Home / समाचार / सहकारी निम्न वर्गका लागि आयआर्जन

सहकारी निम्न वर्गका लागि आयआर्जन

दीप्तिशिखा चौधरी
दंगीशरण, १९ मंसिर । कृषि सामग्री सस्ंथान लिमिटेडका अध्यक्ष तीर्थराज न्यौपानेले निम्नवर्गलाई सहकारीले आयआर्जनमुखी बनाउन सहयोग गरेको बताएका छन् । सहकारीमा जोडिएकाहरू अहिले आर्थिक रूपमा परिपक्व भएको समेत उनले बताए ।

साना किसान कृषि सहकारी संस्था लि दंगीशरण गाउँपालिका वडा नं ६ को १७औँ साधारणसभामा बोल्दै प्रमुख अतिथि न्यौपानेले सहकारीबाट प्राप्त स्रोत साधनलाई उपयोग मात्र नभई दिगो कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

साधारणसभामा साना किसान सहकारी धनौरीका टेकबहादुर पाण्डे, श्रीगाउँ खानेपानीका धरमनाथ योगी, साझेदारी दंगीशरण गाउँपालिका संयोजक माया चौधरी, मोहन चौधरीले ऋण लिँदा समयमै तिर्ने तरिकाले लिनुपर्ने भन्दै सहकारीलाई बचाऔँ अभियानतर्फ लग्नुपर्ने बताए । बचत भन्दा पनि ऋण लिनेको संख्या बढेको र समयमै नतिर्ने भएकाले सहकारी डुब्ने सम्भावना बढ्नसक्ने बताए ।

सो अवसरमा शेयर सदस्यहरू टोपा वलीलगायतले मल, बिउविजन वितरणमा मात्र केन्द्रित नभई महिला सशक्तिकरणका कार्यक्रम गर्न आवश्यक रहेको बताइन् । सो अवसरमा सहकारीका प्रबन्धक दीपबहादुर चौधरीले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित एवं आर्थिक वर्ष २०७८÷०७९ को प्रस्तावित लगानी अशुली, व्याज अशुली र आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए ।

जसमा २०७७÷०७८ मा १ करोड ६८ लाख १९ हजार खर्च भएको र आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड २५ लाख लक्ष्य लिइएको प्रस्तुत गरिएको छ । सहकारीको आर्थिक वर्ष २०७७÷०७८ मा ३० लाख ७२ हजार १ सय ८२ नाफा भएकोमा आर्थिक वर्ष २०७८÷०७९ मा ४४ लाख ९० हजार नाफा हुने लक्ष्य लिइएको छ । सभामा सहकारीका अध्यक्ष टंकबहादुरले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २०६२ मा दर्ता भएको सहकारीमा दंगीशरण गाउँपालिका भित्रका ३, ४, ५, ६ र ७ गरि ५ वटा वडामा कार्यक्षेत्र रहेको छ ।

सहकारीमा १ सय ६३ समूहभित्र ६ सय ३० घरपरिवार आबद्ध रहेका छन् । यस्तै सहकारीले रासायनिक मल तथा उन्नत बिउविजन विक्रीवितरण, साना किसान कृषि प्रशिक्षार्थी तालिम सञ्चालन गर्दै आएको छ ।

सहकारीले कोभिड–१९ का कारण ज्यान गुमाएका शेयर सदस्य वा एकाघार परिवारका सदस्यहरूलाई १० हजारका दरले साना किसान विकास लघुवित्त वित्तीय संस्था ईलाका कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा ४० हजार दिइएको र किसानहरूलाई कृषि औजारहरू उपलब्ध गराएको, साना किसान कृषि सहकारी र साझेदारी संघीयता सहयोग कार्यक्रममार्फत् (डब्लुपिएस) सस्ंथा बीचको सम्झौताअनुसार १ सय २० जना शेयर सदस्यहरूलाई ६ महिने वित्तीय तालिम दिइएको र बिउ वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लेखा प्रतिवेदन लेखा समिति संयोजक पूजा चौधरीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा शेयर सदस्यहरूमा ज्येष्ठ सदस्य बुद्धिराम वली, प्रेमकुमारी उपाध्याय, धनमाया खत्री, चन्दा केसी, लखपति चौधरी, प्यारी चौधरी, सुन्तली चौधरीलार्ई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण दीपक योगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*