बिपुल पोख्रेल
मैले रोटालाई रोटी पनि भन्दा रहेछन् भन्ने कुरा धेरै पछि मात्र थाहा पाएको हुँ । मेरो घरमा म हाइस्कूल पास गर्दासम्म बेलुका सधै रोटा पाक्दथ्यो । गहुँको पिठोको रोटा । बिहान भात र बेलुका रोटा मेरो घरको खान्की हुन्थ्यो ।
तर पनि रोटाको खास स्वादका रुपमा ‘रोपाईको रोटा’लाई लिन्थ्यौ हामी केटाकेटी उमेरमा । ‘कहिले धानरोप्ने ताक(मौसम) आउला र रोपाईका रोटा खान पाइएला’ दिनदिनै बेलुकीको खानाका रुपमा रोटा खादा पनि हामीले रोपाईका रोटा पर्खिरहेका हुन्थ्यौं ।
रोपाईका रोटा गहुँको पिठोबाट नै पकाउने हो । पकाउने तरिका पनि उही हो । तर ती रोटाका आकार निकै ठूला हुन्थे । सामान्यतया बेलुकीपख खाने रोटाको आकार भन्दा ४ गुणा ठुला भन्दा हुन्छ । अथार्त ४ वटा रोटा बन्ने पिठोको डल्लालाई बेलेर रोपाईका रोटा तयार हुन्थे । ठूला भएका कारण ‘सुपाजत्रा रोटा’ भनेर पनि भन्ने गर्दथ्यौ हामीले रोटालाई ।
रोपाई ताका आयो भने हाम्रो आकर्षण त्यही रोपाईको रोटामा नै हुन्थ्यो । तर, खेतमा काम नगरेपछि रोटा खान पाइदैन भनेर खेतको हिलोमा पस्ने गर्दथ्यौं । धानको विउ काट्ने र बिउका मुठा रोपाराहरुको हातहातमा पुराउने काम गर्दथ्यौं हामीले खेतमा । हाम्रालागि यो बाध्यता त थिएन । खेतमा काम गर्नेहरु प्रशस्तै हुन्थे नै । तर पनि रोपाइको रोटाको आशामा हामीले खेतको रोपाईको काममा होम्ने गर्दथ्यौ आफुलाई । आफ्नै घरको खेत अनी घरकै कामभएकाले अभिभावकहरुको आपत्ति पनि खासै हुँदैनथ्यो ।
रोपाईको यो प्रकृयामा त्यही ‘रोपाईका रोटा’ले हामीलाई बाल उमेरमा जोडेको हो । आजकल रोपाई कहिले हुन्छ? अथवा आफ्नो खेत रोपियो कि रोपिइन भन्ने त्यति जानकारी हुँदैन । आफु बाहिर बढी बस्ने भएका कारण मात्र थाहा नभएको होइन, पहिला—पहिला कमैयाको भरमा घर खेती हुन्थ्यो र आफ्नो पनि दायित्व हुन्थ्यो अनि थाहा हुन्थ्यो । आजकल अधिया खेती हुन्छ, कति जमिन त सिंचाई सुबिधा नभएकाले बाझै राख्नु पर्ने बाध्यता पनि छ ।
सामाजिक सञ्जालमा असार १५, धान दिवस वा दही चिउरा खाने दिन भनेर आयो भने मेरो मस्तिष्कमा त्यही रोपाईका रोटा याद आउछ । आज कल त्यस्ता रोटा पाक्दा हुन् कि पाक्दैनन् होलान? भन्ने लाग्छ । सामाजिक सञ्जालमा यो दिनमा खाजा खादै गरेका फोटो देखेमा डाउन्लोड गरी ठूलो बनाइ हेर्छु त्यहाँ रोपाईका रोटा छन् कि छैनन् भनेर ।
खेतमा काम गर्ने रोपारा र हलीहरुलाई मोटो रोटा खुवाउदा उनीहरुको पेट अडिलो हुन्छ भनेर ठूला रोटा पकाइन्थ्यो । मोटो भएका कारण तावामा मात्र रोटा पुरा पाक्दैनथ्यो । त्यसैले अगेनाको भुंग्रोमा त्यसलाई फर्काइ फर्काइ पकाइन्थ्यो । त्यसरी भुंग्रोमा रोटाको माथिमाथीको भाग जल्थ्यो पनि । त्यो जलेको भागझनै मिठो लाग्ने ।
हाम्रो घरमाठूलो कटहरको रुख थियो । आजकल त्यो रुख सुक्दै गएको छ र कटर पनि पहिलेको झै फल्दैनन् । ती रोपाइको रोटाको सित्तन त्यही कटहरको तरकारी हुन्थ्यो । रोपारा र हलीहरुले जाँड पनि खान्थे । हामीले खेतको आलिमा हिलाम्य शरिरमा रोपारा र हलीहरुसगै बसेर रोपाईको रोटा र कटहरको तरकारी खान्थ्यौं । त्यती बेलाको त्यो स्वाद जीवनको सबैभन्दा रुचाइएको स्वाद हुन्थ्यो हाम्रा लागि जस्तो लाग्छ ।
रोपाईको दिन छ भने मम्मीले बिहानैवाट रोपाईका रोटा पकाउने तरखर गर्नुहुन्थ्यो । त्यो दिनको नियमित खाना कैले मैले कैले दाइले पकाउथ्यौं । मम्मीलाई सहयोग होला भनेर भन्दापनि रोपाईको रोटाप्रतिको मोहले हामीले नियमित खाना पकाउने गर्दथ्यौं सायद ।
काठमाडौमा ढावामा तन्दूरी रोटा देख्दापनि रोपाईको रोटाको यादआउँछ । यी तन्दूरीको स्वाद र रोपाईको रोटाको स्वादमा आकाश जमिनको फरक छ जस्तो लाग्छ । रोपाईको रोटा आफैमा एउटा ब्राण्डहो । त्यसले कर्मप्रति सचेत गराउछ । काम गरेपछि मात्र त्यो रोटा खान पाइन्छ भन्ने मनोविज्ञान हामी माथियो । खानेठाँउ र परिवेशपनि फरक हुन्थ्यो । त्यही रोटा घरमा बसेर खानप¥यो भने रुच्दैनथ्यो । खेतको आलिमा हिलाम्य शरिरमा, रोपारा र हलीहरुसंग बसेर खाँदाको अनुभू तिनिक्कै फरक थियो ।
कर्मवीरहरुले खाने त्यो रोपाईको रोटा गाँउघरमा पाक्न छाड्दै गर्दा धानको उत्पादन पनि ह्वात्तै घटेको तथ्याङहरु आइरहेका छन् । रोपाईका रोटा र धानको उत्पादनको संम्बन्ध संयोग मात्र होला किती विच अन्तरसम्बन्ध होला? म यो बहसमा अलमल गर्न चाहन्न । आजको दिनमामलाई सधै मेरी मम्मीले आगो फुक्दै, धुवाका कारण आशु निकाल्दै बिहान भर लगाएर पकाएका रोपाईका रोटा र कटहरको तरकारीको निक्कै यादआउने गर्दछ ।
मेरा लागिअसार १५को दिनले रोपाईका रोटाको स्वाद र ती रोटाखाने माहौल निक्कै याददिलाउछ । २८ बर्ष जति भएछ त्यो माहौलमा रोपाईका रोटा नखाएको तर, प्रत्यक साल निक्कै याद आउछ‘रोपार्इंको रोटा’को ।