तिर्थराज ज्ञवाली
देउखुरी, १७ जेठ । गर्मीका कारण राप्ती गाउँपालिकामा चार दिन विद्यालय बिदा गरिएको छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई ख्याल गर्दै चार दिनसम्म गाउँपालिकामा रहेका विद्यालय विदा गर्ने निर्णय गरिएको छ ।
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सुचना प्रकाशन गरि राप्ती गाउँपालिका क्षेत्रमा रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई जेठ १७ देखि २० गतेसम्म विद्यालय विदा गर्ने निर्णय गरेको हो ।
गर्मीका कारण शिक्षण सिकाईमा कठिनाई भएको गुनासो आएपछि शाखाले चार दिन विदा गर्ने निर्णय गरेको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकले जानकारी दिए । बर्षे विदावाट विदा कट्ने गरि विद्यालय बन्द गरेको शाखाले जानकारी गराएको छ ।