काठमाडौं । समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेविरुद्ध दुईजना सांसद र पूर्वप्रहरी महानिरीक्षकविरुद्ध दिइएको जाहेरी काठमाडौं प्रहरी परिसरले लिन मानेन ।
काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले घटनाको सुरुवात महोत्तरीबाट भएको भन्दै त्यहीँ जाहेरी दिन भन्दै परिसर पुगेका नेताहरुलाई फर्काइदिएका छन् ।
जाहेरी लिन नमानेपछि नेता भट्टराईले भने, “अहिलेको घटना बहालवाला सांसद जो प्रधानमन्त्री निकट छन् र पूर्वप्रहरी महानिरीक्षकको संलग्नतामा घटेको हो । यसको छानबिन र अनुसन्धान गर्न हामीले जाहेरी दिन लागेका थियौं । यो सरकारवादी मुद्दा पर्छ । यो राज्य आफैंले मुद्दा अघि बढाउन सक्थ्यो ।”
उनले ओलीतन्त्रमा कसैले पनि न्याय नपाउने बताए ।
“सरकारले विधान संविधान सबै लत्याएको छ । राज्यको अपराधिकरण गरेको छ । विभिन्न काण्डमा मुछिएको छ । बुझ्दाबुझ्दै पनि कानुनको पालना गर्न सकेको छैन, घटना झनै गम्भीर बनेको छ,” उनले भने ।
अपहरणमा परेका सांसद डा. यादवले भने अनुसन्धानबाट आफूलाई गलत प्रमाणित गर्न चुनौती दिए ।