Home / साहित्य विशेष / जीवनबारे पारिजात

जीवनबारे पारिजात

समग्र नेपाली साहित्यकै विशिष्ट प्रतिभा तथा सुप्रसिद्ध साहित्यकार हुन् पारिजात । पारिजात समय चेतना र विचार दृष्टिकोणमासमेत उच्च क्षमता राख्ने साहित्यकार हुन् । पारिजातको यो भनाई साहित्यक पत्रिका वेदनामा २०४४ कार्तिक–चैत्रको अंकमा प्रकाशित भएको थियो ।

parijat-bishnukumari waibaबेदनाका सम्पादक राजेन्द्रप्रसाद अधिकारीले २९ वर्षअघि सोधेको जीवनबारे एक प्रश्नको जवाफ पारिजातकै शब्दमा ः

समाज परिवर्तनको विभिन्न कालमा विभिन्न युगद्रष्टा, विभिन्न दार्शनिक, विभिन्न धर्म प्रर्वतक तथा वैज्ञानिकहरुले आफ्ना–आफ्ना परिभाषा दिएर गएका भएतापनि यस कठिन प्रश्नको सरल प्रत्युत्तर दिन मबाट सम्भव छैन ।

प्रकृतिमा रहेका लाखौं जीवधारीहरुमध्ये मान्छे जात (पृथ्वीबाहेक अरु ग्रह नक्षत्रहरुको संभावित प्रकृतिलाई छोडिकन) उच्च मस्तिष्कधारी र विकासशील सामाजिक प्राणी भएकोले मान्छेले मान्छेको जीवनको परिभाषा दिन सक्दैन, यसो पनि भन्न सकिन्न ।

यस अनन्त (Infinite) र अन्तहीन समय (Enternity) भित्र म जीवनलाई कसरी खोजुँ ? कुनै पनि वस्तुको रुप र आकार हुन्छ, जस्तो गरिकन विन्दु, रेखा र मान्छेको जीवन पनि तर अनन्त… मलाई सम्झँदा पनि कहाली लागेर आउँछ । यस अनन्तभित्रबाट एउटा जीवनलाई चोइट्याएर परिभाषित गर्नु, के म साँच्चै दुस्साहस गरुँ यस प्रश्नको जवाफ दिन ? कोही भन्छन्,– जीवन मायाजाल हो, कोही भन्छन्, जीवन सपना हो, कोही भन्छन् –जीवन आज हो की भोलि, कोही भन्छन् – जीवन बग्ने नदी हो, भैगो छोडिदिउँ यी सबै ।

सामान्यताः जन्मदेखि मृत्युसम्म (त्यो अवधि चाहे लामो होस् अथवा छोटो) उमेर र अनुभूतिहरुसँग हेलिँदै, परिवर्तन हुँदै, विकसित हँुदै जाने एउटा निश्चित अवधिको नाउँ हो – जीवन । जीवन सँधै गतिशील छ, जीवनमा विभिन्न अनुभवहरु हुन्छन्, माया, प्रेम, घृणा, भोक, शोक, यौन, संगति, विसंगति, सह–अस्तित्व, आशा, निराशा र हुन्छ–परिस्थितिहरुसँग जुझ्दै बाँच्चै चाहने एउटा प्रवल जिजीविषा । एक हत्केलामा मृत्यु लिएर जन्मेका मान्छे जात बाचुञ्जेल यस मृत्यु विभिषिकाप्रति अचेत जस्तै रहन्छन् । जीवनसँग जिउनुको यो कस्तो अनुबन्ध, अनौठो छ । तपाईहरुले मलाई जीवन के हो भनी सोध्नु भएको छ, यसको मूल्य होइन, त्यसैले म यत्ति नै भन्न सक्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*