Home / Feature Breaking news / कांग्रेसको रणनीति- चुनावभर आफ्नै टोलमै खटिनुपर्ने

कांग्रेसको रणनीति- चुनावभर आफ्नै टोलमै खटिनुपर्ने

नेपाली कांग्रेस ‘नयाँ रणनीति’ लिएर स्थानीय तहको चुनावमा होमिने भएको छ ।

आउँदो वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेसले टोलका नेता/कार्यकर्ता कम्तिमा चुनावभर आफ्नै टोलमै खटिनुपर्ने बाध्यकारी व्यवस्था लागु गर्ने तयारीमा छ ।

अन्तिम समयमा उम्मेदवार तय गर्दा चुनावी प्रचारप्रसारसमेत राम्रोसँग गर्न नपाइएको गुनासा विगतका चुनावमा उठ्ने गरेको थियो। यसपालि कांग्रेसले चुनावभन्दा एक महिनाअघि नै उम्मेदवार टुंग्याएर प्रचारप्रचारमा जाने गृहकार्य गरेको छ ।

चुनावी तयारी तथा आवश्यक रणनीतिका लागि कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकहरू हिजोआज बस्ने गरेका छन् ।

महामन्त्री गगन थापाका अनुसार चुनावी रणनीति र तयारीबारे छलफल गर्न फागुन २४ मा केन्द्रीय सदस्यलाई काठमाडौं बोलाइएको छ ।

त्यसको तीन दिनपछि फागुन २७ मा जिल्लाहरूमा बैठक बस्छ। फागुन २९ देखि कांग्रेसले चुनावलक्षित अभियान सञ्चालन गर्नेछ ।

महामन्त्री थापाका अनुसार फागुन २९ देखि ७७ जिल्लामै ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरू हुनेछ। यो अभियान एक महिनासम्म चल्ने र अभियानभर नेता/कार्यकर्ता जनताका घर-घरमा पुग्नेछन् ।

‘एक महिना हामी जनताका घरदैलोमा पुग्छौं,’ महामन्त्री थापा भन्छन्, ‘अभियानको अन्तिमसम्म (चैतभित्र) वडा र पालिकाको उम्मेदवार छानिसक्छौं ।’

चैतमा उम्मेदवार तय गरेर त्यसपछिका एक महिना (वैशाख) मा उम्मेदवारसहित फेरि घरदैलोमा जाने महामन्त्री थापाले बताए ।

‘यो चुनावमा हामी केही नियम बनाउँछौं- जुन वडामा कार्यक्रम हुन्छ त्यसमा अर्को वडाका नेता/कार्यकर्ता आउन पाउनु हुन्न । यदी आउनुभयो भने असहयोग गरेको ठहर्छ,’ चुनावी रणनीतिबारे कास्कीमा आज नेता/कार्यकर्तामाझ थापाले भने, ‘वडाभित्र टोल कमिटी बन्छ, घरदैलो हुन्छ। टोलका नेता/कार्यकर्ता आफ्नै टोलमा बस्ने हो अरू कार्यक्रममा हिँडिराख्ने होइन ।’

एक टोलमा कार्यक्रम हुँदा अर्को टोलका मानिस जाने गर्दा सभा ठूलो देखिने, भिडभाड हुने भए पनि कार्यक्रम प्रभावकारी नहुने गरेको पाइएको महामन्त्री थापा बताउँछन् ।

‘जहाँको कार्यक्रममा पनि एकै मानिस गएपछि नयाँ मानिससँग कुरा हुनै नपाउने रहेछ,’ थापाले भने, ‘चुनावी प्रचारमा खट्ने भनेको बिहानदेखि बेलुकीसम्म मोटरसाइकल हुइँक्याएर धेरै कार्यक्रममा पुग्ने मात्र होइन, आफ्नै टोलमा कार्यक्रम गरिराख्ने हो, यो नै प्रभावकारी हुन्छ ।’

टोल-टोलमा कार्यक्रम गर्न क्षेत्रीय प्रतिनिधिले जिम्मेवारी पाउँछन् ।

‘टोलमै बसेर दुई महिना मेहनत गरेपछि हजुरबुवा नमाने बा, बा नमाने छोरा वा कोही न कोही त कांग्रेसलाई मत हाल्न तयार होला, यसो गर्दा पार्टीमा भोट बढ्छ,’ महामन्त्री थापाले भने ।

उनले पार्टीभित्र विधानसम्मत तरिका अपनाउँदै काम गर्ने तरिका फेरिने बताएका छन् ।

उम्मेदवार तय गर्दा पनि पार्टी एकतालाई जोड दिने गरी निर्णय गरिने उनले बताए। स्थानीय चुनावमै कम्तिमा पनि १५ लाखभन्दा बढी मत वृद्धि गर्न सकेमा पार्टीको बलियो उपस्थिति हुने बताएका छन् ।

साथै कांग्रेसले नेविसंघ, तरूण दललगायत भातृ संगठनमा तदर्थ समिति गठन गरेर जाने तयारी गरेको छ। भातृ संस्थालाई पनि स्थानीय चुनाव प्रचारप्रचारमा परिचालन गर्ने तयारीअनुसार विधानहरू तयार भइसकेका छन् ।

केन्द्रीय समितिले भातृ संस्थाका प्रमुख तोक्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ। कांग्रेसमा ५ भातृ संस्थाका प्रमुख पार्टी केन्द्रीय सदस्य बनेपछि स्वत: पद रिक्त छ ।  छ महिनाभित्र महाधिवेशन गर्ने गरी भातृ संस्थामा तदर्थ समिति गठनको तयारी गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*