Home / Feature Breaking news / रुसमा ४३ नेपालीको मृत्यु, नामावली सहित
Jordanian soldiers keep watch on March 18, 2020 in the capital Amman as Jordan takes measures to fight the spread of the coronavirus COVID-19. (Photo by Khalil MAZRAAWI / AFP)

रुसमा ४३ नेपालीको मृत्यु, नामावली सहित

युक्रेनमा ११ जना नेपाली बन्दी

रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ । नेपाल सरकारको तथ्यांकमा हालसम्म ४३ को मृत्यु भएको र आठजनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उल्लेख छ । तर, पीडित परिवारले भने ५४ को मृत्यु र २७९ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

रुसी सेनाले मृतक नेपालीको परिवारलाई हालसम्म पनि क्षतिपूर्ति दिएको छैन । कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार रुसी सेनामा कार्यरत ४३ नेपालीको हालसम्म मृत्यु भएको आधिकारिक जानकारी रुस सरकारले उपलब्ध गराएको छ । थप आठजनाको मृत्यु भएको, तर आधिकारिक रूपमा रुसी सेनाबाट पुष्टि हुन बाँकी छ । सरकारी तथ्यांकअनुसार रुसी सेनामा कार्यरतमध्ये १८४ जना स्वदेश फर्किएका छन् । तर, परिवारजनको तथ्यांकमा २११ जना स्वदेश फर्केका छन् ।

‘विभागमा परेको कुल ३३६ निवेदनअनुसार परिवारसँग सम्पर्कमा नभएका १२१ जना छन् । उद्धार गर्नुपर्ने घाइतेको विवरणसहित १६८ वटा निवेदन परेको छ,’ कन्सुलर सेवा विभागका महानिर्देशक पौडेलले नयाँ पत्रिकासँग भने । उनले रुसी सेनामा जाने क्रम पछिल्लोपटक निकै कम रहेको जानकारी पाएको बताए ।

रुसी सेनामा कार्यरत ६ सयभन्दा बढी सैनिक र परिवारसँग समन्वय गर्दै आएकी सामाजिक अभियन्ता कृतु भण्डारीका अनुसार सरकारले मृतक भनेको सूचीभन्दा मृतकको संख्या धेरै छ । ‘परिवारले मृतक पुष्टि गरेकै संख्या ५४ पुगेको छ । अधिकांशले काजकिरिया गरिसकेका छन्,’ उनले भनिन्, ‘डिएनए परिक्षणका लागि थप ५० भन्दा बढीको नाम परिवारले पाएका छन् ।

उनीहरूलाई पनि मृत्यु भएको संख्या जोड्ने हो भने सयजनाभन्दा बढीको मृत्यु भइसकेको मान्नुपर्छ ।’ उनले अहिलेसम्म २११ जना नेपाल फर्केको र २७९ जना लामो समयदेखि सम्पर्कविहीन अवस्थामा रहेको बताइन् । सरकारी तथ्यांकअनुसार युक्रेनी सेनाको हिरासतमा हालसम्म ६ जना नेपाली छन् । तर, यो संख्या बढेर ११ पुगेको सप्रमाण जानकारी आएको भण्डारीले बताइन् । ‘युक्रेनको कब्जामा थप पाँचजना छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत थप पाँचजना छन्,’ उनले भनिन् ।

भण्डारीका अनुसार पछिल्लो डेढ महिनाअघि भर्ना भएर अहिले तालिमरत ५० जनाको समूहलाई सातामा एकपटक नेपालमा परिवारजनलाई टेलिफोनमा कुरा गर्न दिइएको छ । ‘यीमध्ये केही भाइहरू हाम्रो सम्पर्कमा छन् । उनीहरू चीन, दुबई हुँदै रुस पुगेका रहेछन्,’ भण्डारीले भनिन्, ‘रुसमा भर्ना हुने क्रम नरोकिनु गम्भीर विषय हो ।’ सरकारी तथ्यांकअनुसार युक्रेनमा बर्दियाका विवेक खत्री, मोरङका विकास राई, काभ्रेका सिद्धार्थ ढकाल, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने छन् ।

‘हामीले डिएनए परीक्षणसहित ६ जना मृतकको विवरण पठाएका थियौँ । रुसबाट क्षतिपूर्ति आउन बाँकी छ,’ कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने । परराष्ट्रका एक अधिकारीले भने रुसमाथि अमेरिकी र पश्चिमाहरूको आर्थिक प्रतिबन्धका कारण बैंकिङ च्यानल अभावका कारण क्षतिपूर्तिमा कठिनाइ भएको जिकिर गरे ।

यी हुन् रुसमा मृत्यु भएका ४३ नेपाली नागरिक
राजकुमार रोका, शुक्रबहादुर तामाङ, भरतबहादुर शाह, देवान राई, प्रीतम कार्की, गंगाराज मोक्तान, रूपक कार्की, सन्दीप थपलिया, कुन्दनसिंह नागाल, हरिप्रसाद अर्याल, राजकुमार गिरी, धनसिंह पुन, पूर्णबहादुर गुरुङ, सुन्दर मोक्तान, गंगाराम अधिकारी, पदमबहादुर घिमिरे, सञ्जय केसी, नवीन शाही, जितबहादुर विक, अनितकुमार साह, खगेन्द्र रैका मगर, वीरबल राई, बलराम गुरुङ, तेजबहादुर शाही, सुरेन्द्र राना, लालबहादुर बुढा, राजु थारू, फुर्वा शेर्पा, सुरज विक, नेत्रबहादुर घर्ती, शंकर दमाईं, साजन गुरुङ, शान्तबहादुर भोलान, घनश्याम परियार, संजोग आचार्य, विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले, सुवास थापा, मोहन तामाङ, रञ्जित गुरुङ र धु्रव घर्तीमगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*