्नका लागि ठाउँ तयार पार्नेलगायतका काम भइरहेका छन् ।

करिब एक वर्षभित्र निर्माण हुन नसकेको प्रदेशसभा भवन निर्माणको काम नयाँ निर्माण कम्पनी दिएसँगै भवन निर्माणले गति लिएको हो । राती र दिउँसो गरी दुई सिपm्टमा निर्माणको काम हुन थालेपछि करिव १५ दिनमै ५० प्रतिशत भवन निर्माणको काम भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

मंसिर महिनाभित्र प्रदेशसभा भवन निर्माण गरेर हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए । प्रमुख कार्यकारी अधिकृत घिमिरेले लुम्बिनी प्रदेशको पहिचान झल्कने गरी भवनको डिजाइनमा केही परिवर्तन गरेर प्रदेशसभा भवन निर्माणको काम भइरहेको बताए ।

‘प्रदेशसभा भवन पहिलेको डिजाइनमा केही परिवर्तन गरेका छौँ । वालमा चाइनिज इट्टा लगाएका छौँ भने छानोमा टिनको सट्टा रोल्पाली ढुङ्गाले छाउने र भवनको अगाडि आँखी झ्याल राख्ने योजना बनेको छ’, उनले भने, ‘त्यही योजनाअनुसार प्रदेशसभा भवन स्थानीय अनुकूलता र पहिचानलाई ध्यानमा राखेर बनाउने काम भइरहेको छ ।’ उनकाअनुसार पहिले गारोमा चाइनिज इट्टाको सट्टा प्रिफेप पाता प्रयोग गरेर बनाउने भनिएको थियो । यसले गर्दा भवन निर्माणको लागत बढ्ने भएपछि बजेट रोक्ने काम हुन थालेको छ ।

महिनाभित्रै भवन निर्माणको काम सक्ने गरी काम अघि बढे पनि पछिल्लो चरणमा भवन निर्माणका लागि समस्या सिर्जना गर्ने खेल भइरहेको बताइएको छ । प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती उपत्यकाका प्रदेशसभा भवन निर्माणले गति लिएसँगै केही मन्त्रालयहरू आउने तयारीमा गरिरहेका बेला प्रदेशसभा भवन निर्माणलाई ढिला गर्ने काम हुन खोजेको प्राधिकारणले जनाएको छ ।

५ करोड २१ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रदेशसभा भवन वाइवी स्टोन बिल्ड्रर्स प्रालिले गरिरहेको छ । एमएस ड्राइगन बस्नेत जेभीले काम गर्न नसकेपछि प्राधिकरणले प्रदेशसभा भवनको काम वाइवी स्टोन बिल्ड्रर्सलाई दिएको थियो । सम्झौताअनुसार प्रदेशसभा भवन निर्माणको काम ४५ दिनमा सक्ने गरी भवन निर्माणको काम गरिरहेको निर्माण व्यवसायी सिभिल इन्जिनियर यज्ञ केसीले बताए तर कामको सुनिश्चिता नहुँदा केही समस्या भएको बताए ।

‘पहिलेको डिजाइनमा केही परिवर्तन भएको छ । त्यहीअनुसार छानामा टिनको ठाउँमा ढुङ्गाको छाना, प्रिफेप गाराको ठाउँमा चाइनिज इट्टा र भवनको अगाडि आँखीझ्याल राख्ने गरी काम भइरहेको छ’, निर्माण व्यवसायीले केसीले भने, ‘निर्धारित समयमै काम सकेर भवन हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।’ उनले प्रदेश सरकारले बजेटको सुनिश्चिता गरे काममा कत्ति पनि ढिलाइ नहुने बताए ।

प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बन्ने भएका छन् । राप्ती गाउँपालिकाको सवै वडाहरू, गढवा गाउँपालिका वडा नं. १, २ र ३ नम्बर र अर्घाखाँची जिल्ला अन्तर्गत् सितगंगा गाउँपालिकाका वडा नं. ८ र ९ को भूभागलाई समेटेर प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकालाई घोषणा गरेको थियो ।

प्राधिकरण प्रमुख घिमिरेलाई ज्यान मार्ने धम्की

अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको छ । स्थायी राजधानीमा भौतिक पूर्वाधारको कामलाई निरन्तर जारी राखेर राजधानी सार्न थालेको भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको हो ।

सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जरमार्फत् पठाइएको म्यासेजमा राजधानीको काम तुरुन्त रोक्न धम्की दिइएको छ । ‘राजधानी सार्ने नै हो त ? काम छैन पागल जस्तै गरेको छ’, घिमिरेलाई पठाइएको म्यासेजमा भनिएको छ, ‘अर्थले बजेट रोकिसक्यो, ठेकेदार काम रोक्न तयार छ, सिइओलाई मर्न मन छ के हो ?’ उक्त म्यासेजमा अख्तियार लगाएर या ज्यान मारेर सिध्याउने धम्की दिइएको छ । राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम तत्काल रोक्न पनि धम्की दिइएको छ । म्यासेजमा लेखिएको छ, ‘नत्र बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् ।’

आफ्नो ४ सय करोड रूपैयाँ लगानी सिध्याउन खोजेको भन्दै म्यासेजमा सम्झाउँदा पनि नमानेको उल्लेख गरिएको छ । राधजानीको काम सुस्त गर्न सम्झाएको विषयमा घिमिरेले आफूलाई अप्रत्यक्ष रूपमा त्यस्ता खालका सुझावहरू आए पनि आफूले जिम्मेवारीअनुसार काम गरिरहेको बताए । घिमिरेकाअनुसार दाङमा राजधानी ल्याउन वा आउन नदिने नियत बोकेकाहरूबाटै आफूलाई धम्की आएको बताए ।

आफूमाथि असुरक्षा भएको भन्दै प्राधिकरणका सिइओ घिमिरेले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । ‘मलाई राम्रोसँग चिनेको र राजधानीको विषयमा चासो र सरोकार राख्ने मान्छेबाट नै यो खालको धम्की आएको हो’, घिमिरले भने, ‘मैले धम्की दिने व्यक्ति पत्ता लगाउनका लागि सिडिओ र एसपी सापसँग जानकारी गराएको छु ।’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेमाथि आएको धम्कीबारे अनुसन्धन सुरु भएको भन्दै छिट्टै दोषीलाई पक्राउ गर्ने बताए । ‘प्रहरीले जानकारी पाउनासाथ अनुसन्धान गर्न थालिसकेका छौँ’, उनले भने, ‘छिट्टै दोषीलाई पक्राउ गर्ने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*