Home / Feature Breaking news / ऐतिहासिक धार्मिक देवी पाटन महायात्राको तयारी तिव्र

ऐतिहासिक धार्मिक देवी पाटन महायात्राको तयारी तिव्र

घोराही उपमहानगर १७ स्थित गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरा दाङको अनादिकालदेखि चलिरहेको ऐतिहासिक धार्मिक देवी पाटन धार्मिक रथ यात्रा यो वर्ष भव्य रुपमा गर्ने तयारी भएको छ ।

विगतदेखिको परम्परालाई निरन्तरता दिने मात्रै नभई यो पटकबाट लुम्बिनी प्रदेशकै गौरवको रुपमा अघि बढाउने गरी गृहकार्य शुरु भएको हो ।

ऐतिहासिक धार्मिक देवी पाटन धार्मिक रथ यात्राको तयारी स्वरुप प्रचार प्रसार उपसमितिको बैठकले यसको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल समेत गरेको छ ।

मठाधीश एवम् मूल आयोजक समिति संयोजक सुरतनाथ योगी, सदस्य सचिव डा. गोविन्द आचार्य तथा प्रचार उपसमिति सदस्य सम्मिलित बैठकले गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरा दाङको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वलाई थप उजागर गर्न स्थानीय स्तरमा, जिल्ला स्तरमा र प्रदेश स्तरमा छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

जस अनुसार, प्रचार प्रसारलाई व्यवस्थित गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म यसको पहुँच बढाउन सबैको साथ चाहिएको हुँदा तीन चरणको छलफल अन्तरक्रिया गर्ने योजना बनाएको प्रचार प्रसार उपसमिति संयोजक लिला शाह योगीले जानकारी दिए ।

अन्तराष्ट्रिय स्तरको छलफल अन्तरक्रिया मंसिरमा, स्थानीय स्तरको छलफल अन्तरक्रिया पुसमा, माघमा जिल्ला स्तरको र फागुनमा प्रदेश स्तरको छलफल अन्तरक्रिया गर्ने निर्णय भएको छ ।

स्थानीय तथा प्रदेश स्तरका संचार माध्यमबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने, ठाउँ ठाउँमा प्रचार सामग्रीमार्फत सूचना र सन्देश प्रवाह गर्ने लगायत तयारी भएको छ ।

भारतीय भक्तजनलाई दाङसम्म आकर्षण गर्न र यसको गौरवलाई थप उजागर गर्न राज्य स्तरबाट पहल भईरहेको छ । परम्पराका रुपमा मात्रै धानिएको यो कामले आगामी दिनमा बृहत् आयामका रुपमा उजागर गर्न सके यसले थुप्रै सम्भावनाका ढोका खोल्ने सदस्य सचिव डा. आचार्यको भनाई छ ।

करिब १३ सय वर्ष इतिहास बोकेको गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ चौघेरा दाङको अनादिकालदेखि चलिरहेको ऐतिहासिक देवी पाटन धार्मिक रथ यात्राको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व रहेको छ ।

राजा रत्न परिषकले गोरखनाथको दर्शन पाएर सिद्धी पाएपछि रतननाथ भएपछि चौघेरास्थित मठमा पूजा आराधना तथा ध्यान सम्पन्न गरी सिद्धि प्रभावले आकाशमार्ग हुँदै पाटन देवी शक्तिपीठको पूजा आराधना गरी पुनः स्वधाम चौघेरामा आएको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*