घोराही, २ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्लेमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना बिरामी परेका छन्।
मृत्यु हुनेमा ३७ वर्षीया दिपा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ।उहाँका अनुसार स्थानीय जंगलबाट ल्याइएको जङ्गली च्याउ पकाएर खाएपछि शुक्रबार एकै घरका पाँच जना बिरामी परेका थिए ।
बिरामीको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो। बिरामीमध्ये दिपा पुनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि गोग्लीस्थित संजीवनी अस्पतालमा पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शनिबार बाटोमै उहाँको मृ,त्यु भएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभएको छ।
अन्य बिरामीको स्वास्थ्य अवस्था सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले जङ्गली तथा अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विषालु च्याउको पहिचान गर्न कठिन हुने भएकाले चिनेको, प्रमाणित र सुरक्षित च्याउ मात्र सेवन गर्न प्रहरीले अनुरोध गरेको छ।
RaptiSandesh RaptiSandesh