Home / Feature Breaking news / जीवन हार र जितको खेल हो

जीवन हार र जितको खेल हो

नारायणप्रसाद श्रेष्ठ

जीवन हारजितको खेल हो । कहिले खुशी कहिले दुःख जीवनले भोग्नुपर्ने प्राकृतिक सत्य हो । दुःखपछि सुख र रातपछि दिन, गर्मीपछि वर्षा र वर्षापछि हिउँद
(चिसो) यो प्राकृतिक नियम हो । केही पाउन केही गुमाउनु पर्छ । यस्तै केही पाउनको लागि मिहिनेत, पसिना, इमानदारी र धीरताको खाँचो परेको हुन्छ ।

त्यसैले प्राकृतिक नियमको सत्यतालाई बुझी रिस, राग, द्वेष र इष्र्यामा होइन धैर्य र सहनशील भई जीवन जिउनु पर्छ । धीरता र सहनशीलता जीवनलाई सफल बनाउने अचुक साधन हो । केही पाउनु खुशी हो भने केही गुमाउनु दुःख हो । तर, प्राप्ति खुशीको अन्तिम उद्देश्य होइन । किनकि प्राप्तिपछिको प्राप्ति मानवीय चाहना हो । प्राप्त नभएसम्म मानिस आफूलाई कर्मशील भएर अगाडि बढेको हुन्छ र प्राप्तिको उद्देश्यभित्र ऊ लागिपरेको हुन्छ ।

तर जब उसले प्राप्त गर्न खोजेको वस्तु पाउँछ तब ऊ आनन्द र खुशी हुन्छ । खुबै रमाउँछ पनि । तर भोलिपल्ट फेरि उसको चाहनामा अन्य वस्तुको प्राप्तिभित्र लालच बढ्न थाल्छ । ऊ पुनः अघिकै स्थितिमा पुग्न गई पुनः दुःखी र पीडित बन्न पुग्छ । त्यसपछि प्राप्तिभित्र ऊ भागदौड गर्न थाल्छ । खुशी, आनन्द, दुःख, सुख क्षणिक हो भन्ने कुरा समेत उसलाई बोध हुँदैन । यसरी जीवनले आरोह, अवरोहको अवस्था गुजार्दै प्रकृतिमा विलय हुनु पर्छ, यो यथार्थ हो । जब यो यथार्थको बोध हुने स्थिति मानव चेतनामा जागृत हुने अवस्था आउँछ तब ऊ ज्ञानी र विवेकी बन्न गई सबैको आदर्श बन्न सक्षम हुन्छ ।

त्यसैले जीवनले भोग्नुपर्ने अवस्था र परिवेशको जानकारी नगरी यदि यो जीवन खुशी र उमंगको लागि मात्र आएको हो भन्ने उद्देश्य र प्राप्तिभित्र सल्बलाउन थाल्यो भने जीवनमा पछुताउने अवस्था देखापर्न सक्छ । धैर्य र सहनशीलताको अभावमा उब्जने रिस, डाह र अहंकारले मानिसलाई पतीत बनाउन पुग्छ । थाहा नपाई रिसको भरमा कुनै कर्म र व्यवहार गरिन्छ भने त्यो मानिसको लागि दुर्भाग्य बन्न पुग्छ ।

त्यसैले भन्ने गरिन्छ कुनै पनि यथार्थ नबुझेसम्म बोल्दा सम्यम, धीरता र मीठासपन देखाउनु जरुरी हुन्छ । पछि हुनसक्ने सम्भावित खतराको समयमा मूल्यांकन गरी अघि बढ्ने प्रयत्न गर्नु पर्छ । बोल्दा प्याच्च बोल्ने र बस्दा थ्याच्च बस्ने प्रवृत्ति मानवीय आचरणमा आउनु भनेको आफैलाई विर्षजन उन्मुख बनाउनु हो । रिसले आफैलाई खा बुद्धिले अरुलाई खा यो त्यसै भनिएको उखान होइन ।

मनको स्वच्छतामा रहेको संकल्प र समर्पण भावलाई जबर्जस्ती रोक्ने रिसाहा प्रवृत्तिलाई यदि प्राथमिकतामा राख्ने इच्छाशक्ति बढाइन्छ भने त्यसको प्रत्यक्ष असर आफैमाथि बज्रपात हुनु हो । अर्को कुरा स्वच्छ मनको पवित्र विचारलाई रिसको भरमा जबर्जस्ती रोक्न खोज्नु आफैलाई विचलित बनाउनु पनि हो । तसर्थ, जीवनमा प्राप्तिको चाहनाभित्र गरिने संघर्ष र त्यस संघर्षबाट प्राप्त उपलब्धिलाई समयसापेक्ष स्वीकार्दै अघि बढ्ने संकल्प गर्न सक्नु पर्छ ।

