Home / विचार / सौन्दर्यको सिमसारमा हामी

सौन्दर्यको सिमसारमा हामी

-सावित्री गौतम

sabitrii-405x495जब मान्छेहरु कसैको शारिरीक बनावट वा रुपरङलाई ‘टपिक’ बनाएर कुरा गर्न बस्छन्, होचा-अग्ला, गोरा-काला, राम्रा-नराम्रा, मोटा-पातला आदि, त्यतिबेला मलाई अरुबेला खास याद नआउने ‘दुनिया कहाँबाट कहाँ पुगिसक्यो’ भन्ने भनाइ ठयाक्क याद आउँछ। मेरो विचारमा संसारकै सबभन्दा बेकार काम भनेको शारीरिक बनावटलाई लिएर गरिने टिप्पणी हो। म आफू ‘राम्री’ र ‘फेमिनिन’ देखिन कुनै खास कोशिस गर्दिन। धेरैजसो समय त ‘जेन्ट्स’ लुगा जुत्ता र झोलामै घुमिराखेको हुन्छु। धेरैपटक सार्वजनिक कार्यक्रममा जाँदा नुहाएर कपाल नै नकोरीसमेत पुगेको छु। किनकि कपाल चिटिक्क पारेर कोर्नुभन्दा महत्वपुर्ण मान्छेलाई दिएको समयमा पुग्नु हो जस्तो लाग्छ। कैयौंपटक लेखक साथीहरुको ‘राम्री देखियौ’ भन्ने टिप्पणी वा ‘आफू नराम्रो देखिएँ कि’ भन्ने चिन्ता सुनेपछि उनीहरुलाई जिस्काएर सोधेकी छु – ‘मार्क्सवादी सौन्दर्यशास्त्र यसबारेमा के भन्छ?’ किनकि सुन्दरताको परम्परागत ‘फ्रेम’ मेरो प्राथमिकतामा पर्दैन। ‘राम्री देखिएको’ टिप्पणी कुनै ‘बडेमान’को उपलब्धि हो जस्तो पनि लाग्दैन।

मेरो आफ्नै व्यक्तित्व सुन्दरताका जुन परम्परागत मान्यता पालना गरिन्छन्, त्यसभित्र पर्दैन। सुन्दरताका सामान्य नेपाली वा दक्षिण एशियाली मापदन्डभित्र पर्ने ‘दागरहित अनुहार, काला आँखा, कालो-लामो कपाल, मिलेका दाँतका पंक्ति’ जस्ता विशेषता ममा छैनन्। मेरो कपाल कैलो छ, आँखाको रङ खैरो छ, अनुहारमा प्रशस्त डण्डिफोर छन् र दाँतहरु उछिट्टिएका छन्। २ वटा बच्चा जन्मिसकेपछि त सुडौल शरीर वा ‘जीरो फिगर’समेत बाँकी रहेन। मान्छेहरु टिप्पणी पनि गर्छन् बेलाबेला, ‘मान्छे त खास राम्री छैनौ तर फोटोमा राम्री आउने’। तर यी सबैलाई लिएर मेरो मनमा एकरत्ति पनि हीनभावना छैन। कथित ‘राम्री’ नभएका कारण म संसारको कुनै कुनामा रोकिन्छु वा कुनै काममा मेरो पर्फमेन्स कम हुन्छ जस्तो कहिले पनि लाग्दैन। यस्तै फोटो खिच्नेबेला कोहीकोही जिस्काउँछन् कि, ‘तपाइको र मेरो दाँत उस्तै-उस्तै’, त्यसले पनि मलाई कत्ति पनि छुँदैन। किनकि दाँतको काम खाना चबाउने हो र त्यो काम गर्न सकिराखेकै छु जस्तो लाग्छ। अझ दाँत नै नभएपनि खानेकुराका थुप्रै विकल्पहरु उपलब्ध छन् जस्तो लाग्छ।

