जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विजया दशमीसम्मको मौसम प्रक्षेपण गरेको छ। महाशाखाले दसैंको सप्तमी (२४ असोज), अष्टमी–नवमी (२५ असोज) र दशमी (२६ असोज)को मौसमबारे आकलन गरेको हो।
महाशाखाका अनुसार बिहीबार अर्थात सप्तमी (फूलपाती) देखि दशमीसम्म कोशी र मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी क्षेत्रमा अझै पनि मनसुनी वायुको प्रभाव कायमै छ।
बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ। तर, यी भुभागका धेरै क्षेत्रबाट मनसुन बाहिरिसकेको छ।
मनसुन पूर्ण रूपमा बाहिरिको क्षेत्रमा भने घमाइलो हुने देखिएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकीका तराई क्षेत्र र बागमतीका पश्चिमी क्षेत्रमा मौसम सफा हुने आकलन गरिएको छ।
मौसमविद् शान्ति कँडेलका अनुसार वर्षाको सम्भावना रहेको क्षेत्रमा ठुलो वर्षा हुने देखिँदैन। ‘कोशीमा मनसुन कायमै छ। हल्का वर्षा हुनसक्छ। बागमती र गण्डकीका पहाडी भेगमा पनि क्षणिक वर्षा त हुनसक्छ। तर, वर्षा भन्ने वितिक्कै आत्तिहाल्नुपर्ने, बाढीपहिरो आउने खालको छैन,’ कँडेलले भनिन्, ‘मनसुन बाहिरिएको क्षेत्रमा विशेषगरि तराईमा वर्षाको सम्भावना कम छ। तर, वर्षा नै हुँदैन भन्ने होइन। आइसोलेटेड वर्षाको सम्भावना त जतिखेर पनि हुन्छ।’