सानो भुल र गल्तीले ल्याउने परिणामको जिम्मेवार आफू स्वयम् रहने सत्य कदापि भुल्नु हुँदैन । किनकि सिंहासन प्राप्त गर्दैमा मूर्ख साधु बन्छ भन्नु र त्यसैमा आफ्नो विचारलाई बन्धक बनाउनु भनेको आफ्नो क्षमता र प्रतिभामा कुठाराघात गर्नु हो ।
सुधार्नु र स्वीकार्नु नै जीवनको उद्देश्य हो । जीवनमा कुनै पनि समय यस्तो आउन सक्छ, जुन अवस्थाले समस्याको समाधान गर्न हर प्रयत्न गर्दा पनि सुधारको गुञ्जायस नरहने स्थिति पैदा हुनसक्छ । यस अवस्थामा केवल परिस्थितिलाई स्वीकार्नुशिवाय अर्को विकल्प पनि नरहन सक्छ ।

जीवन हर समस्याको समाधान हो भन्दैमा समयानुकल कर्म र व्यवहार हुन सकेन, नीति र नैतिकतामा जीवन जिउन सकिएन भने क्षणिक प्राप्तिभित्र रमाइलो मान्नु वाहेक केही नरहने गरी पछुताउनु पर्ने स्थिति आउँछ । तसर्थ, वर्षाको भेललाई बुझेर किनारा लाग्नु बुद्धिमानी मानिन्छ । इज्जत र प्रतिष्ठा सधैँ तरवारको धारमा रहने हुँदा यसलाई व्यालेन्स मिलाएर अगाडि बढ्नु पर्छ । धैर्य र सहनशील भई अगाडि बढ्दा भेल रोक्ने बाँध फुट्यो भने व्यक्ति सदाको लागि अन्त्य हुने अवस्था आउँछ । संगीतको सुरलाई बेसुर गराई त्यही बेसुर सुर हो भनी जिद्धि गरियो भने वा धैर्य र सहनशील भई सुरतालमा आफूलाई सजाउन सकिएन भने यो दुःखद् र डरलाग्दो क्षण हुने छ ।

समयले आवश्यकता महशुस गराउँछ । त्यही आवश्यकताले समाधानको बाटो पनि पहिल्याउँछ । यदि समयलाई आफ्नो अधिनमा लिई जसका लाठी उसका भैँस चरितार्थ गराउन खोजियो भने यो दुर्भाग्य बन्न सक्छ । यस्तो सोच भनेको मै खाउँ, मैलाउँ मै मोज मजा गरुँ भन्ने हुन्छ । असन्तोष बृद्धि हुनु जीवनलाई विचलन बनाउनु हो । तसर्थ, परिवर्तन नै सृष्टिको इतिहास बनेको सत्यलाई बुझी आफू परिवर्तन भई अरुको मार्गनिर्देशक बन्न सक्नु पर्छ । जीवनमा अपनाउनुपर्ने आचरण र व्यवहार तथा वाह्य आवरणले ल्याएको आशक्ति, तमोप्रदान संस्कृतिलाई परिमार्जित र शुद्धिकरण गरी सतोप्रधान भई विचार र व्यवहारमा परिवर्तन गर्न सक्नु पर्छ ।

जीवनलाई पारशसमान चम्किलो र मार्गनिर्देशक बनाउनु पर्छ । पद, प्रतिष्ठा र धनसम्पत्ति सधैँ प्राप्ति भइरहन्छ भन्नु मूर्खता हो । डिग्री प्राप्ति गर्नु मात्रै योग्यता होइन । यो न त मानव अन्तरनिहित दिव्यताको योग्यता र विवेकको परिचय नै हो । किनकि योग्यताले नीति र नैतिकता खोजेको हुन्छ । नीति र नैतिकता बिनाको योग्यता कागजको खोस्टा हो । त्यसैले योग्य व्यक्तिको परिचय दिन व्यवहारमा इमान्दारी र कर्ममा शुद्ध नैतिकता हुनु जरुरी छ ।

संसार बदल्छु भनी संकल्प गरेर कर्म गर्नु भन्दा म बदलिए संसार बदलिन्छ भनी आफैबाट राम्रो कर्मको थालनी गर्नु पर्छ । फूलको काम सुवाष दिने हो । उसले राम्रो, नराम्रो, ठूलो, सानो, धनी, गरिब कुनै कुराको भेद गर्दैन । ऊ आफूलाई होइन अरुको लागि फूलेको हुन्छ । जीवन पनि यस्तै हो । यो अरुको सेवाको लागि आएको हो । फूल सरी सुवाष दिन मानवीय मूल्य र मान्यताले स्थापित गरेको यो संस्कार हो । यही संस्कार जीवनको गन्तव्य पनि हो ।

