Home / साहित्य विशेष / देशवीरको देश !

देशवीरको देश !

भुरुर्र गुँडबाट बचेरा उडेझै

एयरपोर्टबाट उडेको हो–देशवीर
मुलघरे कान्छा साहुको ऋण
महङ्गी, वेरोजगारी
अभावै–अभावले थिचेपछि
भासिन पुगेको हो–मुग्लान !

ऊ हिंडेपछि,
देश,
देशजस्तो रहेन
सहर,
सहरजस्तो रहेन
गाउँ,
गाउँजस्तो रहेन !

शान्ति आएन
समृद्धि छाएन !
कसैले सुखको
श्वास फेर्न पाएन ।
यस्तो लाग्छ
मानौं,
देशवीरले देश बोकेर गयो !
जसरी,
साँझपख पँहेलो घाम छल्दै जोडी ढुकुर
भञ्ज्याङ काटेर उधैं–उधो गए !

सुनसान गाउँ
उस्तै सुनसान छ घर !
आमा–अस्पताल भर्ना !
बहिनी–ब्युटिपार्लर !
भाइ–डेटिङ !
घर–कुरुवा
बाँकी छन, त्यही कुकुर–विराला !
जसको,
सधैं काम पनि छैन
र,
फुर्सद पनि छैन !
सधै फुर्सदजस्तो
सधै ब्यास्तजस्तो !

कोही नभएपछि,
उनीहरुकै छ घरको जिम्मा
उनीहरुकै छ–भागबण्डा !
दलीन–टाँड, पिंढी–छिंडीे,
धुरी–ढोक्से, भकारी–भान्साकोठा
सिकुवा–आगन, कुलेसा–करेसाबारी !
सबैसबै,
कुकुरको आफ्नै दावी छ,
विरालाको आफ्नै दावी छ ! 
थाहाछैन,
कसको भागमा के पर्छ !
के पर्नुपथ्र्यो !
कसैलाई थाहाछैन !
तर,
उनीहरु लडिरहन्छन !
एक–अर्कालाई झम्टिरहन्छन !

देशवीरले देश छाडेदेखि
यसरी नै चलिरहेछ,
यस्ताले नै चलाईरहेछ–देशवीरको देश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*