२००७ सालपछि नै पश्चिम तराईमा किसान र जमिनदारको बिचमा झगडा भइरहेको थियो । यो मूलतः जमिन र शोषणको विषय थियो । किसानमा आएको राजनीतिक जागरणले त्यहाँ जमिनदार विरुद्ध जनमत तयार हुदै थियो ।
वि.स. २००८ वैशाखमा बर्दियाका कमैया (जमिनदारहरूका घरमा थोरै ज्यालामा सम्पूर्ण काम गर्ने श्रमिक) हरूले विद्रोह गरे । त्यहाँको अवस्था साम्य पार्न क्याबिनेटले खाध्य मन्त्री दाङका भरतमणि शर्मालाई जिम्मा दियो तर भरतमणि शर्माले स्थिति साम्य पार्न सकेनन् । २००८ साल वैशाख १५ गते बर्दियाको राजापुरमा विद्रोह भयो र प्रहरीको आक्रमणवाट ६ जना कमैयाको मृत्यु भयो भने १८ जना घाइते भए । त्यस घटनामा भारतीय प्रहरी समेत आई नेपाली जमिनदारलाई धरपकड गरेको बताइन्छ ।
यस घटनाले तत्कालीन गृहमन्त्री बीपी कोइरालालाई निकै आहत बनायो । त्यही समयमै वीपीले दुईवटा निर्णय लिए । भरतमणिलाई मन्त्रीबाट हटाउने र दाङलाई बाँके बर्दियाबाट अलग गर्ने ।
बीपी दाङमा आफ्नो विशेष मान्छे पठाउन चाहन्थे किनभने बर्दियामा भएको गोलीकाण्डको प्रतिकारात्मक विद्रोह दाङमा हुन सक्छ भन्ने बीपी कोइरालालाई लागेको थियो। यसैगरी बीपीलाई अर्को डर के पनि थियो भने उनले आफ्नो
क्याविनेटबाट दाङका भरतमणिलाई निष्कासन गर्ने तयारी गरेका थिए । उनलाई दाङका काँगेसहरूलाई भरतमणिले भड्काएर आफू विरुद्ध लैजान्छन् कि भन्ने डर पनि थियो । त्यसैले तीन महिनासम्म दाङलाई अलग जिल्ला बनाउने भरतमणिको प्रस्ताव नमानेका बीपीले बर्दिया काण्ड लगत्तै २००८ वैशाख २६ गते क्याविनेटबाट दाङलाई छुट्टै जिल्ला घोषणाको निर्णय गराए र आफ्नो विश्वासपात्र अनिरुद्रप्रसाद सिहलाई दाङमा बडा हाकिम गराएर पठाए । बीपीले सम्भावित दुईवटा विद्रोह रोक्ने निर्देशन दिएर आफूलाई दाङ पठाएकाे अनिरुद्रप्रसाद सिहले आफ्नो सस्मरणमा उल्लेख गरेका छन्
२००८ कार्तिकमा वीपी गृहमन्त्री बाट बाहिरिए । मात्रिकाको नयाँ सरकार बन्यो । पार्टीभित्र असन्तुष्टि चुलिदै जाँदा २००९ जेठ १३ मा जनकपुरमा पाँचौं महाधिवेशन सम्पन्न भयो । यो अधिवेशनवाट बीपी सभापतिमा त चुनिए तर भद्रकाली मिश्र समूह र बालचन्द्र शर्मा, भरतमणि समूह गरी दुईवटा समूहले पार्टी अधिवेशन बहिष्कार गरे र अलगै पार्टी निर्माण गरे ।