आँखाको रङ रङभन्दा बढी आँखा हुनु र दुनिया देख्न पाउनु ठुलो कुरा हो जस्तो लाग्थ्यो पहिला। तर रेडियोमा लगातार ६ वर्ष संगै काम गरेकी दृष्टिविहीन साथी सुनिता ज्ञवालीसंगको घनिष्ठताले त आँखाको रङ मात्र होइन आँखा हुनु वा नहुनुसमेत कति महत्वहीन कुरा हो भन्ने महसुस भयो। उनको उत्साह र हँसिलोपना लोभलाग्दो छ। गुल्मी घर भएकी, पोखरामा वर्षौं अघिदेखि डेरा गरेर बस्ने उनले पाँच वर्षअघि सडक दुर्घटनामा आफ्नी दृष्टिविहीन दिदीलाई गुमाइन्। यतिखेर कलेज पढ्ने दृष्टिविहीन बहिनीको जिम्मेवारी लिएर बस्छिन् , एउटा सरकारी स्कुलमा पढाउँछिन्। देख्नै नसक्ने उनलाई म आफूले दिनदिनै देखिरहेको दुनियाले कहिलेकाहीं विरक्त बनाएको बेला फोन गर्छु, भेट्छु र उनीबाट थप हौसला लिन्छु। आफूलाई मनपरेका किताब वा लेखहरु उनलाई पढेर सुनाउँछु।

बाहिरी रुपरङलाई लिएर कसैलाई टिप्पणी गर्ने वा जिस्काउने बानी त कहिले रहेन। हामीलाई घरबाट नै त्यस्ता काम गर्नुहुँदैन भनेर सिकाईएको थियो। बुवा एकदम सानोदेखि हामीलाई राजा जनकको सभामा कसरी अष्टाबक्रजस्ता विद्वानलाई उनको शारिरीक रुपरङलाई लिएर अपमानित गरिएको थियो र त्यो अत्यन्त असभ्य र गलत काम थियो भनेर महिनामा एकचोटि जस्तो दोहोर्याएर सुनाइरहनुहुन्थ्यो। बाहिरी रुपरङ असाध्य गौण कुरा हो भनेर बारम्बार भनिरहनुहुन्थ्यो। यही कुराको छाप हुनसक्छ, म सधै भनिराख्थें साथीहरुलाई कि, ‘कसैले लेखेको किताब वा बनाएको चित्रको बारे गर्नु नि आलोचना, जन्मजात लिएर आएको रुपरङलाई लिएर के गर्नु।’

सुन्दरताको परम्परागत फ्रेमभित्र नपरेका कारण पनि हुनसक्छ आज म सुन्दरताका परम्परागत मान्यता पालना गर्दिन। तर यो तहको आत्मविश्वास यत्तिकै आएको होइन। बाल्यकालमा परम्परागत ‘राम्री’ देखिने रहर भने थियो मनभित्र। त्यो रहरबाट पुरै ‘ब्रेनवास’ भएको एउटा सम्झनलायक घटना छ। नारायणगढको ‘ठुलो बालकुमारी’ स्कुलमा पढ्थें म। मेरो लामो र बाक्लो कपाल हेरेर साथीहरु बेलाबेला भनिराख्थे, ‘यो कपाल कालो भइदिएको भए कति राम्रो हुने थियो।’ घरमा आमाले हामीलाई नेलपलिस वा अन्य सौन्दर्य प्रसाधन एकदम कडाइका साथ प्रयोग नै गर्न नदिने, हातखुट्टाका नङ पाल्न नदिने, थरिथरिको डिजाइन गरेर कपाल बाट्न वा काट्न नदिने, पाउजु, चुरा वा हेयरब्याण्ड समेत लगाउन नदिने। ‘पढ्नुपर्छ, व्यक्तित्व राम्रो बनाउनुपर्छ’ मात्र भन्ने। कपाल कालो बनाउने रङ त कल्पना बाहिरको कुरा भयो। ‘हाम्री आमा मात्र किन यस्ती, नेलपलिस लगाउन पाएर नि त पढिहाल्थ्यौं नि राम्ररी नै’ भनेजस्तो समेत लाग्थ्यो। अझ कहिलेकाहीं काकीहरुले ‘यति त लगाउन दिए हुने छोरीहरुलाई’ भनिदिंदा त झन ‘द्रवित’ भइने।

