Home / Feature Breaking news / अन्नपूर्ण र मुस्ताङका हेलिकोप्टर उडानमा क्यानले लगायो रोक

अन्नपूर्ण र मुस्ताङका हेलिकोप्टर उडानमा क्यानले लगायो रोक

‘एयर अपरेटर सर्टिफिकेट (एओसी) किन निलम्बन नगर्ने’ भनेर सोधियो ७२ घण्टे स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टर उडानमा रोक लगाएको छ । सन् २०२४ को सात महिनाको अडिटमा सेफ्टी म्यानेजमेन्ट सिस्टम ‘एसएमएस’ ६० प्रतिशतभन्दा कम भएकाले दुईवटै हेलिकोप्टर कम्पनीलाई तत्कालै लागू हुने गरी उडानमा रोक लगाइएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उडान सुरक्षामा कमजोर देखिएपछि क्यानले दुवै हेलिकोप्टर कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) किन निलम्बन नगर्ने भनेर ७२ घण्टा (तीन दिन)भित्र सफाइ पेस गर्न स्पष्टीकरण सोधेको छ । ‘नागरिक उड्डयन नियमावली, २०५८ ले कुनै पनि वायुसेवा कम्पनीको एओसी निलम्बन वा खारेजी गर्नुभन्दा पहिला सम्बन्धित वायुसेवा कम्पनीलाई सफाइ पेस गर्ने मौका दिइनेछ भन्ने व्यवस्था गरेको छ, सोहीबमोजिम दुवै वायुसेवा कम्पनीलाई सफाइ पेस गर्न तीन दिनको समय दिइएको हो,’ उनले भने, ‘तीन दिनभित्र यथार्थपरक र प्रमाणसहित सन्तोषजनक जवाफ प्राप्त नभएमा एओसी निलम्बन गरिनेछ ।’ सेफ्टी म्यानेजमेन्ट सिस्टम कम भएका वायुसेवालाई ‘यति समयभित्र इम्प्रुभमेन्ट यति प्रतिशतसम्म पुर्‍याउँछु’ भनेर कम्पनीको स्पष्ट कार्ययोजना खोजेको उनको भनाइ छ ।

अन्नपूर्णसँग एउटा र मुस्ताङसँग दुईवटा हेलिकोप्टर छन् । एक वर्षदेखि मुस्ताङले आफैँ हेलिकोप्टर ग्राउन्डेड गरेर राखेको थियो । तर, कम्पनी आफैँले ग्राउन्डेड गर्नु र क्यानले एओसी निलम्बन गर्नु फरक रहेको क्यानका एक अधिकारीले बताए । क्यानले सेफ्टी म्यानेजमेन्ट सिस्टम परिपालना नाजुक देखिएकाले कारबाही गरेको हो ।

पछिल्लो समय दुई साताको अन्तरमा दुईवटा हवाई दुर्घटना भएका छन् । ९ साउनमा सौर्य एयरको सिआरजे जहाज त्रिभुवन विमानस्थलपरिसरमै दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । बुधबार मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन र चारजना चिनियाँ नागरिकको निधन भएको छ ।

मन्त्री पाण्डेद्वारा क्यानका पूर्वमहानिर्देशकहरूसँग छलफल
पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका सम्बन्धमा नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् । उनले पूर्वमहानिर्देशकहरूलाई मन्त्रालयमै बोलाएर नीतिगत, कानुनी र संरचनागत सुधारका लागि आवश्यक सुझाव मागेका हुन् ।

छलफलमा महानिर्देशकहरूले कतिपय विमान कम्पनीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)ले तोकेअनुसारको सेफ्टी म्यानेजमेन्ट सिस्टम (एसएमएस) लागू नगरेको र पाइलट तथा प्राविधिक जनशक्तिका लागि आवश्यक सुरक्षासम्बन्धी तालिमलगायतमा न्यून खर्च गर्ने गरेको जानकारी गराएका थिए । यस्तै, क्यानको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने पनि सुझाव उनीहरूले दिएका छन् ।

हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति तर्जुमा गर्न संसदीय समितिको निर्देशन
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना सम्बन्धमा पर्यटनमन्त्री, राज्यमन्त्री, सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशकलगायतसँग बसेको समितिको बैठकले हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक रहेको निष्कर्ष निकालिएको हो ।

समितिले नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को कार्यालय र तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, समितिले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन–अनुसन्धानमूलक प्रतिवेदन के र कुन अवस्थामा छन् ? सो जानकारीसहित विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यासअनुरूप कार्यान्वयन भए–नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न पनि निर्देशन दिइएको छ ।

पछिल्लो समयमा निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरू बन्ने गरे पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको देखिएको समिति बैठकको निष्कर्ष छ ।

समितिको बैठकमा संसद्हरूले हवाई दुर्घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले बढ्दो हवाई दुर्घटनाको सरकार र प्राधिकरण नेतृत्वले जिम्मेवारी लिनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । संसद्ले क्यानका महानिर्देशकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा दुर्घटना छानबिन प्रतिवेदन नआउँदासम्म निलम्बन गरिनुपर्ने बताएका थिए । संसद्ले उठाएको प्रश्नको जवाफ दिँदै क्यानका महानिर्देशक प्रदीप अधिकारीले दुर्घटनाबारे विस्तृत छानबिनपछि मात्र थाहा हुने बताए ।

‘बिहान मन्त्रीज्यूसहित दुर्घटनास्थलको भ्रमण गर्दा हेलिकोप्टर खराब वेदरभित्र प्रवेश गरेपछि लेफ्ट टर्न लिएर फर्किने क्रममा ठोक्किएको जस्तो देखिन्छ,’ महानिर्देशक अधिकारीले भने, ‘कुनै पनि भिजुअल फ्लाइट रुल (भिएफआर) उडानलाई बादलभित्र प्रवेश गराउनु गलत हो, त्यो कानुनले नै बर्जित गरेको छ, प्रारम्भिक अनुसन्धनमा हेलिकोप्टर खराब मौसमकै कारण दुर्घटना भएको देखिन्छ, विस्तृतमा छानबिन प्रतिवेदन आएपछि थाहा हुनेछ ।’

पर्यटनमन्त्री बद्री पाण्डेले मन्त्रालयमातहतका बेथिति र विसंगतिलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए । हेलिकोप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको समितिलाई स्मरण गराउँदै आफूले कानुनअनुसार अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*