Home / Feature Breaking news / च्याऊ खेतीबाट आत्मनिर्भर बन्दै महिलाहरू

च्याऊ खेतीबाट आत्मनिर्भर बन्दै महिलाहरू

दाङ, २४ मंसिर । केही समय पहिले घरमै फुर्सदिलो समय बिताउँदै आइरहेका महिलाहरु यतिबेला सामूहिक च्याऊ खेती सुरु गरेपछि उनीहरुलाई काम गर्न भ्याइँ–नभ्याइँ भएको छ । लमही नगरपालिका वडा नं. ६ देउपुरका महिलाहरुले सामूहिक च्याऊ खेती सुरु गरेका छन् । उनीहरुले सफलता थारु लघु उद्यमी समूह गठन गरी सामूहिकरुपमा च्याऊ खेती सुरु गरेका हुन् ।

आयस्तरबृद्धिसँगै स्वरोजगार बन्ने उद्देश्यले च्याऊ खेती सुरु गरेको उनीहरुले बताएका छन् । समूहको २ लाख ५० हजार लागतमा सुरुवात गरेको च्याऊ खेतीबाट मासिक ३ लाखभन्दा धेरै आम्दानी गरिरहेको समूहकी अध्यक्ष सुकमानी चौधरी बताउँछिन् । ‘हामीले सानो लगानीबाट लमही नगरपालिका वडा नं. ६ कार्यालयको सिफारिसले च्याऊ खेती सम्बन्धी तालिम ल्याएका थियौँ तर यति कमाई हुन्छ भन्ने सोचेका थिएनौँ, गरे के हुँदैन रहेछ र ? हामी अत्यन्तै खुसी छौँ’, अध्यक्ष चौधरीले भनिन् ।

उनीहरुले उत्पादन गरेको च्याउ दाङका स्थानीय बजारमा पुग्ने गरेको र बाहिरी जिल्ला बाट पनि माग हुन थालेको समूहकी सचिब ज्ञानु चौधरी बताउँछिन् । ‘अहिले हामीले फलाएको च्याऊ लमही बजारमा बिक्री भइरहेको छ, बाहिरबाट पनि माग्छन् तर पु¥याउन सक्या छैनौँ, अब यसलाई अझै ठूलो बनाउँछौ अनि अन्त नि पठाउने सोच बनाएका छौँ’, सचिव चौधरीले भनिन् । च्याऊ खेती गर्न २ वटा ठूला च्याऊ घर छन् ।

एउटा पराल काट्ने मेसिन, पानी चाहार्ने स्प्रे ट्यांकी लगायतका सामग्रीसमेत निर्माण तथा खरिद गरिएको छ । उक्त च्याऊ खेतीमा ८ घरधुरीका महिला आवद्ध रहेका छन् । मासिक ३ लाख कमाई हुन थालेपछि समूहका ८ जनै महिला मख्ख छन् । लमही नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गणेशमान चौधरीले वडास्तरबाट बेरोजगार रहेका महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमका लागि विशेष जोड गरिएको बताउँछन् । उक्त सामूहिक च्याऊ खेतीमा डल्ले च्याऊ र कन्ने च्याऊ गरी २ प्रजातिका च्याऊ उत्पादन हुँदै आएको छ ।

हरित स्वयंसेबक गोब्रे च्याऊका प्रशिक्षक मनिराज पुनका अनुसार लुम्बिनी प्रदेशअन्तर्गतका सबै जिल्लामा तालिम प्रदान गरिरहेको बताउँछन् । लुम्बिनी प्रदेशलाई च्याऊमा आत्मनिर्भर बनाउने अभियानमा रहेको उनको भनाइ छ । यो त एउटा उदाहरण मात्र हो बेरोजगार भई घरमा बसिरहेका महिलाहरुलाई यस्तै स्वरोजगार तालिमका माध्यमबाट अन्य क्षेत्रमा पनि सहभागी गराउन सके महिलाको जीवनस्तर उकासिने र कृषि क्षेत्रमा आत्मनिर्भर हुने जानकारहरुले बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*