दाङ, १० वैशाख
नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछि तीन दिन शोक घोषणा गरिएको छ ।
ताम्राकारको निधनलगत्तै कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यको आकस्मिक बैठकले तीन दिन शोकको निर्णय गरेको हो ।
बैठकले शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रम ३ दिनसम्म स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले मिडिया डबलीलाई जानकारी दिए । कांग्रेसको निर्णयसँगै बैशाख ११ गतेबाट शुरू हुने भनिएको राष्ट्रिय जागरण अभियान स्थगित भएको छ ।
पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुँदा तीन दिन पार्टी कार्यालय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट शुरू हुने कार्यक्रम प्रभावित हुने भएको छ । शोकको निर्णय कांग्रेसका देशभरका कार्यालय र कार्यक्रममा लागु हुनेछ ।
रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक–पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको थियो । करीब दुई हप्ताअघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
निमोनिया समेत भएका उनको स्थिति अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार विगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।
ताम्राकार विक्रम संवत् २०४८ र ५६ मा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय सम्हालेका थिए ।
ताम्राकारको निधनप्रति कांंग्रेस दाङले पनि दुःख व्यक्त गरेको छ । कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले शोक वक्तव्य निकालेर कांग्रेस नेता ताम्राकारको निधनप्रति द
ुःख व्यक्त गर्नुभएको छ । साथै विज्ञप्तीमा वैशाख ११ गते वुधवार हुने भनेको कार्यक्रम स्थगीत भएको पनि जानकारी दिनुभयो ।