Home / Feature Breaking news / नेपालको सन्दर्भमा हरित विद्यालयको महत्व, अवसर र चुनौतिहरु

नेपालको सन्दर्भमा हरित विद्यालयको महत्व, अवसर र चुनौतिहरु

नेपाल लगायत संसारभर भर्खर “आज हरियो भोलि सफा” भन्ने नारा सहित विश्व वातावरण दिवस मनाईरहँदा संसारभर हरियाली नष्ट हुँदै गईरहेको र यसले वातावरणमा पारेको प्रभावको बारेमा सामान्य व्यक्तिले पनि अनुमान लगाउन सक्दछ ।

अहिले पछिल्लो समयको विश्वको वातावरणको अवस्थाको बारेमा विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार अत्यन्तै डरलाग्दो अवस्था छ । पछिल्ला केही दशकहरुमा घातक समस्याका रुपमा देखा परेका रोगहरु जस्तै फोक्सोको क्यान्सर स्ट्रोक स्वास नलीहरुको क्यान्सर तथा मुटु सम्वन्धी रोगहरु दम आदि जस्ता रोगहरुको मूल कारण वतावरणमा भएको प्रदूषण जस्का कारणले हावामा हुने प्रदूषण मुख्य कारणको रुपमा आएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार संसारका ९९ प्रतिशत मानिसहरुको वसोवास हावाको गुणस्तर मापदण्ड भन्दा धेरै कमजोर रहेको ठाउँमा रहेको छ । वर्षेनी ६७ लाख मानिको औसत आयु भन्दा पहिला हुने गरेको छ । जसको मुख्य कारण भनेको वातावरणमा आएको परवर्तन नै हो । त्यो मध्य लगभग ८९ प्रतिशत मानिसको मूत्यु हाम्रो जस्तो गरीव तथा विकासोन्मुख देशमा हुने गर्दछ ।

हाम्रो कारणले हुने फोहोर जस्तै प्लाष्टिकजन्य बस्तुको प्रयोग वढि हुनु, उत्पादित खाद्य पदार्थ खेर बढि फाल्नु, रुख विरुवाहरु धेरै नासिनु, विकासको नाममा प्रकृतिलाई नाश गर्दै सिमेन्टड चिल्ला बाटोघाटो तथा घरहरु अत्याधिक निर्माण हुँदै जानु,  सवारी साधनको अत्याधिक चाप ईन्धनको वढ्दो प्रयोग आदि हो  । माथि उल्लिखत असरहरु बाहेक अन्य असरहरु पनि वातावरण प्रदूषणका कारणले देखिन थालेका छन ।

पृथ्वीको तापक्रम बढ्दै जानु, समयमा पानी नपर्नु, अत्याधिक गर्मी र जाडो, बाढी पहिरो सुनामी जस्ता प्राकृतिक विपति आइराख्नु मानवले प्रकृतिलाई दिएको प्रदूषणको नतिजा नै हो ।

यसरी पृथ्वीको वातावरणमा नकारात्मक असरहरु देखिन थालेपछि वातावरण जोगाउनको लागि अहिले पछिल्लो समयमा धेरै आवाजहरु तथा प्रश्नहरु सुनिन थालेका छन । जस्तै जंगल जोगाउन नेपालमा लागू भएको सामुदायिक वन कार्यक्रम अत्यन्तै प्रभावकारी रहयो । जसले विनाश हुँदै गएको जंगललाई वचाउन ठूलो योगदान गर्यो ।

अन्य नवीन शुरुवातहरु पनि भएका छन । स्थानीय सरकारले गर्ने फोहोर व्यवस्थापन पनि अर्को महत्वपूर्ण कदम हो । वातावरण जोगाउन केही शुरुवातहरु त भएका छन अझै धेरै गर्न सकिने अवसरहरु पनि हुन सक्दछन र भएका पनि छन । शुरुवात गरिएको निरन्तरताको आवश्यकता रहिरहेको छ ।

