Home / Feature Breaking news / नेपालका लागि ऐतिहासिक प्रदर्शन गरेकी सम्झना

नेपालका लागि ऐतिहासिक प्रदर्शन गरेकी सम्झना

यसपटक एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरूआत गर्‍यो।

शुक्रबार श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा नेपालले युएईलाई ६ विकेटले पराजित गर्‍यो।

एसिया कपमा यो ऐतिहासिक जित हो। त्यसमा सम्झना खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

यसअघिका दुई संस्करणका सबै खेलमा नेपाल पराजित भएको थियो।

युएईविरूद्ध ओपनर ब्याटरका रूपमा मैदानमा गएकी सम्झनाले ४५ बलमा ११ चौका प्रहार गर्दै नटआउट ७२ रन जोडिन्। उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो।

यो नेपाली महिला ब्याटरले टी–२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर समेत हो। यस्तै, नेपालले टी–२० मा पार गरेको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो। सम्झना खेलको प्लेयर अफ दि म्याच समेत बनिन्।

‘देशका लागि अर्धशतक प्रहार गरेर जित निकाल्नु मेरो लागि गर्वको कुरा हो यसका लागि सबैलाई धन्यवाद,’ उनले खेलपछि भनिन्।

खेलमा गरेको प्रदर्शनले मैदानमै सम्झनाका आँखा रसाए। उनको आँसुमा १२ वर्षदेखिको मेहनत मिसिएको थियो। यही कारण उनी मैदानमै भावुक बनिन्।

बझाङको जयपृथ्वी नगरपालिका–९ रिठापाता देवलकी सम्झनाले क्रिकेट खेल्न थालेको एक दशक बढी भयो।

१३ वर्षको उमेरदेखि क्रिकेट खेलेकी उनले अहिलेसम्म क्रिकेटमै निरन्तरता दिइरहेकी छन्।

उनीसँगै क्रिकेट खेल्न सुरू गर्ने क्रिकेटर मनिषा खड्काका अनुसार सम्झनाले १२ वर्ष अघि पहिलो पटक बझाङको टिमको कप्तानी सम्झनाले सम्हालेकी थिइन्।

मनिषाका अनुसार त्यो बेला केटी मान्छेहरूले क्रिकेट खेल्नु ‘फलामको चिउरा चपाउनु सरह’ थियो।

बिहान स्कुल जाने त्यहाँबाट फर्किएपछि आफ्नो भागमा परेको घरको सबै काम सकेर सम्झना, मनिषा लगायतका साथीहरू चैनपुरको देवल विमानस्थलको चौरमा जान्थे।

उबेला क्रिकेट खेल्ने मैदान थिएन। त्यसो त अहिले पनि बझाङमा क्रिकेट खेल्ने मैदान बनेको छैन।

उनीहरू एयरपोर्टको मैदानमा सिनियर दाइहरूसँग क्रिकेट सिक्थे। तर, क्रिकेट सिक्न न प्रशिक्षण केन्द्र न त प्रशिक्षक नै थिए, त्यसैमाथि परिवार र समाजले केटीहरूलाई खेलकुदमा अघि बढाउनै खोज्दैनथ्यो।

‘केटाहरूले खेलेर आजसम्म केही गर्न सकेका छैनन्। अब तिमीहरूले खेलेर के हुन्छ? भन्दै गिज्याउने, हेप्ने धेरैले गर्थे, अहिले दुई/चार वर्ष भयो त्यस्तो कुरा नसुनेको,’ मनिषाले भावुक हुँदै भनिन्।

क्रिकेटका लागि कुनै पनि सुविधा नभएको अवस्थामा  सिनियर दाइहरूले  साथ दिएका कारण केटीहरूले सिक्ने, खेल्ने अवसर पाएको मनिषाको भनाइ छ।

bajhang-samjhana-1721474423.jpg
बझाङमा केहि समयअघि फिल्डमा क्रिकेट अभ्यास गरिरहेकी सम्झना, यहाँ अहिलेसम्म क्रिकेट मैदान बनेको छैन।

