दशैं सबैका लागि समान भए पनि समय, स्थान र शैली भने फरक हुन्छ । लामो विदामा हरेकका आ-आफ्नै योजना हुन्छन् । त्यसमाथि व्यस्त दिनचर्याका ‘सेलिब्रेटी’हरुको त दशैंको टुंगो नै हुँदैन, कहिले यता, कहिले उता । केही सेलीब्रेटीसँग अनलाइनखबरले दशैं विदाका योजनाबारे सोधखोज गरेको छ ।
राजेश हमालः एकादशीमा टीका
टीकाको दिन आमाको श्राद्ध पर्ने भएकाले भोलिपल्ट मात्रै टीका लगाउँछु । दिदीहरु सबै अमेरिकामा हुनुहुन्छ । मेरो प्रायः दशैं देशबाहिर नै हुन्छ । यसपालि कता मान्ने टुंगो भएको छैन । यहीं बसेँ भने ससुराली जान्छु ।
कोमल वलीः यसपालि काठमाडौंमै
यस वर्ष मामा बित्नु भएकाले टीका लगाउन मामाघर जान्नँ । केही राजनीतिक र सांगीतिक कार्यक्रममा सहभागी हुनु परेकाले फूलपातीसम्म काठमाडौं बाहिरकै कार्यक्रममा व्यस्त रहन्छु । दशैंमा चाहिँ म काठमाडौंमै हुन्छु । केही दिन भए पनि थकाइ मार्ने योजना छ ।
नवीन के भट्टराईः नयाँ एल्बमको तयारी
दशैंअघि नै एउटा एल्बम निकाल्ने तयारी गर्दैछु । काठमाडौं, बुटवललगायत धेरै ठाउँमा कार्यक्रम भएकाले नवमीको दिन मात्रै घर आइपुग्छु । टीकाको दिन आफन्तकोमा टीका थाप्ने कार्यक्रम छ ।
धुर्मुसः नयाँ बस्ती निर्माणमै व्यस्त
रौतहटको सन्तपुरमा बाढी पीडितका लागि नयाँ बस्ती निर्माणको तयारीमा छु । अहिले पनि बाढी पीडितको उद्धारमा जुटिरहेकाले दशैं योजना खासै बनेको छैन । विशेषतः यसपालिको दशैंमा म सन्तपुरको बस्ती निर्माणमै केन्द्रित हुनेछु ।
स्वस्तिमा खड्काः छक्कापञ्जा-२ को प्रचारमा
मैले अभिनय गरेको चलचित्र छक्कापञ्जा-२ फुलपातीको दिन प्रदर्शन हुँदैछ । सोही कारण फिल्मको प्रचारमै व्यस्त रहनेछु । दशमीको दिन आफन्तकोमा टीका लगाउन जान्छु ।
देवीराम पराजुलीः घुम्न जाने सोच छ
यसपालि कतै घुम्न जाऊँ कि भन्ने सोचमा छु । तर, कहाँ जाने पक्का भइसकेको छैन । कतै गइनँ भने घरमै बसेर रमाइलो गर्छु । मामाघर र ससुरालीचाहिँ जान्छु । आम नेपालीको भन्दा मेरो दशैं खासै फरक हुन्न ।
पशुपति शर्माः फूलपातीको दिन घर जान्छु
यसपालि विदेशमा कार्यक्रम छैन । स्या्ङजा गएर आफ्नै घरमा दशैं मनाउँछु । विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले फूलपातीको साँझ मात्रै घर पुग्छु । साथीभाइ र इष्टमित्रसँग भेटघाट गरेर दशैं मनाउने योजना छ ।
सलोन बस्नेतः दिल्ली घुमघाम
दशैंमा सबै जना जम्मा हुने भएकाले स-परिवार दिल्ली घुम्न जाने योजना छ । तर, दशैंको दिन घरमै आइपुग्छु । मामाघर दामन जसरी पनि पुग्छु । साथीभाइ भेटेर रमाइलो गर्ने त छँदैछ ।