जित्नु हार्नु ठूलो कुरो होइन । त्यसैले कोही कसैमाथि वक्रदृष्टि राख्नु घात, अन्तरघात, प्रतिघात गर्नु गराउनु वा गर्न खोज्नु आफैलाई पतन उन्मुख गराउनु हो । यस कुराको ध्यान राख्न जरुरी छ । गरेर पछुताउनुभन्दा पूर्व सोच्न जरुरी हुन्छ । त्यसैले फूल सरी सुवाष दिँदै जानु पर्छ, यो मान्यता राख्नु पर्छ । नीति र नैतिकता बेचेर कुनै पनि मान, सम्मान सम्पत्तिको मोह गर्नु भनेको अहंकार र घमण्डले परिपोषित उद्देश्य हो । यो बीचैमा अल्झिने मार्ग पनि हो । अहंकार र रिसलाई काबुमा नराखी गरेको कर्मले जीवनभर पछुताउनेपर्ने अवस्था रहन्छ । यसै प्रशंगमा मिल्दोजुल्दो कहानी सुनौँ ।

एउटा गरिब परिवार जब उसलाई केही उपलब्धि हुन्छ, खान लाउन पुग्छ तब उसमा सम्पत्ति सहित घमण्ड र अहंकार पनि प्रवेश गर्न सुरु गर्छ । विस्तारै उसको लगाव परिवार केटोकटीभन्दा भौतिक मोह धनसम्पत्तितर्फ आकर्षित हुन पुग्छ । यसरी सम्पन्न भएपछि एक दिन उसले चम्चमाउँदो कार किनेर घरमा प्रवेश गराउँछ । यो सबैको खुशीको क्षण हुन्छ । बच्चा उफ्री–उफ्री बाबा तपाईले राम्रो गर्नुभयो भन्दै यताउता दौडन्छन् । समय घर्किँदै जान्छ । बेलुका खाना खाँदै मस्त निद्रामा पुग्छन् । जब बिहान भयो श्रीमान अटालीमा बसेर चारैतिर हेर्न थाल्छ, बच्चा उफ्रँदै कहिले कार नजिक कहिले बगैचातर्फ दौड्न थाल्छ ।

यसरी खुशीले गदगद हुने क्रममा बच्चाले सानो चक फेला पार्छ । त्यो चक फेला परिसकेपछि बच्चाले कारमा कोर्न थाल्छ । यो कार्य उसको पिताले अटालीबाट देखिरहेका हुन्छन् । उनी निकै रिसाउँछन् । तुरुन्तै तल झरी बच्चालाई पिट्न थाल्छन् । लेख्ने हात यही हो भन्दै हातका औँलालाई ढुङ्गले थिच्छन् । जब बच्चा धेरै रुन्छ यो कुरा आमाले थाहा पाउँछिन् र तुरुन्तै रगतको धारा बगेको देखि बच्चालाई टिपी अस्पताल पु¥याउँछिन् । त्यसबेला उनले आफ्नो लोग्नेलाई पनि देख्दिनन् । अस्पताल पुगेपछि चिकित्सकले बच्चाको बूढीऔँला काट्नुपर्ने अवस्था देखिन्छ । औँला काटी मल्हमपट्टी लगाइदिन्छन् ।

त्यो दिन त्यहीँ रेष्ट गरी जब बच्चा घर फर्कन्छ– छिमेकीले घरमालिकलाई सोध्छन् तपाईँले के गर्नु भएको बच्चाको औँला काट्नुपर्ने अवस्था आएछ । तपाईँलाई के उपलब्धि त ? घरमालिकले हेरेको हे¥यै गर्छन् । बच्चाले सबैको सामू भन्यो – बाबा मैले कारमा कोरेर गल्ती गरेँ, दुःखी छु, खुशीको कारणले मैले यस्तो गरेँ । यति कुरा हुँदै थियो आमाले के गरेको रहेछ त भनी कार हेर्न जाँदा चकले लेखिएको रहेछ ‘आइ लभ यू बाबा, आइ लभ यू ।’ जसरी आमाले यो देखिन उनी बेस्सरी रोइन् । यो देखेर घरका सबै परिवार उनी नजिक गए– कारमा लेखिएको सबै कुरा सबैले हेरे । श्रीमतीले भनिन् चकको दाग मेटेर पनि मेटिन सक्छ, श्रीमान गाडीमा पुनः रँग लगाएर पनि नयाँपन पनि दिन सकिन्छ तर तपाईँको सानो भूलले बच्चाको औँला काट्नुप¥यो ।

उसले जिन्दगीभरि दुःख पाउने भयो । यो सुनिरहेको घरमालिक निकै पछुतायो । गल्ती गरेको स्वीकार ग¥यो पनि । तर उसको जीवनमा कहिल्यै सुखी र खुशीको अनुभव हुन पाएन । पिल्सिएर इतिहासको पानामा कलंकित भएर विलय हुन पुग्यो ।
त्यसैले पछि पछुताउनुभन्दा पहिले नै होसियार भएर आफूलाई प्रस्तुत गर्नु निकै बुद्धिमानी रहन्छ । धीरतापूर्वक जीवनलाई गतिशील बनाउनु पर्छ । जीवन अवसर हो । यहाँ हर जित भइरहन्छ । कहिले खुशी, कहिले दुःख यो प्रकृतिको नियम हो । यसैलाई बुझेर रमाउन सिक्नु पर्छ । चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*