९ कक्षामा पढ्दा मामाघरको हजुरबुवा बितेको एक वर्षको काम गर्नुपर्ने कारण आमा तनहुँ जानुभयो मामाघर। मैले त्यही मौकामा आफ्नो कपाल रंग्याएँ। आमालाई थाहा नहोस भनेर बीचबीचको कपालमा मात्र कालो रङ लगाएँ अहिलेको ‘हाइलाईट’ भनेको जस्तो। आमा फर्केपछि ‘अब आमाले मार्नुहुन्छ’ जस्तोगरी सातो गएको थियो। तर भोलिपल्ट आमाले बिस्तारै ‘यहाँ बस्’ भन्नुभयो र सौन्दर्य प्रसाधनहरुको बनावटीपन र महत्वहीनताको बारेमा बताउनुभयो। पढ्नुपर्छ राम्ररी, त्यही नै सबभन्दा ठुलो सुन्दरता हो भनेजस्ता कुरा गर्नुभयो। अन्तमा मैले कालो रंग्याएको कपालतिर हेरेर भन्नुभयो, ‘के हुन्छ तेरो कपाल कालो नभएर? हद भए तेरो बिहा नहोला, के हुन्छ बिहा नभएर?’ १३ वर्षकी मलाई सम्झाउँदै कपाल, नङ वा ओंठ रंग्याउने रङहरुको विषयमा आमाले त्यो दिन जे भन्नुभयो, त्यही दिनबाट ममा कहिले नमेटिने गरी आत्मविश्वासको अत्यन्त गाढा रङ पोतिदिनुभयो। अहिले जब कुनैकुनै साथीहरु भन्छन् ‘यति राम्रो बोल्छ्यौ-लेख्छ्यौ, थोरै रातो लिपिस्टिक लगाउ न, ‘सुनमा सुगन्ध’ हुन्छ’, ‘कार्यक्रमहरुमा ‘राम्री’ भएर जानुपर्छ’, ‘कपाल फुलेछ-‘केयर’ गर्नुपर्ने बेला भएछ’, वा ‘तिम्रो अनुहारको छालालाई यो क्रिम ‘सुट’ गर्छ’, ‘अब त छालाको स्याहार गर, ‘फेसियल’ गराउ, उमेर भयो’ आदि। त्यतिबेला म कुनै सौन्दर्य प्रसाधन प्रयोग नगर्ने, ‘ कहिले फेसियल’ नगर्ने, झपक्क गरगहना नलगाउने, अत्यन्त आत्मविश्वासी आफ्नी आमालाई सम्झेर मुस्कुराउँछु।

व्यक्तित्व ‘कन्स्ट्रक्टिभ’ बन्ने कि ‘कस्मेटिक’ भन्नेमा संगत, ‘सर्कल’ वा ‘स्कुलिङ’को कुरा पनि जिम्मेवार हुन आउँदोरहेछ। बुवा-आमाले सिकाएको कुरा त छँदै थियो। मेरा साथीहरुको ‘सर्कल’ पनि त्यस्तोबिधि ‘कस्मेटिक’ थिएन। किशोरी उमेरमा नै कलेजमा हामी साथीसाथी हाँस्दै कुरा गर्थ्यौं ‘कहाँकहाँ लगाउनु ‘फेयर एण्ड लभ्ली’? अनुहार मात्र सेतो बनाएर त पुगेन ! घाँटीमा, ज्यानमा, खुट्टामा, एउटा ट्युबले एकदिन पनि पुग्दैन।’ कलेज पढ्दा ‘असाध्य होची भएँ’ भनेर कहिलेकाहीं चिन्ता मान्ने एकजना स्कुलदेखिकी मिल्ने साथीलाई म अब्राहम लिंकनको भनाइ बारम्बार दोहोर्याएर सुनाउँथे कि ‘मान्छे त्यति नै अग्लो भए पुग्छ, जति अग्लो हुँदा उसको पैतालाले जमीन टेकिन्छ।’

