Home / Feature Breaking news / मन्त्रीको ‘त्रिचन्द्र प्रेम’

मन्त्रीको ‘त्रिचन्द्र प्रेम’

पुराना विद्यार्थी राजनीतिक सहकर्मीको स्वागतार्थ काठमाडौँ स्थित त्रिचन्द्र क्याम्पसको प्रांगणमा विद्यार्थी नेताहरु पर्खाइमा थिए।

विद्यार्थी राजनीतिकालमा सहकार्य गरेका प्रचण्ड विक्रम न्यौपाने लुम्बिनी प्रदेश सरकारका मन्त्री बनेको उत्साह क्याम्पस परिसरमा उधुम थियो। प्रदेशका नवनियुक्त मन्त्रीलाई उनका केही अग्रज अनि सहकर्मीहरुले बधाई सहित खादा र मालाले भब्य स्वागत गरे। मन्त्री न्यौपानेका लागि यो स्वागत मात्रै थिएन, आफ्नो उँचो राजनीतिक करिअर बनाईदिने थलो पनि हो त्रिचन्द्र। आफ्नो राजनीतिक करिअर उँचो बनाउने त्रिचन्द्रको त्यहि भुमी टेकेर असल राजनीतिक संस्कार प्रस्तुत गरे मन्त्री न्यौपानेले। ‘मेरो राजनीतिक जिवनमा ठूलो उपलब्धी दिलाएको थलो भनेको त्रिचन्द्र क्याम्पस हो,’ मन्त्री न्यौपानेले भने ‘आज मन्त्रीका रुपमा त्रिचन्द्रको थलोमा पुग्दा छुट्टै आनन्दको महशुस भयो, साथै त्यहि थलोमा अग्रज तथा पुराना सहकर्मीको न्यानो स्वागत पाउनु मेरा लागि झनै ठूलो उपलब्धी बन्यो।’
त्रिचन्द्र क्याम्पस मन्त्री न्यौपानेका लागि त्यो थलो हो, जहाँ नेविसंघको इकाई तहको राजनीति देखि केन्द्रीय पदाधिकारी बन्ने सम्मको राजनीतिक माहोल निर्माण भयो। स्कुले जीवनबाटै नेविसंघको राजनीतिमा संलग्न थिए दाङ हापुरका न्यौपाने। स्कुल पढ्दै खेरी नेविसंघको इकाईको नेतृत्वमा रहेका न्यौपाने उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुगे। उच्च शिक्षा अध्ययनसंगै कांग्रेस राजनीतिमा आफूलाई अब्बल नेता सावित गर्ने ‘जुनुन’ ले उनलाई छोडेन। फलतः काठमाडौँ स्थित क्याम्पसमा पनि उनले कांग्रेस राजनीतिको फेरो पकडिरहे। उनि भित्रको राजनीति प्रतिको यहि लगाव संगै त्रिचन्द्र कलेजको प्रांगण उनको लक्ष्य अनुकुलको भुमी बनिदियो। यो क्याम्पसमा उनि स्ववियु सदस्यका लागि भिडे। उनलाई स्ववियु सदस्यमा सफलता मिल्यो। विद्यार्थी राजनीति प्रतिको निरन्तरताले मिलेको यो सफलता उनका लागि अर्को महत्वपूर्ण राजनीतिक ‘ईनिङ’ थियो। उनको यो पदीय हैसियतले गगन थापा हरुसंगको सामिप्यता थप कसिलो बन्यो। २०६० मा यस क्याम्पसले न्यौपानेलाई स्ववियुको झन उँचो पदमार्गमा डोर्याईदियो। उनि यसै कलेजको स्ववियु सचिवमा निर्वाचित भए। सचिव पश्चात उनि सभापतिको उम्मेवार बनेर आफूलाई काविल नेताका रुपमा उभ्याउने वातावरण यो कलेजमा निर्माण भयो। स्ववियुको यो यात्रा पश्चात न्यौपानेले यसै क्याम्पसमा नेविसंघको आफ्नो नेतृत्व स्थापित गर्ने योजना बनाए। उनि २०६२ देखि २०६५ सम्म यो क्याम्पसमा नेविसंघको सभापति बनेर काम गरेका थिए। तीन बर्ष सम्म नेविसंघको त्रिचन्द्र सभापति बनेर काम गरेका न्यौपानेलाई त्रिचन्द्रको भुमीले केन्द्रीय पदाधिकारीको रुपमा तयार पारिसकेको थियो। उनि सहमहामन्त्री बनेर नेविसंघको केन्द्रीय राजनीतिलाई ‘ह्याण्डल’ गर्ने ‘ल्याकत’ राख्थे। हालका संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेविसंघको केन्द्रीय नेतृत्व गर्दा उनको कार्यकालमा न्यौपाने नेविसंघको सहमहामन्त्री चुनिए।
नेविसंघको इकाई सभापति, स्ववियुको सचिव संगै नेविसंघको केन्द्रीय सहमहामन्त्री सम्मको उँचो ओहदा निर्माण गरिदिएको थियो त्रिचन्द्रले। त्यहि उँचो विद्यार्थी राजनीतिले कांग्रेसको लुम्बिनी प्रदेश सदस्य एवं प्रवक्ताको मार्ग कोरिदियो। अनि प्रदेशसभा निर्वाचनमा उम्मेदवार चुनिने अवसर संगै जीत हात पार्नु न्यौपानेका लागि कांग्रेस राजनीतिमा अर्को ठूलो उपलब्धी बन्यो। सांसदको भूमिकासंगै केहि दिन अघि प्रदेश सरकारमा मन्त्रीका रुपमा प्रवेश हुनु मन्त्री न्यौपानका लागि अर्को राजनीतिक उपलब्धी हो। उनको हाल सम्मको राजनीतिक सफलताको जग बनिदिएको थियो, उनको विद्यार्थी राजनीति गरेको थलो त्रिचन्द्र। फलतः उनि मन्त्रीका रुपमा सपथ लिए लगत्तै काठमाडौँ पुगेर आफ्नो राजनीतिक यात्रा फराकिलो पारिदिएको थलो त्रिचन्द्रलाई सम्झिए। त्रिचन्द्रको प्रांगणमा पुगेर सहृदय धन्यवाद प्रकट गरे। अनि नेविसंघका अग्रज, पुराना सहकर्मी संगै कलेजका प्राध्यापक तथा कलेज प्रशासनको कसिलो मायाँ बटुले। मन्त्री न्यौपानेलाई कलेज प्राध्यापक संघले स्वागत गर्यो। संगै नेविसंघका पूर्व महामन्त्रीद्धय, एवं त्रिचन्द्र कलेजका पूर्व स्ववियु सभापति सरोज थापा र दिपक भट्राई,पूर्व स्ववियु सभापति विनय राम भट्ट, नेविसंघका पूर्व सहमहामन्त्रीद्धय भिमसिं गुरुङ, प्रेमराज जोशी, क्याम्पसका नेविसंघ पूर्व इकाई अध्यक्षहरु कृष्ण जैशी, विष्णु पौडेल लगाएत नेविसंघका केन्द्रीय सदस्यहरु, क्याम्पसका विद्यार्थी नेताहरुले मन्त्री न्यौपानेलाई भव्य स्वागत सहित शुभकामना दिएका थिए। मन्त्री न्यौपानेले आफ्नो राजनीतिक उपलब्धी दिलाएको थलोमा पाएको यो प्रेमले आफूलाई उत्साहित बनाउनुका साथै थप उर्जा समेत प्राप्त भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*