Home / Feature Breaking news / दैनिक १९ जनाले गर्छन् आत्महत्या, मुख्य कारण मानसिक रोग र तनाव

दैनिक १९ जनाले गर्छन् आत्महत्या, मुख्य कारण मानसिक रोग र तनाव

६६.६ प्रतिशत घटनाको कारण मानसिक रोग र तनाव, आत्महत्या गर्ने ५५ प्रतिशत ३५ वर्षुमनिका

नेपालमा दैनिक औसत १९ जनाले आत्महत्या गर्ने र प्रमुख कारण मानसिक रोग तथा तनाव रहेको प्रहरी अध्ययनले देखाएको छ । आत्महत्या गर्नेमध्ये ३८.८० प्रतिशतमा मानसिक रोग र २७.८० प्रतिशतमा मानसिक तनाव रहेको अध्ययनले देखाएको हो ।

प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण, योजना तथा विकास निर्देशनालयले गरेको ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१’ ले नेपालमा आत्महत्या अत्यधिक बढ्नुमा मानसिक समस्यालाई नै प्रमुख कारण औँल्याउँदै सचेतना, मानसिक उपचार तथा मनोपरामर्शमा राज्यले ध्यान दिनुपर्ने सुझाएको छ । अध्ययनले आत्महत्या न्यूनीकरणका लागि एक व्यापक र एकीकृत अवधारणाको आवश्यकता औँल्याएको छ ।

अध्ययनका क्रममा आर्थिक वर्ष ०७८/७९ र ०७९/८० मा देशभर भएका आत्महत्याका घटनाको विश्लेषणका आधारमा मानसिक समस्यालाई प्रमुख कारण देखाइएको छ । अध्ययनको दुई वर्षको अवधिमा १३ हजार सात सय ६६ जनाले आत्महत्या गरेका थिए । ८.२० प्रतिशतले प्रेममा असफलता, आठ प्रतिशतले आर्थिक असफलता, ७.५० प्रतिशतले दीर्घरोग, ४.७० प्रतिशतले लागुऔषध सेवनको प्रभाव तथा २.८० प्रतिशतले मदिराको नसामा आत्महत्या गरेको देखिएको छ । त्यस्तै, अनैतिक सम्बन्धले निम्त्याउने तनावले ०.६०, बेरोजगारी समस्याले ०.२० र शारीरिक अपांगताका कारण ०.०४ प्रतिशतले आत्महत्या गरेको अध्ययनले देखाएको छ । पछिल्लो १० वर्षमा औसतमा तीन प्रतिशतले नेपालमा आत्महत्याका घटना बढेका छन् ।

झुन्डिएर गर्ने आत्महत्या धेरै

अध्ययनअनुसार ७०.९ प्रतिशतले घरभित्र र १९.१ प्रतिशतले घरबाहिर आत्महत्या गरेका छन् । सबैभन्दा धेरै ८३.५ प्रतिशतले झुन्डिएर तथा १५ प्रतिशतले विष सेवन गरेर आत्महत्या गरेको देखिएको छ । १.१ प्रतिशतले हाम फालेर, ०.१ प्रतिशतले आगो लगाएर, ०.१ प्रतिशतले डुबेर तथा ०.१ प्रतिशतले हातहतियार प्रयोग गरेर आत्महत्या गर्छन् ।

सोमबार र वैशाखमा धेरै आत्महत्या 

महिनागत रूपमा वैशाखमा धेरैले र पुसमा थौरेले आत्महत्या गर्ने गरेको प्रहरी अध्ययनले देखाउँछ । आत्महत्या गर्नेमध्ये वैशाखमा ९.६, जेठमा ९.१, असारमा ७.७, साउनमा ९.२, भदौमा ८.३, असोजमा ८.७, कात्तिकमा ८.५, मंसिरमा ७.१, पुसमा ६.८, माघमा ७, फागुनमा ८.७० तथा चैतमा ८.८ प्रतिशत छन् । त्यस्तै, बारका आधारमा भने सोमबार र शुक्रबार धेरै आत्महत्याका घटना हुने गरेका छन् । शुक्रबार १५.२, सोमबार १५, मंगलबार १३.८, आइतबार र बुधबार १४.१, शनिबार १३.७, बिहीबार १४.२ प्रतिशत घटना हुने गरेका छन् ।

समयका आधारमा बिहानको समयमा धेरै आत्महत्या हुने गरेका छन् । बिहान ४ बजेदेखि ८ बजेबीचको समयमा २८.७ प्रतिशत घटना भएका छन् । सबैभन्दा कम राति ८ देखि १२ बजेको समयमा ९.५ प्रतिशत आत्महत्या छ । मध्यराति १२ बजेदेखि बिहान ४ बजेको समयमा ११.४, दिउँसो १२ देखि अपराह्न ४ बजेसम्म १८.२, अपराह्न ४ बजेदेखि बेलुका ८ बजेसम्म १५.९ प्रतिशत घटना भएका छन् ।

