Home / Feature Breaking news / बहुउद्देश्यीय सभागृहको ८५ प्रतिशत काम पूरा

बहुउद्देश्यीय सभागृहको ८५ प्रतिशत काम पूरा

पुसमा सञ्चालनमा आउने

दाङ, २४ कार्तिक । दाङको घोराहीमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय सभागृहको करिब ८५ प्रतिशत निर्माणको काम पूरा भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ को पुरानो बसपार्कमा निर्माणा भइरहेको बहुउद्देश्यीय सभागृहको काम करिब साढे तीन बर्षको अवधिमा ८५ प्रतिशत काम पूरा भएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिएका छन् ।

तीनतले भवनमा आठ सय बढी मानिसहरु अट्ने क्षमता भएको उक्त सभागृह आउने पुस महिनासम्म निर्माणको काम पुरा भैसक्ने समेत अध्यक्ष भुसालले बताए । ‘आउने पुस महिनामा निर्माणको काम सक्नेगरी म्याद थप भएको थियो, त्यही अनुसार अहिले सभागृहमा एसी जोड्ने, रंगरोगनलगायतको काम भइरहेको छ’, अध्यक्ष भुसालले भने– ‘बढी समय लाग्ने निर्माणको काम भैसकेकाले अब बाँकी रहेको सभागृहको १५ प्रतिशत काम छिट्टै सकिनेछ ।’

उनका अनुसार अब संरचना निर्माण सकिएकाले रंगरोगन, फर्निचरलगायतका कामहरु रहेको अध्यक्ष भुसालले जानकारी दिएका छन् । अहिलेकै अवस्थामा काम भइरहे पुस मसान्तअघि नै बाँकी रहेको सभागृहको निर्माणको काम सकिने समेत उनले बताए । २०७६ पुस महिनाभित्रै निर्माणको काम सक्नेगरी २०७४ साल पुस महिनादेखि बंगलामुखी गौरी पार्वती जेभी कम्पनीले काम शुरु गरेको भए पनि विभिन्न कारणले गर्दा निर्माणमा ढिलाई हुँदै आएको थियो ।

सभागृहको निर्माणका लागि नेपाल सरकारको करिब २६ करोड ७७ लाख र दाङ जिल्ला उद्योग बाणिज्य संघको करिब ३ करोड २३ लाख रुपैयाँ गरी ३० करोड बढीको लागत रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघले जनाएको छ ।

सभागृह निर्माणका लागि घोराही नगर विकास समितिले उपलब्ध गराएको जग्गामा बसोवास गरेका सुकुम्वासीहरुको व्यवस्थापन, जग्गा संरक्षणका लागि पर्खाल निर्माणदेखि खानेपानी समस्या समाधानका लागि डिपबोरिङ खन्नेलगायतको काम उद्योग बाणिज्य संघले गरेको समेत अध्यक्ष भुसालले बताए ।

बहुउद्देश्यीय सभागृह निर्माणका लागि उद्योग वाणिज्य संघले घोराहीमा दुईपटक महोत्वस समेत सञ्चालन गरी आर्थिक संकलनको काम समेत गरेको थियो । संघले २०६९ सालको महोत्सवबाट ५१ लाख र २०७२ सालको महोत्सवबाट २४ लाख ९९ हजार रकम संकलन गरेको उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रदेश सरकारले उपयोग गर्न सक्छ

देउखुरीमा प्रदेशसभा सञ्चालनका लागि संरचना अभाव भइरहेको अवस्थामा दाङ उद्योग बाणिज्य संघले निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय सभागृह प्रदेश सरकारले उपयोग गर्न सक्ने बताएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको अवस्थामा तत्काललाई संरचना अभाव हुने र बुटवलमा भाडा तिरेर कार्यालय सञ्चालन गर्नुभन्दा भएका संरचनालाई उपयोग गर्न दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष भुसालले आग्रह गरेका छन् ।

‘प्रदेशको स्थायी राजधानी तोकिएको स्थानमा संरचना अभाव हुन्छ भने दाङ जिल्ला उद्योग बाणिज्य सघले निर्माण गरिरहेको बहुउद्देश्यीय सभागृहलाई उपयोग गर्न सक्छ, त्यसका लागि हामी तयार छौं’, अध्यक्ष भुसालले भने– ‘प्रदेशको स्थायी राजधानी तोकिसकेको अवस्थामा अब बुटवलमा भाडा तिरेर सरकारी संरचना राख्नुहुँदैन ।’

उनले भालुवाङसँगै त्यसको आसपासमा रहेका सरकारी कार्यालयहरुलाई उपयोग गर्दै स्थायी राजधानीबाटै सरकार सञ्चालन गर्न समेत प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेश सरकारको हिउँदे अधिवेशन देउखुरीको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालन गर्न प्रदेश सरकारले पहल गरिरहेको अवस्थामा कर्मचारी संगठनबाट विरोध आएपछि उद्योग बाणिज्य संघका अध्यक्ष भुसालले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*