दूरदर्शी बीपी बालचन्द्र शर्मा भरतमणिको विद्रोहबाट पार्टीलाई कम क्षेति होस भन्ने चाहन्थे, त्यसैले छ महिनाभित्रै भरतमणिलाई कांग्रेसमा फिर्ता गराउन सफल भए । वीपी दाङको किसान समस्याबाट थोर बहुत परिचित थिए । उनले २००८ सालमा दुईवटा अध्ययन टोली पठाएर दाङको भूमि समस्याबारे जानकारी लिएका थिए । दाङको समस्या अचम्मको थियो, त्यसैले उनले दाङको समस्यालाई अझ नजिकबाट बुझ्न चाहन्थे ।
बीपीले २००९ साल चैत्रमा दाङमा एकमहिने शिविर सञ्चालन गरेका थिए । त्यसको समापनमा बीपी स्वयम् दाङमा आए । विक्रम संवत् २००९ साल चैत्र ५ गतेदेखि दाङको भरतपुरमा प्रशिक्षण शिविर सुरु भयो एक महिनासम्म चलेको प्रशिक्षण कार्यक्रम समापन गर्न बीपी, २०५० वैशाख २ गते दाङका लागि हिँडे । उनी वैशाख ३ गतेको रात जरवामै बसे । दोस्रो दिन ४ बैशाखमा देउखुरी परशुनारायण चौधरीका घरमा बसे र दिउँसो उनले त्यहाँ किसानहरूको एउटा सभालाई सम्बोधन गरे । सबैजसो सहभागी थारू समुदायबाटै थिए । उनीहरु ज्यादै सोझा गाँउले थिए र भूमिपतिले धेरै नै शोषण गरेका थिए। त्यहाँ एक जना थारू पुरुषले बीपीलाई उनले आफ्नो ऋण तिर्नका लागि छोरी, बहिनी र साली बेच्नु परेको कुरा सुनाएको बीपीले आफ्नो जेल डायरीमा उल्लेख गरेका छन्।
बीपी वैशाख ५ गते दाङ प्रशिक्षण शिविरमा सहभागी हुन आए । उनलाई चारजना थारू भरियाले बोकेको तामदानमा ल्याइएको थियो । पछाडि भागमा पिलो उठेर घोडामा समेत चढ्न नसकेका बीपीलाई पिलोभन्दा तामदान बोकिरहेका थारु किसानले सुनाएका व्यथाले पिरोलिरहेको थियो । बीपीलाई स्वागत गर्न कुइरेपानीमा किसुनजी, गणेशमानजी, तेजबहादुरलगायत रातो सर्टलगायका करिव सय स्वयम्सेवक तथा हजारको सङ्ख्यामा रहेको गाउलेहरू त्यहाँ पुगेका थिए । विभिन्न ठाउँमा प्रवेशद्वार खडा गरिएका थिए । वाटो- बाटोमा अर्धनग्न थारू किसानहरूले सर्वत वितरण गरिरहेका थिए । यी दश्य र किसानका मार्मिक पीडाले वीपीले परिकल्पना गरिरहेको नयाँ नेपालको खाकालाई स्पष्ट आकार दिने काम गर्याे।
वैशाख ७ गते घोराहीमा निकै लामो जुलुस र सभा भयो । बीपीले त्यस विशाल जनसभालाई सम्बोधन गरे । तीन दिनसम्म दाङका किसानको समस्यालाई नजिकबाट हेरिरहेका बीपीले घोराहीको त्यही आमसभामा एउटा घोषणा गरे –
नेपाली काग्रेसको अब अगाडिको कदम भनेको जमिनको स्वामित्वको आधारमा जमिनदारहरूको शोषणको अन्त्य
उनले जिल्लाका नेताहरूतर्फ फर्केर निर्देशन दिए.
