Home / Feature Breaking news / बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीद्वारा संसद्लाई जानकारी : १० जनाको मृत्यु, २६ जना बेपत्ता

बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीद्वारा संसद्लाई जानकारी : १० जनाको मृत्यु, २६ जना बेपत्ता

बाढीपहिरोबाट पूर्वी पहाडका जिल्लामा भएको क्षतिबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विपद्का घटनाबाट यस वर्ष हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । उनले २६ जना बेपत्ता रहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बाढीपहिरोको क्षति बढिरहेको बताए । ‘यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ । यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरू संखुवासभा, ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ ।

असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाबाट देशको पूर्वी भूभागका संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन्,’ उनले भने, ‘विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी प्राप्त भएको छ । विवरण आउने क्रम अझै जारी छ ।’

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए । प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने उनले बताए ।

‘विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम मृतकको परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ,’ उनले भने, ‘तत्काल खोज, उद्धार तथा राहत सम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ ।’

राहत, उद्धार तथा पुन:स्थापनाका लागि सरकारले स्थानीय तह लगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*