Home / Feature Breaking news / मह काढ्न थाले कृषकले

मह काढ्न थाले कृषकले

अमरराज आचार्य
दाङ, २४ कार्तिक । माहुरी पालक कृषकहरु मह काढ्ने तयारी थालेका छन् । मह काढ्ने सिजन भएकाले पनि कृषकलाई हतारो भएको छ । लामो समय पालन गरेका माहुरीले अहिले उत्पादन दिन थालेको छ । जिल्लाका अधिकांश कृषकहरु अहिले आफूले पालन गरेका माहुरीको पहिलो लटको मह काढ्न थालेका छन् । कृषकहरुले चिउरी र तोरीको सिजनमा २÷३ पटकसम्म मह काढ्ने गर्छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्से खाली निवासी माहुरीपालक कृषक दिनेश वलीले शुक्रवार मात्र मह काढेर सकेका छन् । उनले ३८ घर माहुरी पालन गरेका थिए । आफूले पालन गरेको माहुरी काढ्नभन्दा पहिले उनी हुरीपालन गरेका साथीलाई सहयोग गर्ने भएका थिए । अहिले अरुलाई सहयोग गर्न जाने गरेका छन् । ‘मिलेर पालो–पालो मह काढ्ने गरेका छौँ’, वलीले भने– ‘मह काढ्नका लागि एक्लै नमिल्ने भएकाले मिलेर काढ्ने गरेको छौँ ।’

अरु मानिस काममा लगाउनुभन्दा कृषकहरु नै मिलेर काम गर्दा सहज भएकोसमेत उनले बताए । गत वर्षभन्दा मह उत्पादन बढ्ने उनको अपेक्षा छ । यस वर्ष मौसमले साथ दिएकाले उत्पादन बढ्ने उनले बताए ।

घोराही उपमहानगरपालिका वडा नं. १९ का खुमबहादुर रायमाझीले पनि केही दिनपछि मह काढ्ने तयारीमा छन् । उनले सनसाइज बी किपिङ सेण्टर स्थापना गरेर व्यावसायिकरुपमा माहुरी पालन गर्दै आएका छन् । अहिले एक सय ५० घार माहुरी पालन गरेका छन् ।

घोराही–१८ मसिनाका पञ्चाराम नेपालीले पनि केही दिनमा मह काढ्ने तयारी गरेको बताए । ‘केही दिनमा माहुरी काढ्ने तयारीमा छु’, नेपालीले भने– ‘उनीसँग ८० घार छन् ।’ आफूसँगै नजिकै ३÷४ घरले माहुरी पालन गरेकाले मिलेर काम गर्ने गरेको उनले बताए । अहिले चिउरी र तोरी फुलेकाले माहुरीले जम्मा गर्ने कृषकहरु बताउँछन् । कार्तिके–मह औषधीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।

त्यसैले पनि कार्तिके–महको माग बढी हुने गरेको कृषकहरुको भनाइ छ ।जिल्लामा १५ हजार माहुरीको गोला रहेको माहुरीपालन महासंघ दाङले जनाएको छ । त्यसैगरेर जिल्लामा वार्षिक ६ सय टनभन्दा बढी मह उत्पादन हुने गरेको उनको भनाइ छ । जिल्लाका करिब एक हजार माहुरी पालन कृषकहरु छन् भने साढे ६ सय जनामात्र माहुरी पालन महासंघमा आबद्ध छन् ।

माहुरी पालनको लागि जिल्ला उर्र्बर रुपमा छ । जिल्लामा उत्पादन भएको मह विदेशमा समेत माग बढी रहेको माहुरी पालक कृषकहरु बताउँछन् । विदेश जाने हुँदा मूल्य पनि राम्रो पाउने गरेको छ । विदेशका साथै देशका विभिन्न स्थानहरुमा समेत दाङको मह जाने गरेको छ ।

माहुरी पालन व्यवसायलाई अगाडि बढाउनका लागि राज्यको तर्फबाट पनि माहुरीमा विभिन्न प्रकारका कार्यक्रमसमेत सञ्चालन भइराखेको छ । सानो लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले पछिल्लो समय माहुरी पालनमा कृषकहरुको आकर्षण बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*