महिलाले अरुका लागि (पुरुषका लागि) सुन्दर-सुडौल बनिदिनुपर्ने, नापजाँचयुक्त शरीरकी भइदिनुपर्ने, उनीहरुको आनन्दका लागि सजधज र नाचगान गरिदिनुपर्ने प्रचलन निकै पुरानो हो। हामीले सुन्ने गरेका कथित स्वर्गका राजा इन्द्रको दरवारमा नाच्ने अप्सराहरु, पहिले पहिले राजाहरुले दरबारमा नचाउने नर्तकीहरु, भारतमा प्रचलित ‘कोठी’हरुमा नाच्ने तवायफहरु, त्यहाँको युपी बिहारमा प्रचलित बिवाहहरुमा प्रदर्शन हुने ‘नौटंकी’मा नाच्ने महिलाहरु, पश्चिममा प्रचलित पुरानो क्याब्रे डान्सदेखि आजसम्म आइपुगेको पोल डान्समा नाच्ने क्याब्रे र पोल डान्सरहरु र अहिले नेपालमा नै पनि भित्रिसकेको डान्सबार संस्कृति सबै पुरुषप्रधान समाजमा महिलाको वस्तुकरण कसरी गरिन्छ भन्ने कुराको उदाहरण हुन्। नेपाली समाजको परम्परागत मागी विवाह पनि महिलाको वस्तुकरण नै हो जस्तो लाग्छ मलाई। बिहा गर्दा कुनै केटीको उमेर, वजन, उसको दाँत, निधार, नाक, कान, घाँटी, छाती, कम्मर, नितम्ब आदिको नापजाँच गरिनु र यो नापजाँचको अधिकार केटा वा उसका परिवारलाई मात्र हुनु यही वस्तुकरणकै उदाहरण हो। ‘बिहाका लागि’ भन्दै कुनै केटी (वा वर्षौंसम्म थुप्रै केटीहरु)लाई चिया पकाएर ल्याउन लगाउँदै केटा, उसका आफन्त, नातागोता आदिले सर्वांग ‘चेकजाँच’ गरेर हेर्नु वस्तुकरणकै नमुना त हो। कम्तीमा स्टेजमा ‘क्याटवाक’ गर्ने मोडलहरुले यो काम व्यवसायिक रुपमा गरेका हुन्छन र दर्शकको उनीहरुसंग अरु कुनै लेनादेना हुँदैन। सौन्दर्यको परम्परागत फ्रेममा नअटेका युवतीहरुको बारेमा समाजमा ‘यसलाई कसले बिहा गर्ला’ भनेर प्रशस्त टिप्पणी गरिन्छन्। यसले महिलालाई उसको लोग्नेले ‘भोग्ने’ वस्तुभन्दा बढी नठानिने मानसिकताको प्रतिनिधित्व गर्छ।

आफूलाई ‘उपभोग’ गरिएको यो प्रचलनमा हामी महिला स्वयं नै पनि यति बानी परिसक्यौं कि, ‘अरुका आँखाको आनन्दका लागि ‘राम्री’ बनाइएका हौं’ भन्ने थाहै नहुनेगरी हामी यो ‘राम्री बन्ने’ अवधारणाको दलदलमा नराम्ररी गडिसक्यौं। ‘मेरो बुढा(लोग्ने)लाई त मेरो लामो कपाल र मैले सारी लाएको असाध्य मनपर्छ’, ‘उहाँले नै उपहार दिएको हरियो चुरा कसरी नलगाउनु’ जस्ता संवाद हामी नेपाली महिलाको ‘फेबरेट’ संवाद हुन्। यसको सम्भ्रान्त संस्करण भनेको आजकल राष्ट्रियदेखि टोल र गल्लीस्तरका र बालिका, किशोरीदेखि हजुरआमा बनेका महिलाहरुसम्मले भाग लिने विभिन्न ‘भेराइटी’का सौन्दर्य प्रतियोगिता हुन्।