‘सुरेन्द्र सिंह लगायतका सिनियर दाजुहरूले प्रशिक्षकको भूमिका निर्वाह गरेर हामीलाई सिकाउनुभयो। उहाँहरूले क्रिकेटका लागि धेरै गर्नुभएको छ। अहिलेसम्म महिला क्रिकेटरलाई भनेर यहाँ प्रशिक्षक सम्बन्धित ठाउँबाट खटाइएको छैन,’ उनले भनिन्।

क्रिकेट सिक्न थालेको ६ महिनापछि सम्झना बझाङ टिमको कप्तान बनिन्। उनको कप्तानीमा जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडी लगायतका ठाउँमा भएका क्षेत्रीयस्तरका प्रतियोगिताका खेलहरूमा जिल्लाले सहभागिता जनाएको थियो।

‘जिल्लाबाट हाम्रो टिमले हारेका बेला बढी कुरा सुन्न पर्थ्यो। क्रिकेट खेलेर के हुन्छ पढाइ गर्नु पर्दैन, भविष्यको चिन्ता छैन। छोरी मान्छे भएर भन्थे,’ मनिषाले सम्झिइन्।

ऊ बेला केटाहरूले मात्र बढी खेलहरू खेल्ने चलन थियो। मनिषाले अनेक समस्याले गर्दा बीच–बीचमा क्रिकेट खेल्न छोडिन्। तर, सम्झनाले भने खेल्न छाडिनन्।

जतिसुकै समस्याका पहाडहरू खडा भए पनि इच्छा भएपछि त्यसलाई चिरेर आफ्नो गन्तव्यमा हिँडिरहनु पर्ने रहेछ भन्ने कुरा सम्झनाबाट सिक्नुपर्ने मनिषा बताउँछिन्।

‘हामीले बीचमा क्रिकेट खेल्न छोड्यौं। उसले खेल्न छाडिन। लगातार लागिरहेकी हुनाले उनी अहिले त्यो ठाउँमा छिन्, घरका मान्छेसँग झगडा, जिद्दी गरेर भए पनि उसले क्रिकेट खेल्न छोडिनन्,’ मनिषाले भनिन्।

सम्झना, मनिषासँग खेल्ने जिल्लाका अरू खेलाडी क्रिकेटबाट पलायन भएका छन्। सम्झना, मनिषा र अर्की एक जना खेलाडी मात्रै क्रिकेटमै छन्।

‘हामीसँगैका अरू खेलाडी करियर बनाउने भन्दै कोही लोक सेवा आयोगको तयारीमा छन्, कसैको बिहे भएर बच्चाबच्चीको जिम्मेवारी सम्हाल्नु पर्ने भएपछि घरमा छन्,’ मनिषाले भनिन्।

मेहनत र निरन्तरताले सम्झना भने राष्ट्रिय टिममा पर्न सफल भएको उनी बताउँछिन्।

सम्झनाले राष्ट्रिय टिमबाट खेल्न थालेको २ वर्ष भयो।

यो पटकको एसिया कपको पहिलो खेल गरी उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १७ खेल खेलिसकेकी छन्।

samjhana-with-parents-1721474780.jpg
आमाबाबु, दाइ र आफ्नो क्रिकेट प्रशिक्षक सुरेन्द्रसँग सम्झना। 

बझाङ जिल्लाका क्रिकेट प्रशिक्षक सुरेन्द्र सिंहका अनुसार पहिलो पटक सम्झनाले क्षेत्र नम्बर ६ बैतडीबाट राष्ट्रिय टिममा पुग्न छनोट खेल खेलेकी थिइन्।

यो प्रतियोगिता १२ वर्षअघि नै भएको थियो। सम्झनालाई यो स्थानसम्म पुर्‍याउन प्रशिक्षक सुरेन्द्रको पनि ठूलो भूमिका छ। उनले नै सम्झनालाई क्रिकेट सिकाएका हुन्।

‘नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा हुँदा बीचमा क्रिकेटका गतिविधि बन्द भए, त्यही कारण सम्झनाले पनि पढाइ गर्न पाइन्,’ सिंहले भने।

सम्झनाले प्रदेशबाट छैटौं, सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलिन्।

उनले २०७८ देखि सुदूरपश्चिम र विभागीय टिम नेपाल पुलिसबाट प्रधानमन्त्री कप खेलेकी छन्। उनले अहिलेसम्म दर्जनौं राष्ट्रिय तथा घरेलु खेलकुद प्रतियोगिता खेलिसकेकी छिन्।