यस्ता नवीन शुरुवातहरुमा दीर्घकालिन र समुदायका वालवालिका तथा सवै समूहलाई सहभागी गराउने एउटा कार्यक्रमको रुपमा नेपाल सरकारले २०७५ सालमा निर्णय भएको एउटा कार्यक्रम हरित विद्यालय कार्यक्रम हो । हरित विद्यालयको वारेमा भन्नुपर्दा यो शैक्षिक संस्थाहरु र वरपरको क्षेत्रमा व्यापक हरियालीको विकास गरेर वातावरणमा परेको असर कम गर्नका लागि विद्यार्थीलाई नै शिक्षाका माध्यमबाट विद्यार्थी तथा आम समुदायमा वातावरणमैत्री व्यवहार विकास गरेर पछिल्लो पुस्तालाई हरित पृथ्वी हस्तान्तरण गर्ने उद्देश्यका साथ एक विद्यालय एक बगैंचा तथा वृहत हरित क्षेत्र वनाउने अवधारणा हरित विद्यालय कार्यक्रमले बोकेको छ ।

नेपाल सरकारको निर्देशिका अनुसार यो कार्यक्रमका उद्देश्यहरु विद्यालयको वातावरण सफा शान्त सुरक्षित र हरियालीयुक्त वनाउने, विद्यालयलाई आकर्षक र मनोरम स्थलको रुपमा विकास गर्ने, एक जीवित प्रयोगशालाको रुपमा विकास गर्ने ,शैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनउपयोगी वनाउने, विद्यालयमा जैवीक वगैंचा निर्माण गरेर पोषक तत्वको ज्ञान सीप क्षमता विकास गर्ने, विद्यालय क्षेत्रभित्रका खाली जग्गामा वृक्षारोषण गरी हरियाली वनाउने र सोका लागि विद्यार्थी शिक्षक अभिभावक र समुदायलाई परिचालन गर्ने रहेको छ ।

कसैको लागि यो कार्यक्रम नयाँ नभए पनि धेरैको लागि यो अवधारणा नयाँ रहेको छ । थोरै मात्र विद्यालयले यो कार्यक्रम लागू गरेर उदाहरणीय काम गरिरहेका छन । यो कार्यक्रम लागू गर्ने थोरै विद्यालय मध्ये नमोवुद्ध नगरपालिका काभ्रेमा रहेको श्री जनहित माध्यामिक विद्यालय एक हो ।

यो विद्यालयले विगत ५ वर्षदेखि वातावरणमैत्री विद्यालय वनाउनका लागि निरन्तररुपमा रुपान्तरण परियोजना र काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य गर्दै अघि वढिरहेको छ । सामान्य वगैंचा निर्माणबाट शुरु भएको यो कार्यक्रम ठूलो मात्राको वातावरणमैत्री कामहरु भैरहेको छ । यसले सञ्चालन गरेका केहि कामहरु जस्तै इकोलोजिकल सेनिटेशन अन्तर्गत मानवमूत्रलाई फोहोरको रुपमा नभएर त्यसलाई मलको रुपमा प्रयोग गर्न मिल्ने वनाएर सावधानीपूर्वक प्रयोग हुने गरेको छ । यसो गर्नुको उद्देश्य मानवमूत्रले जमिनमुनिको पानी दूषित पार्न सक्ने हुँदा जल प्रदूषण कम गराउने तथा मानवमूत्रमा हुने पोषणहरु विरुवालाई दिएर यसको सहि उपयोग गर्नु रहेको छ ।

साथसाथै यसले मलको रुपमा प्रयोग हुने रसायनिक मलको प्रयोग पनि कम गराउँछ । विद्यालयले बालबालिकाहरुको लागि वागवानीको कामहरु सिकाईको एउटा महत्वपूर्ण विषय बनाईरहेको छ । त्यहाँ सञ्चालन गरिने कक्षागत सिकाईका कार्यक्रम जस्तै टनेल वनाउने किवि खेती गर्ने सुँगुर पालन माछापालन च्याउँ खेती एभोकार्डो कागती खेती तथा जडिवुटीजन्य विरुवाहरु लगाउने आदि स्थानीय पाठ्यक्रमको एउटा अभिन्न भागको रुपमा रहेको छ ।

साथसाथै विद्यालयबाट नै छोटा तथा लामा समयका तालिमहरु जस्तै व्यवसायिक तालिम स्वरोजगार सीपविकासको तालिमहरु दिएर विद्यालय उमेर पछि उनीहरुलाई आत्मनिर्भरको लागि तयार गरिन्छ । त्यहाँ उत्पादन भएका तरकारी तथा फलफूलहरु विद्यार्थीले दिवा खाजाको लागि अर्गानिक खाजाको रुपमा प्रयोग गर्ने गर्दछन । प्लाष्टिकजन्य सामानको प्रयोग न्यूनीकरण गर्दै जाने र आएकाहरुलाई पनि वोटल गार्डेनका रुपमा निर्माण गर्दै गईरहेको छ । संक्षेपमा भन्नुपर्दा यो विद्यालयले विद्यार्थीलाई भविष्यका लागि वातावरण सचेतकको रुपमा क्षमता अभिवृद्धि गर्दै गईरहेको छ ।