नेपालमा यस्को विशेष प्रभाव सन् १९९४ देखि देखियो। सन् १९९४ मा भारतकी सुस्मिता सेनले ‘सुन्दरी’हरुको विश्वस्तरीय प्रतियोगिता मिस युनिभर्स जितिन् र लगत्तै ऐश्वर्या रायले मिस वर्ल्ड। सन् १९९४ बाट नै नेपालमा रुबी राणालाई मिस नेपाल घोषित गरेर यसको प्रचलन शुरु भयो। ‘भारतीय युवतीहरु निकै शशक्त भए’ भन्ने ‘प्रोपगाण्डा’ स्थापित भयो- सन् १९९७ मा भारतकी डायना हेडेन, १९९८ मा युक्ता मुखी, र सन २००० मा त विश्वस्तरका तीनवटै ठूला प्रतियोगिता मिस इण्डियाका उही वर्षका तीनजना उपाधि विजेताहरु लारा दत्ता, प्रियंका चोपडा र दिया मिर्जाले जितेपछि। हामीले कलेजको चिया गफमा साथीसाथीबीच त्यतिबेला पनि कुरा गर्यौं, कि भारतले विश्वबजारप्रति खुला नीति लिएको छ र सौन्दर्य प्रसाधनको बजार बिस्तारका लागि भारतीय युवतीहरुलाई जिताइएको छ।

सौन्दर्य प्रतियोगितासँग दिमागको कुनै साइनो छैन भन्ने कुरा सन् २००० कि मिस वर्ल्ड प्रियंका चोपडालाई अन्तिम चरणमा सोधिएको प्रश्न ‘संसारका जीवित महिलामध्ये तपाईंलाई को आदर्श महिला लाग्छ’ को जवाफमा उनले त्यतिबेला मृत्यू भैसकेकी मदर टेरेसाको नाम लिएकोबाट प्रमाणित हुन्छ। फाइनल प्रश्नोत्तर चरणमै गलत जवाफ दिंदा पनि उनलाई विजेता घोषणा गरियो। त्योभन्दा पहिलाका प्रारम्भिक प्रतियोगिताहरु जितिसकेको कारण उनको अंक सबभन्दा बढी थियो र ‘मेरो नजरमा मदर टेरेसा कहिले मर्न सक्दिनन्’ जस्ता वाहियात तर्क दिएर पछि प्रियंकाले आफ्नो बचाउ गरिन्।

परम्परागत ‘गोरी’ नभइकन पनि मिस युनिभर्स जितेकी सुस्मिता सेनको बारेमा नेपालको एक प्रसिद्द फिल्मी पत्रिकाले ‘जब बौद्दिकताले सुन्दरतालाई घुँडा टेकायो’ भनेर लेखेको थियो। तर लगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको त्यसपछिको ‘बौद्दिकता’को कुनै अभिलेख उपलब्ध छैन। आर्किटेक्चर पढिरहेकी ऐश्वर्या रायले मिस वर्ल्ड बनेपछि पढाइ छोडिन्। किनकि बलिउडको चमकदमकबाट हुने आर्थिक आम्दानी, ग्ल्यामर र चर्चा उनीहरुले पढिसकेर बनाउने ‘रेगुलर करियर’बाट पाउन सक्दैनन्। भारतकै रिता फारिया निकै अगाडि सन् १९६६ मै मिस वर्ल्ड प्रतियोगिता जित्ने पहिलो एशियाली महिला थिइन्, तर उनले आफ्नो मेडिसिनको अध्ययन छोडिनन्। डाक्टर बनेर पेशागत योगदान दिएकी उनलाई बजारले लामो समय याद राख्न चाहेन। भारतमा सुन्दरी प्रतियोगिता बलिउड प्रवेशको ‘गेटपास’ हो भन्ने कुरा त्यहाँ सर्वस्वीकार्यजस्तै बनिसकेको छ। त्यो बाहेक विश्वस्तरका प्रतियोगिता जितिहालेमा पाइने एक लाख डलर, न्युयोर्क सहरमा एक वर्षका लागि उपलब्ध हुने सुबिधासम्पन्न घर, वा बिभिन्न कार्यक्रमको बहानामा गर्न पाइने विश्वभ्रमण नै यसको प्रमुख आकर्षण हो।

