Home / Feature Breaking news / अब डेंगी संक्रमण घट्ला ? यस्ता छन् विज्ञले दिएका आधार

अब डेंगी संक्रमण घट्ला ? यस्ता छन् विज्ञले दिएका आधार

नेपालमा डेंगी संक्रमण पहिचान भएयता यस वर्ष सबैभन्दा धेरै जनसंख्यामा डेंगी संक्रमण देखियो । ७७ वटै जिल्लामा फैलिएको डेंगीले बिहीबारसम्म ५१ जनाको लिइसकेको छ ।

गत सेप्टेम्बरमा उच्च रूप लिएको डेंगी संक्रमण चिसो बढेसँगै हटेर जाला  ? विज्ञहरूले डेंगी संक्रमण घट्ने अवस्थाबारे लामखुट्टेको जीवनचक्र र मौसमलाई लिएर विभिन्न विश्लेषण गरिरहेका छन् ।

अक्टोबरमा घट्यो संक्रमितको संख्या 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अहिले (कात्तिक ३ गते) सम्म देशभर डेंगी संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको छ । यसमा अक्टोबरका १९ दिनमा मात्रै थपिएका संक्रमितको संख्या १० हजार ३८२ छ, जुन अघिल्लो सेप्टेम्बर महिनाको तुलनमा १७ हजार कम हो । सेप्टेम्बरमा २७ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको थियो ।

अहिलेको तथ्यांकलाई हेर्दा अक्टोबरको अन्तिमसम्ममा डेंगी संक्रमण धेरै कम हुने महाशाखाको आकलन छ ।

अब बढ्दैन संक्रमण यस्ता छन् आधारहरू 
काठमाडौं उपत्यकामा अब डेंगी संक्रमण बढेर नजाने तर तराईका जिल्लाहरूमा नोभेम्बर पहिलो सातासम्म देखिने सम्भावना रहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाको आकलन छ । काठमाडौं उपत्यकामा तापक्रम घटेर चिसो बढ्दै गएपनि तराईका जिल्लाहरूमा भने लामुखट्टेका लागि अहिले अनुकूल तापक्रम हुने भएकाले ती जिल्लामा संक्रमण अझै केही साता रहने डा. बास्तोला बताउँछन् ।

२० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहँदासम्म एडिस लामखुट्टेका लागि बाँच्न र वृद्धि विकास हुन तापक्रम अनूकूल रहने उनको भनाइ छ ।

यता काठमाडौं उपत्यका बाहिर डेंगी संक्रमण उच्च भएको जिल्ला मकवानपुमा पछिल्लो सातादेखि संक्रमितको संख्या घट्दै गएको छ । मकवानपुरमा बिहीबारसम्म डेंगी संक्रमितको संख्या चार हजार ५२६ पुगेको स्वास्थ्य कार्यालय मकवानपुको तथ्यांक छ ।

स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारी पछिल्लो तथ्यांकलाई हेर्दा यही सिजनमा अब डेंगी फेरी बढ्ने सम्भावना नभएको बताउँछन् । यस वर्ष मनसुन लम्बिएका कारण पनि डेंगी संक्रमण धेरै जनसंख्यामा देखिएको फैलिन उपयुक्त वातावरण बनेको र अब मनसुन बाहिरिएसँगै लामखुट्टेको वृद्धि विकास कम हुँदै जाने भएकाले फेरि बढ्ने सम्भावना नरहेको उनको तर्क छ ।

यता, डेंगी संक्रमितको संख्या एक हजार ९०० नजिक रहेको चितवनमा पनि पछिल्लो समय संक्रमितको संख्या स्थिर छ । दैनिक संक्रमितको संख्या ३० को हाराहारीमा रहेको र केही सातायता यो संख्या नबढेकाले काक्र्तिक अन्तिमसम्ममा संक्रमण पूर्ण रूपमा घटेर जाने आकलन गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादक्त चापागाइँ बताउँछन् ।

पूर्वसावधानी नअपनाए वर्षैपिच्छे फैलिनसक्छ 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक हेर्दा नेपालमा दुईदेखि तीन वर्षको अन्तरालमा डेंगी संक्रमण समुदायस्तरमा फैलिने गरेको देखिन्छ । सन् २००४ मा पहिलोपटक पहिचान भएको डेंगी संक्रमण सन् २०१० मा ९१७ जनामा देखियो भने सन् २०१६ मा एक हजार ५२७ जनामा देखिएको महाशाखाको तथ्यांक छ ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो । कोरोनाकालका दुई वर्षमा थोरै संख्यामा देखिएपनि यो वर्ष भने हालसम्मकै उच्च संख्यामा संक्रमण देखिएको हो ।

सरकारको तथ्यांकमा भन्दा समुदायस्तरमा ६ गुणासम्म बढी संक्रमित भएको वरिष्ठ संक्रामकरोग विशेषज्ञ डा. शेरबहादुर पुनको दाबी छ ।

के आगामी वर्ष पनि नेपालमा डेंगीले महामारीको रूप लिएला त ? जवाफमा महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल भन्छन्, “डेंगी संक्रमण यति वर्षमा वा यति वर्षपछि फैलिएला भन्न सकिँदैन । यदि हामीले पूर्व सावधानी अपनाएनौँ र लामखुट्टे नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाएनौँ भने वर्षैपिच्छे फैलिनसक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*