यस्तै उदाहरणीय विद्यालयको रुपमा रहेको अर्को विद्यालय सरस्वती निकेतन माध्यामिक विद्यालय हो जुन काठमाण्डौ महानगरपालिकाको टेकुमा रहेको छ । यो विद्यालय जम्मा ३ आना ३ पैसा जग्गामा रहेको छ । यो विद्यालयले अवलम्वन गरेको विधि भनेको वोटल गार्डेन हो । जमिन नभए पछि विद्यालयले समुदायमा भएका वोतलहरु जम्मा गरेर त्यसैमा विरुवा रोपेर विद्यालयको वातावरण स्वच्छ वनाउन योगदान पुर्याउदै आएको छ तथा वोतलको पुनः प्रयोग पनि भएको छ ।

हरेक विद्यार्थीहरुको लागि कम्तिमा एक वोतल विरुवाको जिम्मा दिएको छ । जसको हेरचाह गर्ने देखि लिएर पुन रोप्ने काम त्यही विद्यार्थीको रहेको हुन्छ । यसलाई विद्यालयको पाठ्यक्रम र मूल्याङ्कमा जोडिएको छ । यसरी सानो ठाउँमा पनि हरित विद्यालय वनाउने अवधारणा शुरु गर्नु र यसलाई निरन्तरता दिनुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई वातावरण प्रकृतिसँग जोडिराख्ने हो ।

हरित विद्यालय कार्यक्रमको अवधारणा लागू गरेर उदाहरण बनेका अन्य विद्यालयहरु पनि छन । जसमध्ये सुर्खेत जिल्लाको कोपिला माध्यामिक विद्यालय पनि एक हो । यो कार्यक्रम लागु गर्नका लागि चुनौतिहरु पनि थुपै छन ।

जस्तै विद्यालयमा प्रशस्त जग्गा नहुँनु, विद्यालयमा निर्माण कार्यहरु सञ्चालन भैरहनु, स्थानीय पाठ्यक्रममा लागु गराउने समवन्धमा जनप्रतिनिधिहरुलाई वुझाउन नसक्नु, अभिभावक र समुदायमा रहेका मानिसहरुलाई उत्प्रेरित गर्न नसक्नु, विद्यार्थीहरुलाई यस किसिमको काममा लागाउने रुचि जगाउन गाह्रो हुनु रहेका छन । वोटल गार्डेन गर्नेहरुका लागि पनि त्यसको स्याहार सुसार गर्न ठूलो चुनौतिको रुपमा रहेको छ ।

अन्य चुनौतिहरुमा हरेक तहको सरकारको नीति तथा योजनाहरुमा प्राथमिकतामा नपर्नु बजेट विनियोजन नहुँनु, ऐन नीति नियमहरु पर्याप्त नहुँनु, लागू गर्ने पक्ष नै यो विषयप्रति जानकार नहुँनु,  नयाँ अवधारणा थालनी गर्न नचाहनु रहेका छन । अत्यन्तै कम लगानीमा सञ्चालन गर्न सकिने यो कार्यक्रमलाई सवैले आफ्नो तहको योगदान पुर्याएर सवै विद्यालयमा शुरुवात गराउन सकेको भए वातावरणमा हाम्रो योगदानले अवको १५-२० वर्षमा सकारात्मक नतिजाहरु देखिन थाल्ने अनुमान लगाउन सकिन्छ ।

साथसाथै अनुसन्धानमा अनुवन्धित व्यक्तित्वहरुले थप अध्ययन गरेर फोरमहरुमा छलफलमा ल्याउन सकेमा यसले उत्सुकता ल्याउन सक्ने थियो ।

( यो लेख काठमाण्डौ विश्वविद्यालयको एम फिल डेभलेभमेन्ट इस्टडिजको विद्यार्थीहरुको आयोजनामा सञ्चालन भएको “green school: Education for sustainable planet” सेमिनारको आधारमा तयार पारिएको हो ।

                                                                                                  लेखक

                                                                                              पार्वती आचार्य 

                                                                                         काठमाण्डौ विश्वविद्यालय  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*