सन् १९९४ बाटै नेपालमा पनि शुरु भएको ‘मिस नेपाल’ प्रतियोगिताका पनि आयोजक वा प्रतिस्पर्धीले गर्ने रेडिमेड दाबी उनै हुन्। नेपाललाई विश्वमा चिनाउने, महिलाको व्यक्तित्व विकास गर्ने आदि। भारत वा अन्य देशका महिलाको जस्तो निकै ठूलो ग्ल्यामर वा पैसा नकमाए पनि मिस नेपालका प्रतिस्पर्धीहरुले पनि केही समयको चर्चा वा केही रकम कमाउँछन्। आजभोलि नेपालमा पनि सौन्दर्य प्रतियोगिताका सहभागीलाई फिल्महरुमा खेलाईने प्रचलन आएको छ। जसले उनीहरुको रुचि वा जीविकालाई सजिलो बनाएको पनि होला। फिल्ममा जान चाहने युवतीहरुका लागि मिस नेपाल एउटा फाइदाजनक प्ल्याटफर्म पनि होला, निर्माता निर्देशकको नजरमा पर्नका लागि। यो बाहेक मिस नेपाल प्रतियोगिता आयोजक वा प्रतिस्पर्धीले दाबी गरेजस्तो अरु केही होइन। नत्र फिल्म वा मोडलिङ क्षेत्रमा लागेकाहरुको अलिअलि चर्चाबाहेक सन् १९९४ देखि आजसम्म ‘म समाजसेवा गर्छु वा यो गर्छु त्यो गर्छु’ भन्ने दाबी गरेका मिस नेपालका प्रतिस्पर्धी युवतीहरुमध्ये कतिजना के के बने, समाजमा अरु के के योगदान दिए भन्ने कुराको अभिलेख मिस नेपाल आयोजना गर्ने व्यापारिक कम्पनीले राखेको हुनुपर्ने।

सौन्दर्य प्रतियोगिता व्यापार हो, यसमा कुनै शंका नै छैन। व्यापारिक कम्पनीहरुले यस्ता प्रतियोगिता आयोजना गर्छन्। मिस वर्ल्ड प्राइभेट लिमिटेडले ‘मिस वर्ल्ड’ प्रतियोगिता गर्छ। नेपालमा पनि एउटा ‘प्राइभेट लिमिटेड’ ले मिस नेपाल प्रतियोगिता आयोजना गर्छ। जसरी गीत संगीतका कन्सर्ट र नृत्य प्रतियोगिताजस्ता इभेन्ट बजारमा आयोजना हुन्छन् र दर्शकले टिकट काटेर हेर्छन्। यो पनि त्यस्तै एउटा इभेन्टभन्दा बढी केही होइन। सौन्दर्य प्रतियोगिता ‘शो बिजनेस’को एउटा पाटो मात्रै हो। झन यो त महिलाको (लगभग नग्न) शरीर नै ‘शो’ गरेर गरिने बिजनेस हो। त्यसैले यसको चर्चा र नाफायुक्त व्यापार त हुने नै भयो। किनकि सजधज गरेका महिलाको अर्धनग्न शरीर र हाउभाउ कटाक्ष हेर्न नचाहने को होला र दुनियामा? शताब्दियौंदेखि त्यही त चल्दै आइरहेको छ।