आत्महत्या गर्नेमा ५५ प्रतिशत ३५ वर्षभन्दा कम उमेरका छन् । १५ देखि २५ वर्ष उमेर समूहका सर्वाधिक २१ प्रतिशत छन् । त्यस्तै, २५ देखि ३५ वर्ष उमेर समूहका १८.१ र १० देखि १८ वर्ष उमेर समूहका १४.९ प्रतिशत छन् । १० वर्षभन्दा कम उमेरका ०.८ प्रतिशत छन् । त्यस्तै, ३५ देखि ४५ वर्ष उमेरका १३.१ प्रतिशत, ५५ देखि ६५ वर्षका ९.४ प्रतिशत र ६५ वर्षमाथिका ६.६ प्रतिशत छन् ।

प्रहरीले जातीयताको आधारमा समेत आत्महत्याको अध्ययन गरेको थियो । जसमा आदिवासी जनजाति समुदायमा आत्महत्याका घटना धेरै छन् । कुल घटनामध्ये ३९ प्रतिशत आदिवासी समुदायका व्यक्ति छन् । त्यस्तै, ब्राह्मण–क्षेत्री ३१.१, दलित २०.५ प्रतिशत र ९.३ प्रतिशत मधेशी समुदायका छन् ।

आत्महत्या गर्नेमा शैक्षिकस्तर कमजोर भएकाहरू धेरै हुने गरेको प्रहरीको अध्ययनले देखाएको छ । ६३.१ प्रतिशत साधारण लेखपढ गर्न जान्ने छन् । आधारभूत तहको शिक्षा आर्जन गरेका २.८, निम्नमाध्यमिक तहका ६.७, माध्यमिक तहका १३, उच्च माध्यमिक तहका ५.१, स्नातक तहका नौ र स्नातकोत्तर तहका ०.४ प्रतिशत छ । यसले अशिक्षा पनि आत्महत्याको प्रमुख कारण रहेको देखाउँछ ।

त्यस्तै, पेसाको आधारमा सबैभन्दा धेरै कृषि पेसामा आबद्धहरू छन् । ४६.२ प्रतिशत कृषक र त्यसपछि १५.४ प्रतिशत विद्यार्थी छन् । त्यस्तै, ११.६ प्रतिशत गृहिणी, १.९ प्रतिशत व्यवसायी, १.९ प्रतिशत बेरोजगार छन् । आत्महत्या गर्नेमध्ये ०.५ प्रतिशत सरकारी जागिरे छन् ।

प्रदेशगत रूपमा आत्महत्या दर बागमतीमा धेरै छ । बागमतीमा दुई वर्षको अवधिमा सात हजार ३२८, कोशीमा सात हजार ११८, लुम्बिनीमा ६ हजार २८१, मधेशमा चार हजार ६०७, गण्डकीमा तीन हजार २७५, सुदूरपश्चिममा दुई हजार ८३० र कर्णालीमा एक हजार ४४९ जनाले आत्महत्या गरेका छन् । अध्ययनले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यको प्रवद्र्धन, आत्महत्यासम्बन्धी भ्रमहरू हटाउने, जोखिम संकेतहरू समयमै पहिचान गर्ने, तनाव व्यवस्थापनका लागि तालिम दिनुपर्नेमा जोड दिएको छ ।

अध्ययनले १९ सुझाव दिएको छ । जसमा नेपाल प्रहरी अपराध कार्ययोजनाको वार्षिक बजेटमै विषयलाई समेटी कार्यान्वयन गर्नुपर्ने, प्रभावकारी रूपमा सचेतना कार्यक्रमहरू गर्नुपर्ने, आत्महत्याको जोखिममा रहेका व्यक्तिको तथ्यांक राखेर परामर्श र उपचारको प्रबन्ध मिलाउनेलगायत छन् ।

डिएसपी नवीनराजा बुढाथोकीको नेतृत्वमा प्रहरीले आत्महत्यासम्बन्धी अध्ययन गरेको हो । अध्ययनको निष्कर्षमा भनिएको छ, ‘यस अध्ययनले नेपालमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि तत्काल एक व्यापक र एकीकृत अवधारणाको आवश्यकतालाई जोड दिएको छ । सहकार्यात्मक, सांस्कृतिक रूपमा संवेदनशील र बहुआयामिक रणनीतिहरूमार्फत आत्महत्याको घटना घटाउन उत्प्रेरित तत्वहरूको जटिल अन्तत्र्रिmयालाई निवारण गरिएमा आत्महत्याका घटनालाई कम गर्न र मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न सम्भव छ ।’ गत २६ असारमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आत्महत्या जटिल सामाजिक समस्या बनेको भन्दै न्यूनीकरणका लागि अध्ययन प्रतिवेदन सार्वजनिक गरी अध्ययनका सुझावलाई कार्यान्वयन गरिने बताएका थिए ।

नयाँपत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*