Home / Feature Breaking news / बसन्त हरियाली वनमा श्रीखण्डसँगै हुर्कदै कुरिलो

बसन्त हरियाली वनमा श्रीखण्डसँगै हुर्कदै कुरिलो

लिलाधर वली

दाङ,४ साउन । सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोगसँगै खाली जमिन उपयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको छ । सामुदायिक वन समूहका माध्यमबाट बजार माग अत्याधिक रहेको तरकारी खाने कुरिलोको व्यवसायिक खेती शुरु गरिएको हो ।

घोराही उपमहानगरपालिका–१८ अखबरेस्थीत बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको जमिनमा पहिलो पटक तरकारी खाने कुरिलो रोपिएको छ । प्रदेश सरकार वन वातावरण तथा भू संरक्षण मन्त्रालयको पाँच लाख र उपभोक्ताको लागत सहभागीता करिव एक लाख ४० हजार रुपैया गरि ६ लाख ४० हजार रुपैया खर्च गरेर सामुदायिक वन समूहको आफ्नो २८८.६६ हेक्टर क्षेत्रफल मध्य २ हेक्टर जमिनमा ६ हजार २ सय विरुवा रोपिएको बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका सचिव राममाया रोकाले जानकारी दिएकी छिन् । उनका अनुसार वन समूहले श्रीखण्ड रोपेको ४.१५ हेक्टर क्षेत्रफलकै खाली रहेको जमिनलाई उपयोग गर्दै समूहको आम्दानी बढाउने उद्देश्य अनुसार कुरिलो रोपिएको बताइन ।

सचिव रोकाले श्रीखण्ड रोपेर खाली रहेको जमिनलाई सफा गरेर कुरिलो रोपिएको र संरक्षणका लागि तारजाली गरिएको बताइन । ‘वनमा श्रीखण्ड रोपिएको क्षेत्रमा झाडी सफा गरेर कुरिलो रोपेका छौ’,उनले भनिन्,‘रोपेको कुरिलो अहिले हुर्कदै गरेको छ ।’ उनका अनुसार वन समूहले ६२ सय कुरिलोसँगै ३ सय टिमुरका विरुवाहरु समेत रोपिएको छ । ‘खुल्ला र उजाड डाडाका रुपमा रहेको जमिनमा चार बर्षअघि श्रीखण्ड रोपेका थियौ । अहिले ती विरुवाहरु हुर्कदै छन्’,सचिव रोकाले भनिन्,‘श्रीखण्डका ती विरुवालाई हुर्काउँदै खाली बचेको खाली जमिनमा कुरिलो रोपेका छौ ।’

कुरिलो खेतीका लागि वन समूहको प्रस्तावना अनुसार मन्त्रालय र डिभिवन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेका हुन । कुरिलोको संरक्षकाका लागि कार्यक्रम अनुसार करिव २ सय मिटर क्षेत्रमा तारबार गरिएको छ । यसरी रोपिएको करिलोले दुई बर्षपछि आम्दानी दिन थाल्ने डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले बताएका छन् । बसन्त हरियाली सामुदायिक वन क्षेत्रमा रोपिएका श्रीखण्डका बोटहरु संरक्षणसँगै हुर्काउनका लागि गोडमेलसँगै समूहको आम्दानीमा वृद्धि गर्ने उद्देश्य अनुसार पहिलो पटक बसन्त सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा कुरिलो रोपिएको प्रमुख श्रेष्ठले बताए ।

‘वन समूहको जग्गामा करिव ६ सय श्रीखण्डका विरुवाहरु हुर्कदै छन्, । त्यी विरुवाको संरक्षण गर्ने र खाली जमिनलाई उपभोग गरेर उपभोक्ताको आम्दानीमा वृद्धि गर्र्ने गरि कुरिलो रोपेका हौं’,डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठले भने,‘बहुउपयोग नीति अनुसार एकतिर श्रीखण्डको संरक्षण हुने र अर्कातिर कुरिलोबाट उपभोक्ताले आम्दानी लिन सक्नेछन् ।’ श्रीखण्ड रोपिएको ठाउँमा ६ हजार २ सय विरुवाहरु मध्य ४ हजार पाँच सय विरुवा जगाउन सकेमात्रैपनि दुई बर्षपछि उपभोक्ताले बार्षिक ६ लाख रुपैया कुरिलो बेचेर आम्दानी गर्ने सकिने बताए ।

कुरिलो रोपेपछि कम्तीमा दश बर्षसम्म उपयोग गर्न सकिने र एकै बर्षमा ३देखि ४ पटकसम्म एकै बोटबाट आम्दानी लिन सकिने डिभिजन प्रमुख श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले बसन्त हरियाली सामुदायिक वन समूहसँगै घोराही उपमहानगरपालिका–४ अन्तर्गत रहेको जनश्रमदान वन तथा उपभोक्ता समूहका ३५ जना किसानहरुलाई ७ हजार ५ सय विरुवा रोप्नका लागि दिएको बताए । वन समूहसँगै उपभोक्ताहरुलाई पनि करिलोका विरुवाहरु दिएको भन्दै राम्रोसँग हुर्काउन सके उपभोक्ताहरुले राम्रो आम्दानी लिन सक्ने बताए ।

बसन्त हरियाली सामुदायिक वन समूहले जिल्लामै ठुलो स्केलमा २०७६ सालमा ४ हजार चार सय र २०७७ सालमा पाँच सय श्रीखण्डका विरुवाहरु रोपेको थियो । ती विरुवाहरुलाई बगैचाका रुपमा विकास गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बोट बिरुवाको संरक्षणका लागि वन समूहले १२ हजार रुपैया मासिक दिएर वन समूहले चौकिदारको ब्यवस्था पनि गरेको छ । वन कार्यालयको प्राविधिक सहयोग आफूहरुले श्रीखण्डको बगैचा र कुरिलोको खेति थालेको वन समूहका सचिव राममाया घर्ति मगरले बताउनुभयो । ५ सय ४० जना उपभोक्ता रहेका बसन्त हरियाली वन समूह २ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बार्षिक चार लाख आम्दानी
बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले बार्षिक रुपमा चार लाख बढी आम्दानी गर्ने गरेको छ । वन समूहमा रहेका काठहरु र घाँस विक्रि गर्दा बार्षिक रुपमा चार लाख बढीको आम्दानी गर्ने गरेको वन समूहका सचिव रोकाले जानकारी दिएकी छिन् । उनका अनुसार वन समूहमा सवैभन्दा धेरै इपिलका वोटहरु रहेको भन्दै दाउराका रुपमा पनि इपिल विक्रि हुने गरेको समेत बताइन ।

वन समूहले काठ विक्रि गरेर आएको आम्दानी उपभोक्ताहरुको हितका लागि सवन समूह अन्तर्गत रहेका समूहहरुमा लगानी गर्ने गरेको छ । एक प्रतिशत व्याजमा लगेर वन समूहका उपभोक्ताहरुले तरकारी खेती,पशुपालनलगायत क्षेत्रमा लगानी गर्ने गरेको वन समूहका सदस्य हिराबहादुर बुढाथोकीले बताए । उनका अनुसार वन समूहका कारण व्यवसाय गर्नदेखि अप्ठेरोमा रहेको परिवारलाई समेत सहयोग पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*