पुँजीवाद र खुला बजार नीति अंगीकार गरेका देशहरुमा कसैको व्यापार गर्ने अधिकार (चाहे त्यो महिलाको मांशल शरीरको प्रदर्शन गरेर गरिने व्यापार नै किन नहोस) लाई बन्देज गर्न नसकिएला पनि। ग्ल्यामर इण्डस्ट्रीका लागि चमचमाउँदा अग्ला-पातला शरीर भएका महिला चाहिएलान् पनि। तर यो व्यापारलाई शशक्तताको नाम दिइनुचाहिँ गलत हो। किनकि मिस ब्युटीफुल हेयरका लागि निर्णायकहरुले आफ्नो कपाललाई केस्रा-केस्रा समातेर केलाएको निरीह भएर हेरिरहनु, महीनौं-वर्षौंसम्म अघाउन्जेल खाना खाने अधिकारबाट वन्चित रहनु, जन्मजात लिएर आएको उचाईका लागि, मुस्कानका लागि वा फोटो खिच्दा वा स्वीमसुट लगाउँदा ‘तिमी यत्तिकि राम्री देखियौ’ भनेर निर्णायकहरुले जति अंक दिन्छन् त्यति हात थापेर चित्त बुझाउनु र समुद्र किनार वा स्विमीङ पुलमा बाहेक अन्त नलगाइने स्वीमसुट वा बिकिनि लगाएर स्टेजमा भेडाबाख्रा जसरी पंक्तिबद्द बनाएर हिंडाउँदा चुपचाप हिंड्नु, त्यसकै आधारमा विजेता घोषित हुनुले नै प्रतिस्पर्धीहरुको शशक्ततामाथि भद्दा मजाक गरिराखेको हुन्छ। आफूलाई शशक्त दाबी गरेर यस्ता प्रतियोगितामा भाग लिन गएका युवतीहरुको यो हदको ‘शशक्तता’ दयनीय लाग्छ। सौन्दर्य प्रतियोगिता महिलाको शरीरको वस्तुकरणको सबभन्दा निकृष्ट उदाहरण हो। यस्तो निकृष्ट वस्तुकरणलाई व्यक्तित्व विकास भन्दै भाग लिन जाने युवतीहरुको व्यक्तित्वको विकासमै समस्या छ जस्तो लाग्छ। उनीहरुले शशक्तीकरण र व्यक्तित्व विकासको अर्थ कत्तिको बुझेका रहेछन्, घर परिवार वा स्कुल कलेज वा समाजबाट कत्तिको बुझाइएको रहेछ भन्ने कुरा सोचनीय हो।

भलिबल सुन्दरी, पौडी सुन्दरी, बौद्दिक सुन्दरी, मोडलजस्ती लेखक, नायिकाजस्ती गायिका, ब्युटी विथ ब्रेन, ब्ल्याक ब्युटी, आदि उपाधिहरु पनि देखिन्छन पत्रपत्रिकामा। ‘काली’ भएर पनि ‘राम्री’ हुनु अचम्मको कुरो हो वा अथवा ‘राम्री’ भएर पनि खेलाडी हुनु, गायिका हुनु, लेखक हुनु वा बुद्दिमान हुनु अचम्मको कुरा हो जस्तो। कसैकसैले सामाजिक सन्जालमा कुनै खेलाडी, लेखक वा अभियन्ता महिलाको फोटो राखेर ‘यी हुन असली सुन्दरी’ पनि भनेको देख्छु। म यी तर्कसंग पनि सहमत हुन सक्दिन। मेरी आमाजस्ता सर्वसाधारण नेपाली महिला को हुन् त्यसो भए? उनीहरु त कुनै लेखक, अभियन्ता, धावक वा राजनीतिज्ञ होइनन्। कुनै महिलाले घरबाहिर प्रदर्शन गरिने कुनै न कुनै प्रतियोगिता वा विधामा, क्षेत्रमा ‘एक्सिलेन्ट’ भएरै देखाउनुपर्ने अनि मात्र ‘सुन्दरी’ हुने भनेजस्तो कुराले त उही ‘सुन्दरी’ को अवधारणालाई नै प्रबर्दन गर्छ। यसले त जीवनभरि दिनको १८ घन्टासम्मको श्रम गरेर घर धान्ने लाखौं महिलाको मानमर्दन हुन जान्छ। व्यक्तिले जहाँ, जस्तो अवस्थामा जे योगदान गरिराखेको छ त्यो नै सम्माननीय र सुन्दर छ भन्ने धारणाको पो विकास हुनुपर्यो।

