Home / Feature Breaking news / चट्याङ लागेर एकैदिन चारजनाको मृत्यु

चट्याङ लागेर एकैदिन चारजनाको मृत्यु

सुदूरपश्चिममा चट्याङ लागेर एकैदिन चारजनाले ज्यान गुमाएका छन् । मंगलबार कञ्चनपुरका तीन र कैलालीका एकजनाको चट्याङ लागेर मृत्यु भएको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका बेला श्रेष्ठलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

पुनर्वासकै एक महिलाले पनि चट्याङका कारण ज्यान गुमाएकी छन् । पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।  कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न पुगेका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यता कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार बिहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखीदेवी चौधरीको ज्यान गएको हो । घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव उपरीक्षक बेदप्रशाद जोशीले जानकारी दिए ।

यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षिया बजलिया राना घाइते भएकी छन् । उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*