राष्ट्रियस्तरको प्रतियोगितामध्ये यही वर्ष जेठमा भएको ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सम्झनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

उनले सुदूरपश्चिमका लागि सर्वाधिक ७४ रनको योगदान दिइन्। उनले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी थिइन्।

यही वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई इमर्जिङ खेलाडीको क्याटागोरीमा राखेको छ। यही कारण क्यानबाट सम्झनालाई मासिक २० हजार तलबको सुविधा यही वर्षबाट भएको छ।

‘यो वर्ष सम्झनाका लागि सुखदको वर्ष भनेर हामीले लिएका छौं,’ सुरेन्द्रले भने।

उनका अनुसार क्रिकेट खेल्ने क्रममा सम्झना खुट्टामा चोट लागेर दुई/दुई पटक घाइते भएकी थिइन्।

‘एसिया कपमा सम्झनाले उत्कृष्ट प्रदर्शन गर्दा धेरै गर्व र खुसी लागेको छ,’ मनिषाले भनिन्।

मनिषाले पनि प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेकी छिन्।

अहिले उनी बझाङको महिला क्रिकेट टिमकी कप्तान हुन्। सम्झनाको प्रदर्शनले जिल्लामा क्रिकेटमा भविष्य देखेर आएका खेलाडीलाई ऊर्जा मिलेको उनी बताउँछिन्।

दुई भाइ र दुई बहिनीमध्येकी सम्झना कान्छी छोरी हुन्।

उनका दाइ नवीन खड्का मोजाको बलबाट सम्झनाले क्रिकेट सिकेको बताउँछन्। एसिया कपमा सम्झनाको उत्कृष्ट प्रदर्शनले परिवारलाई अथाह खुसी मिलेको उनले बताए।

‘सम्झना रूँदै मलाई पनि खेलाउनु पर्छ दादा भन्दै आउँथिन्,’ जसरी पनि क्रिकेट खेल्ने, नछोड्ने भनेपछि हामीले पनि उसलाई सहयोग गरिरहेका छौं,’ नवीनले भने।

सम्झनाका परिवार तरकारी खेती पनि गर्छन्। खेतीपातीले उनको परिवारको घरखर्च चलेको छ। आर्थिक अवस्था कमजोर भएकाले सम्झनालाई परिवारका सदस्य सरकारी जागिरे बनेको देख्न चाहन्थे।

क्रिकेट नखेल भविष्य छैन। नेपालमा झन् खेलाडीको अवस्था राम्रो छैन। सबै खेलाडी विदेश गएका छन् भनेर परिवारले पटक/पटक सम्झनालाई सम्झाएको थियो।

परिवारले उनलाई प्राविधिक शिक्षा अनमी समेत पढाएको थियो।

अनमीको पढाइ पूरा गरेपछि उनले जागिरको अवसर पनि पाएकी थिइन्। सम्झनाले मुखमा आएको जागिर छोडिन् तर क्रिकेट छोड्न सकिनन्।

samjhana-1721474780.jpg

‘उसले अहिले क्रिकेट नछाड्ने दुई चार वर्ष पर्खिंनु भनेपछि एक वर्ष भयो हामीले पनि उसलाई क्रिकेट खेल भन्न थालेको,’ नवीनले भने।

अहिले सम्झनालाई क्रिकेट खेल्नका लागि लाग्ने खर्च परिवारले नै दिएर सहयोग गरिरहेको छ।

‘हामीले खेल्नका लागि उसले जे माग्यो, त्यही दियौं, धेरै खर्च गर्ने हैसियत हाम्रो छैन। खेतीपातीबाहेक हाम्रो आम्दानी हुने स्रोत छैन। एक हिसाबले हामी बेरोजगार नै छौं, जे जति गर्‍यौं उसको लागि हामीले हरबखत गर्‍यौं,’ नवीनले भने।

आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम विश्वसामु चिनाओस् भन्ने उनको परिवारको अपेक्षा छ।

‘अझै राम्रो प्रदर्शन गरोस्, सम्झना नेपालीको आशा छ। उसले केही गर्छ जस्तो लाग्छ, उसले क्रिकेटमै थप नाम कमाओस् भन्ने हाम्रो पनि चाहना छ,’ नविनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*