२०६२-६३ सालदेखि हामी समावेशी समाजको अवधारणा पालना गरिरहेका छौं। समावेशी समाज (इन्क्लुसिव सोसाइटी) भनेको कुनै संघसंस्था दर्ता गर्दा थरिथरिको जात वा लिंग भएका व्यक्तिको संख्या जम्मा पार्नु मात्र होइन। समाजमा सबै रुप रङ, जात, धर्म, वर्ण, शारीरिक, मानसिक, आर्थिक क्षमता भएका व्यक्तिहरु बस्छन् र समाजका सबै अवसर, स्रोत र अधिकारसंग उनीहरुको बराबर पहुँच हुनुपर्छ, समाज उनीहरुका लागि सधै भेदभावरहित र उनीहरुको क्षमताअनुसार लचकदार हुनुपर्छ भन्ने अवधारणा हो। समावेशी समाजले ‘मेरिटोक्रेसी’को अवधारणालाई पालना गर्दैन। जुन अवधारणाभित्र कक्षामा वा स्कुलमा बिभिन्न प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो बनाइने प्रचलन पर्दछन। समाज सधैं ‘फर्स्ट’ हुनसक्ने, दौडेर, भागेर, झगडा गरेर, खोसेर समाजका स्रोतहरु आफ्नो हातमा पार्नसक्ने अर्थात कथित राम्रा, बलिया र ‘एक्सिलेन्ट’हरुको मात्र होइन, सबैको हो भन्ने अवधारणा नै समावेशी समाजको अवधारणा हो। हाम्रो देशको सामाजिक अवस्था हेर्दा स्कुलदेखि कलेज र समुदायदेखि राष्ट्रियस्तरका सबै खालका प्रतियोगिता आयोजक, प्रतिस्पर्धी वा उनका अभिभावकको दिमागमा यो कुरा पस्न निकै लामो समय र प्रक्रिया लाग्ला जस्तो लाग्छ। किनकि आजसम्म यस्ता प्रतिस्पर्धालाई उनीहरु ‘व्यक्तित्व विकास’ नै भनेर बुझिरहेका छन। खासगरी सौन्दर्य प्रतियोगिता आयोजना हुने बेलामा गरिने राजनीतिक पार्टीका मौसमी विरोध प्रदर्शन वा यिनको बिरोधमा लेखिने लेख-रचनालाई पनि उनीहरुले ‘व्यक्तित्व विकास गरेको देखि नसहेको’ भन्ने अर्थमै बुझ्छन।

समाजमा आयोजना हुने यस्ता प्रतियोगिता वा प्रतिस्पर्धाहरुले एकै खालको रुपरङ, व्यक्तित्व वा शारीरिक-मानसिक क्षमता भएका बाहेक समाजका अरु सदस्यलाई बहिस्करणमा पारेका हुन्छन्, यस्ता प्रतियोगिताले विविधतायुक्त समाजलाई स्वीकार्दैन र यो समावेशी समाजको अवधारणाको बिपरीत छ भन्ने धारणाको विकास गर्नका लागि त्यही खालको ‘स्कुलिङ’को सुरुआत गरिनुपर्छ। घरपरिवारमै छोराछोरीलाई शारीरिक रुपरङ महत्वहीन हो भनेर सिकाइनेदेखि लिएर सार्वजनिक बहस वा स्कुल कलेजमा चेतनामूलक कार्यक्रमको आयोजना वा पाठ्यपुस्तकमै विविधतायुक्त र भेदभावरहित समाजको सौन्दर्य कस्तो हुन्छ भनेर समावेश गरिनु यसका केही उपाय हुन सक्लान्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*