दाङ,१५ असार । आज असार १५अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस मनाइदै आइएको छ । तर यसबर्ष समयमै पानी नपर्दा र मल नपाउँदा किसानले धान दिवस मनाउन सकेका छैनन् ।
धान दिवस मनाउने पर्ने भएकाले जिल्लाका केही स्थानीय तहले सिचाई सुविधा भएका गाउँहरु छनोट गरेका छन । उक्त ठाउँमा दिवस मनाईदैछ । तर जिल्लाका अधिकांस किसानले भने धान दिवस मनाउन सकेका छैनन् । सिचाईको सुविधा नहुदा अहिलेसम्म धान रोप्न नपाएको घोराही उपमहानगरपालिका–१७ गुलरियाका किसान प्रेम चौधरीले बताए ।
गतबर्ष कृत्रिम जलाशयको पानीले सिचाई गरेर धान रोपेका चौधरीले यसबर्ष तालमा पानी नहुदा रोपाई गर्न नपाएको बताए । ‘पोहर साल तालमा पानी थियो, त्यही पानीले धान रोपेका थियौ’,किसान चौधरीले भने,‘तर यसबर्ष तालमा पानी नहुदा अहिलेसम्म रोपाई गर्न सकेको छैन ।’ रोप्नका लागि व्याड तयार भएपनि पानी नहुदा रोप्न नसकेको उनी बताउँछन ।
देउखुरीमा प्रगन्ना सिचाई आयोजना अन्तर्गत सिचाई हुने जमिन र डिपोरिङको सिचाईवाट केही किसानले रोपाई गरेका छन । जिल्लाको धान खेती हुने जमिन ३७ हजार हेक्टर मध्य अहिले १० प्रतिशत मात्र रोपाइ भएको छ । प्रगन्ना सिचाई आयोजना अन्तर्गत देउखुरीको राप्ती गाउँपालिका र लमही नगरपालिकाका केही स्थानमा धान रोपाई गरिएको छ ।
राप्ती गाउँपालिकाको धान खेती हुने जमिन मध्य करिव ८५ प्रतिशत जमिनमा रोपाई सकिएको राप्ती गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेश अधिकारीले बताए । ‘गाउँपालिकाले खेती योग्य जमिनको डाटा तँ लिएको छैन,तर अधिकांस किसानले धान रोपेका छन’,कृषि विकास अधिकृत अधिकारीले भने,‘ गाउँपालिकामा धान खेतीको अवस्था हेर्दा करिव ८० देखि ८५ प्रतिशतसम्म भैसकेको छ ।’ त्यस्तै लमही नगरपालिकाका केही स्थानमा पनि रोपाई भएको छ । प्रगन्ना सिचाई आयोजना र डिपबोरिङको सुविधा भएका स्थानमा धान रोपाई भएको छ ।
सिचाईको सुविधा नहुदा जिल्लाका अधिकांस किसानले अहिलेसम्म धान रोप्न पाएका छैनन् । असारको १५ वितिसक्दा समेत पानी नपर्दा किसान निराश छन । त्यसैमा किसानले यसबर्ष मल समेत पाउन सकेका छैनन् । तर कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख कृष्णवहादुर वस्नेतले धान रोपाईका लागि समय प्रशस्त भएको बताए ।
‘पानी परेको भए असारमा धान रोप्दा राम्रै हुन्थ्यो तर पानी परिन भनेर अत्तिने समय पनि अझै भएको छैन्’,ज्ञान केन्द्रका प्रमुख बस्नेतले भने,‘ धान रोप्ने समय प्रशस्त छ, किसानले साउन महिनाभरी धान रोप्न सक्छन ।’ सिचाई सुविधा भएका स्थानमा किसानले रोपाई गरिरहेको समेत बस्नेतले बताए । तर जिल्लाको अधिकांस स्थानमा आकाशे भरको पानीमै किसान निर्भर हुनुपर्ने बाध्यताका कारण यसबर्ष धान रोपाई ढिला हुने भएको समेत बताए ।