Home / Feature Breaking news / कोरोनाविरुद्ध लड्न ६ हजार सेना तयार

कोरोनाविरुद्ध लड्न ६ हजार सेना तयार

काठमाडौँ, १३ चैत

नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम र उपचारका लागि ६ हजार दक्ष जनशक्ति तयार पारेको छ।

भविष्यमा कोरोनाको कारण ठूलो विपद्को सामना गर्नुपरे भूतपूर्व सैनिकहरुलाई पनि कोरोना नियन्त्रण तथा रोकथाममा सहभागी गराउने योजना सेनाले बनाएको छ।

‘कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सेनाले आफ्नो संगठनभित्र ६ हजार दक्ष जनशक्ति तयार पारिसकेको छ,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले नेपालन्युजसँग भने, ‘जनशक्ति अपुग भएमा भूतपूर्व नेपाली सेनालाई समेत बोलाउने हाम्रो योजना छ ।’

कोरोनाको बढ्दो संक्रमण र क्रासप्रति सचेत हुँदै सेनाले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना गरिसकेको छ। सेनाका चिकित्सकहरुले ‘कोरोना भाइरस कार्यविधि’ तयार पारिसकेका छन्। रथीको नेतृत्वम कोरोनाविरुद्ध सचेतना, पूर्वतयारी र परिचालन हुनु परे के-कसरी काम गर्ने भन्ने निर्णय लिन ‘कोर टिम’ गठन गरिएको छ। ‘कोरोना भाइरसविरुद्ध लड्न कस्तो सुरक्षा रणनीति अपनाउने भन्ने नीति कोर टिमले बनाउँछ,’ सैनिक प्रवक्ता पाण्डेले भने।सेनाले विभिन्न युनिटहरुमा कार्यरत् सकलदर्जालाई सहभागी गराई कोरोना भाइरसको जोखिम घटाउने र नियन्त्रण कसरी गर्ने भन्नेबारे दुई दिने तालिम दिइसकेको छ। जंगीअड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका ६ जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत १ सय ३१ जना गरी जम्मा १ सय ८१ जना सकलदर्जालाई कार्यक्रममा सहभागी गराइएको थियो।

प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार ६ वटा टेन्ट खडा गरी ९ वटा क्लस्टरमा विभाजन गरी प्रत्येक टेन्टमा २ जना व्यक्ति रहने गरी तयार गरिएको थियो। सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटमा गई कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन सम्बन्धी कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सुरु गरिसकेका छन्।

सेनाले आफ्ना सबै अस्पताल, पृतनाहरुमा रहेका चिकित्सकहरुलाई तयारी अवस्थामा राखेको छ। पृतनाहरुमा १ सय ७५ वटा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपई) वितरण गरेको छ। आवश्यक एम–९५ मास्कसमेत उपलब्ध गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामको सेनाले १७ करोड रुपैयाँ बराबरको थप आवश्यक मेडिक सामग्री खरिद प्रक्रिया बुधबारबाट अघि बढाएको छ।

‘हामीले उपकरण खरिदसँगै जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने कार्य पनि गरिरहेका छौं। देशलाई चाहिएको बखत जुनसुकै बेला खटिन सेना तयार भएर बसेको छ,’ सैनिक प्रवक्ता पाण्डेले जनाए।

सेनाले मेडिकल क्षेत्रसँग सम्बन्धित भूतपूर्व सैनिकहरुको पहिचान गर्ने कार्य गरिरहेको समेत उनले बताए। ठूलै विपत् आइपरे र जनशक्तिको अभाव भए भूतपूर्व सैनिकहरुलाई पनि बोलाइने योजना सेनाको रहेको उनले जनाए। ‘सेनाबाट अवकाश लिइसक्नु भएका मेडिकल लाइनका मान्छे को-को हुनुहुन्छ हामीले पहिचान गर्दैछौं। आवश्यक परे बोलाउँछौं,’ उनले भने।

सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न प्रत्येक पृतनालाई २५ लाख रुपैयाँ रुपैयाँ पठाइसकेको छ। उक्त रकम पृतनाको आपत्कालीन कोषमा राखिएको छ। विपद् परे सोही कोषबाट रकम खर्च गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*