Home / Feature Breaking news / निरन्तरको मेहनत र जनताको सेवाले प्राप्त गरेको सफलता

निरन्तरको मेहनत र जनताको सेवाले प्राप्त गरेको सफलता

मिलनसार, विकासप्रेमी र सहयोगी स्वभावका धनी मोहन गिरी जनताको सेवामा निरन्तर खट्छन् । वडाको कुनै ठाउँमा केही समस्या भइहाले तत्काल पुग्छन् र समाधानका लागि पहल गर्छन् ।

वडाको विकास र जनताको सेवाका लागि निरन्तर रूपमा खट्दै आएका गिरीले पहिलो कार्यकालमा सडक, विद्युत, खानेपानी, कृषिको विकासका लागि किसानको क्षमता अभिवृद्धिका लागि तालिम, उन्नत जातको बिउ र यन्त्रिकीकरणमा सहयोग, पर्यटन विकासका लागि थारु बाहुल्य रहेको बस्ती वनघुस्रीमा होमस्टेलगायतका काम गर्न सफल भए । जनतासँग निरन्तर रूपमा निकट रहेर काम गर्ने, मिलनसार र सहयोगी स्वभावका कारण गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा लमही वडा नं. ७ मा पुनः दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन् ।

करिब २० वर्षपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा लमही वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित गिरी दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा जनताले अनुमोदन गर्दाको क्षणलाई आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण भएको बताए । ‘माओवादी सशस्त्र संघर्षलगायतका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन बने । त्यो अवधिमा कर्मचारीबाटै स्थानीय सरकार सञ्चालन भए र स्थानीय तहमा राजनीतिक दल सत्ता बाहिर बस्नु परेको थियो’, गिरीले भने, ‘तर २० वर्षपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचन भयो ।

त्यो निर्वाचनमा म वडाध्यक्षमा विजयी भएका थिए र अहिले पनि दोस्रो कार्यकालका लागि पार्टीले टिकट दिएपछि उम्मेदवार बनेको थिए । वडाबासी जनताले पुनः मलगायत हाम्रो टिमलाई विजयी गराउँदाको क्षण मेरो जीवनको खुसीको क्षण हो ।’ वडाध्यक्ष गिरीले आफ्नो विजयलाई निरन्तर जनताकाबीचमा रहेर वडाको विकास र जनताको सेवाका लागि गरेको कामको प्रतिफलका रूपमा लिएका छन् । निर्वाचनमा जिल्लामा अधिकांश पुराना अनुहारले हार व्यहोरेको अवस्थामा आपूmले पाँच वर्षको अवधिमा वडामा गरेको कामकै कारण अहिले सफलता मिलेको उनी बताउँछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ को गैरागाउँमा जन्मिएका गिरीले गैरागाउँमै रहेको प्राथमिक विद्यालयबाट औपचारिक कक्षा सुरु गरेका थिए तर परिवार घोराहीबाट बसाइसराई गरेर देउखुरीको साविकको सतबरिया गाविसमा गएपछि उनको पढाइ पनि हस्नापुरमा रहेको अर्जुन आधारभूत विद्यालय (साविकको अर्जुन प्राथमिक विद्यालय) हुँदै घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरे । उच्च शिक्षाका रूपमा स्नातक तहसम्म अध्ययन गरेका गिरीले आफ्नो दोस्रो खुसीका रूपमा आफैले अध्ययन गरेको अर्जुन आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्दाको क्षणलाई लिन्छन् ।

समाजमा केही गर्ने सोच बोकेका मानिसका लागि शिक्षा क्षेत्रको नेतृत्व गर्न पाउनु ठूलो अवसर हो । त्यो अवसर आपूmले पाउँदाको निकै खुसी भएको गिरी बताउँछन् । ‘मिति बिर्सिएछ, २०५६ सालतिरको कुरा हुनु पर्छ । आफैले पढेको अर्जुन आधारभूत विद्यालयमा भएको अभिभावक भेलाले मलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनायो’, गिरीले भने, ‘आफैले पढेको विद्यालयमा, आफैलाई पढाउनुभएको गुरुहरूसँग मिलेर विद्यालयको विकासका लागि काम गर्दाको क्षण मेरो जीवनको महत्वपूर्ण खुसीको क्षण हो । जुन क्षण म कहिल्यै भुल्न सक्दैन ।’

पञ्चायत विरोधी आन्दोलन र बहुदल प्राप्तिका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्कालगायतका नेताहरूसँग गिरीका बुवा मिनप्रसाद गिरी पनि आन्दोलनमा जोडिनुभएको थियो । त्यही कारण घरमा नेपाली कांग्रेसका नेताहरू आउने जाने क्रम चलिरहन्थ्यो । गिरी घरपरिवार नै कांग्रेस थियो । त्यहीको प्रभाव सानैदेखि उनलाई राजनीतिक प्रभाव परेको थियो तर औपचारिक रूपमा आबद्ध भने थिएनन् । विद्यालय अध्ययनका क्रममा २०४८ सालदेखि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा लागेर गिरी राजनीतिमा प्रत्यक्ष रूपमा जोडिन पुगे । त्यसपछि निरन्तर विद्यार्थी आन्दोलनमा जोडिएका गिरी २०५८÷०५९ सालतिर नेपाल विद्यार्थी संघको क्षेत्र नं. १ को क्षेत्रीय सभापति हुँदै कांग्रेसमा जोडिए ।

देशको ठूलो र जनताले विश्वास गरेको पार्टीको विद्यार्थी संघको क्षेत्रीय सभापतिमा निर्वाचित हुँदाको क्षण पनि मेरो जीवनको अर्काे खुसीको क्षण भएको गिरीले बताए । ‘पारिवारिक रूपमा सानैदेखि कांग्रेस भए पनि विद्यालयमा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघमा आबद्ध भए कांग्रेसको राजनीतिमा लागेको थिए’, लमही नगरपालिका प्रवक्ता समेत रहेका गिरीले भने, ‘राजनीतिमा लागेको करिब एकदशकपछि नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापति हुँदाको क्षण म धेरै खुसी भएको थिएँ ।’ संघसंगठनमा आबद्ध भए पनि जसलाई पनि एक तह माथिल्लोमा पुग्ने चाहना हुन्छ उनले भने त्यही चाहना र निरन्तरको संघर्षले सफलता प्राप्त गर्दै लगेको छ ।

२०३३ साल भदौ १० गते बुबा मिनप्रसाद गिरी र आमा कृष्णा गिरीको कान्छो सन्तानका रूपमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँ (साविकको त्रिभुवनगरपालिका–२) जन्मिएका थिए । २०६० तुलसीपुरको लामीदमार निवासी गिरीसँग वैवाहिक सम्बन्धमा बाँधिएका गिरी दम्पत्तिका सिद्धार्थ र प्रनिता गिरी दुई सन्तान रहेका छन् । लमही नगरपालिका प्रवक्ता समेत रहेका गिरी वडा नं. ७ को वडाध्यक्ष, २०५६ सालमा साविकको सतबरिया गाविस वडा नं. १ को मनोनित वडाध्यक्ष, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष, पार्टीको ११औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १२औँ महाधिवेशनमा महासमिति सदस्य, अर्जुन आधारभूत विद्यालयको पूर्व व्यवस्थापन समितिको अध्यक्षमा रहेर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*