‘अब तपाईंहरूको लागि तात्कालिक कदम भनेको पहिलाे बेगारी प्रथा समाप्त गर्ने र दोस्रो जिरायत जमिन (भूमिपतिका लागि जमिन अरूले नै विना ज्याला कमाइदिनु पर्ने प्रथा) अन्त्य गर्ने हो ।
वैशाख ८ मा दाङ शिविर सकियो । त्यस कार्यक्रममा पनि बीपीले सहभागीलाई सम्बोधन गरे। शिविरको समापनका अवसरमा बीपीले प्रजातान्त्रिक समाजवाद र आर्थिक क्रान्तिवारे लामो व्याख्या गरे । बीपीको दाङको त्यो भाषण तेजबहादुर प्रसाईले हुवहु टिपेका थिए । जो पछि नेपाल पुकारमा छापिएको थियो। बीपीले दाङको भाषणमा बोलेका अधिकांश कुराहरू नै नेपाली काग्रेसले २०१२ सालको छैठौं महाधिवेशनमा पारित गरेको प्रजातान्त्रिक समाजवादको नीतिभित्र भेटिन्छन् ।
त्यस दिन बीपीले भरतपुर स्कुलको शिलान्यास पनि गरे । तर भरतपुर स्कुलको शिलालेखमा भने उनले वैशाख ५ गते स्कूल भवन शिलान्यास गरेको उल्लेख छ ।
घोराहीको कार्यक्रम सकेर वैशाख ९ गते बीपी १२ माइलको बाटो टरिगाउँ गए। बाटैभरि प्रवेशद्वार ध्वजा-पताका र मालाहरू सहित नेपाली काग्रेससंग सम्बद्ध किसानहरू स्वागतमा बसेका थिए। हापुर खोलादेखि एउटा विशाल जनसमूह बीपीसंगै हिंडिरह्यो ।
२०१० वैशाख १० गते टरिगाउँ (पश्चिम दाङ) मा विशाल जनसभा आयोजना गरिएको थियो। त्यो । आमसभा विथोल्ने विपक्षीबाट चेतावनी आयो तर भरखरै शिविर सम्पन्न भएकोले काग्रेसका कार्यकतांमा उत्साह थियो । त्यस बेलाको अवस्था स्मरण गर्दै तिलकबहादुर डाँगीले लेखेका छन्,
कार्यकर्तामा अपार उत्साह थियो । बीपीकाे सुरक्षा गर्न आफूहरु समक्ष रहेको कार्यकर्ताहरूमा आँट थियो। किसानहरू त्यतिकै उत्साहित थिए। ससुर नैकर जे आई उही सिध्यादेवी (जो आउँछ उसलाई सिध्याइदिन्छौं) ।
टरिगाउँमा १० हजारभन्दा बढीको उपस्थिति थियो । त्यहाँ बीपीविरुद्ध प्रदर्शन गरियो । मञ्चमा कार्यक्रम सुरु हुनासाथ एउटा जत्था हात हातमा लाठी लिई आइरहेको देखेपछि सुरक्षार्थ तैनाथ स्वयमसेवकहरू त्यो भिडमा जाइलागे र तितरवितर पारे । आमसभा यथावत चल्यो । त्यो प्रदर्शनलाई वीपीले यसरी स्मरण गरेका छन् ।
‘मातृका समूहले मेरा विरुद्ध एक अर्थहीन प्रदर्शन गर्यो । हाम्रो भिड रुष्ट भयो । प्रत्याक्रमणको प्रयास गर्यो । केहीलाई कुटपिट पनि गर्यो । केही भने भागे । सभापछि करिव चार माइलको बाटो म आफ्नो बासस्थानमा फर्किए । मैले खवर पाए किसान समूह गाउँ-गाउँ घुमिरहेका छन् र एक ठाउँमा उनीहरूले तानाशाही सामन्तले अवैध रूपमा जम्मा गरेको खाद्यान्न खोसेर कुतवालाहरूलाई बाँडे । हामीले यसमा सम्यम नअपनाएको भए जिल्लाभरि आगो बल्ने थियो र किसान आन्दोलन सुरु हुने थियो । अरु जिल्लाहरू तयार हुनुभन्दा अगाडि नै म भने यसका लागि तयार थिए । हालको भ्रमण मेरा लागि ठुलो साक्षी वन्न पुग्यो । सत्य के थियो भने जनता कृषि क्षेत्रमा न्याय चाहन्थे ।’
११ वैशाखमा देउखुरीको धर्मशालामा विश्राम गरेर बीपी अर्को दिन पटना गए । बीपी आउंदा पनि दाङ देउखुरीका किसानले उत्साहपूर्ण स्वागत गरे र जादा पनी उत्साहपूर्ण बिदाइ । बीपी दाङ आउँदा कुन सोचाइ लिएर आएका थिए त्यो स्पष्ट नदेखिए पनि फर्कदा दङ्गाली जनताले उत्साहका साथ प्रकट गरेको परिवर्तनको आकांक्षाबाट उनीभित्र अब काग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा लैजाने दृढताले जन्म लिइसकेको थियो ।
साभार : गोरक्ष राष्ट्रिय दैनिक