Home / Feature Breaking news / घोराहीमा दूध बोक्न जर्किन निषेध

घोराहीमा दूध बोक्न जर्किन निषेध

दाङ,३ असोज । घोराही उपमहानगरपालिकामा दूध बोक्न जर्किन निषेध गरिने भएको छ । मानवीय स्वास्थ्यसँगै वातावरणीय रूपमा बजारलाई सफा र स्वच्छ राख्नका लागि घोराहीका डेरी व्यवसायीहरूले दूध बोक्नका लागि जर्किनको प्रयोग नगर्ने निर्णय गरेका हुन् ।

डेरी व्यवसायी संघ घोराहीले दूध बोक्नका लागि जर्किनमुक्त गर्न समेत सम्पूर्ण डेरी व्यवसायी, दूध वितरक, दूध उत्पादक किसान तथा ग्राहकहरूलाई आग्रह गरेको छ । विश्व सरसफाई दिवसका अवसरमा शनिवार डेरी व्यवसायी संघ घोराहीका पदाधिकारी तथा घोराही उपमहानगरपालिका वातावरण विपद् व्यवस्थापन तथा सरसफाई महाशाखा संयोजक समेत रहेका घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगीकाबीच भएको छलफलले घोराही क्षेत्रमा दूध बोक्नलाई प्लास्टिकका भाँडाहरू प्रयोग नगर्ने निर्णय गरेको हो ।

बजारलाई स्वच्छ तथा सरसफाईसँगै मानिसहरूलाई गोठदेखि ओठसम्म शुद्ध दूध उपलब्ध गराउनका लागि जर्किनमुक्त गर्ने निर्णय गरेको डेरी व्यवसायी संघ घोराहीका अध्यक्ष इश्वरीप्रसाद घिमिरेले बताए । उनले डेरी व्यवसायीको निर्णयलाई सहयोग गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेका छन् । डेरी व्यवसायीसँगै डेरीबाट ग्राहकले दूध खरिद गर्दा प्लास्टिक प्रयोग नगर्न र प्रयोग गरेको प्लास्टिकलाई पुनः डेरी उद्योगलाई नै फिर्ता गर्न ग्राहकलाई आग्रह गर्ने निर्णय बैठकले गरेको संघका सहसचिव विष्णु पौडेलले बताए ।

‘घोराहीलाई वातावरणीय रूपमा सफा र स्वच्छ राख्नलाई जर्किनमुक्त गर्ने अभियानमा लागेका छौँ, यो अभियानअन्तर्गत् हामी व्यवसायीले पनि जर्किन प्रयोग नगर्ने र किसान तथा उपभोक्तालाई पनि प्रयोग नगर्न आग्रह गर्दछौँ’, सहसचिव पौडेलले भने, ‘उपभोक्ताको स्वास्थ्यसँगै वातावरणीय रूपमा समेत उपयुक्त काम भएकाले संघले निर्णय गरेको हौँ ।’ सहसचिव पौडेलले गाउँ–गाउँमा रहेका दूध उत्पादन गर्ने किसानलाई समेत जर्किन प्रयोग नगर्न आग्रह गरेका छन् ।

डेरी व्यवसायमा संकलन भएको प्लास्टिकजन्य पदार्थ घोराही उपमहानगरपालिकाले खरिद गर्ने भएको छ । यसैगरी व्यवसायीहरूसँगै दूध उत्पादक किसानहरूलाई पनि प्लास्टिकका भाँडाहरूको प्रयोग नगर्न बैठकले आग्रह गरेको संघका सचिव शक्ति पौडेलले बताए । सचिव पौडेलले सम्पूर्ण डेरी व्यवसायी तथा दूध उत्पादक कृषि फर्म, सहकारी, दूध संकलन तथा वितरणकर्ताहरूलाई १५ दिनभित्र पूर्णरूपमा जर्किन मुक्त गर्न निर्देशन दिएको बताए ।

‘जर्किनभुक्त गर्नका लागि बैठकले सम्पूर्ण डेरी व्यवसायी तथा दूध उत्पादक कृषि फर्म, सहकारी, दूध संकलन तथा वितरणकर्तालाई १५ दिनको समय दिएका छौँ’, उनले भने, ‘त्यसपछि कुनै पनि व्यवसायीले जर्किनको प्रयोग गरेको पाइएमा कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने छौँ ।’ बैठकमा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष समेत रहेका वातावरण विपद् व्यवस्थापन तथा सरसफाई महाशाखा संयोजक डाँगीले घोराहीलाई वातावरणय रूपमा सफा र स्वच्छ राख्दै मानिसहरूलाई शुद्ध दूध उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*