Home / Feature Breaking news / बोक्सी भन्दै सिंगो परिवारमाथि निर्घात कुटपिट, उल्टै अपहरण मुद्दामा फसाइदिने धम्की

बोक्सी भन्दै सिंगो परिवारमाथि निर्घात कुटपिट, उल्टै अपहरण मुद्दामा फसाइदिने धम्की

महोत्तरीमा दलित परिवारलाई बोक्सी भन्दै उनको सिंगो परिवारमाथि निर्घात कुटपिट  भएको छ।

गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि आक्रमण भएको हो।

स्थानीय सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाका परिवारले बुधवार बिहान इतरियादेवी परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट इतरियादेवी, उनकी श्रीमान राजेन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी, सुन्दरदेवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन् ।

इतरियादेवीको टाउको फुट्नुका साथै बायाँ हातसमेत भाँचिएको छ। उनको शरीरभरि चोट लागेको डामैडाम छन्। सुरेन्द्रको टाउको फुटेर ६ वटा टाँका लगाउनुपरेको छ भने सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ। बाँकी सदस्यलाई भने समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।

इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ। देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक गिरीले बताए। उनका अनुसार यसअघि पनि इतरिया परिवारमाथि कुटपिट भएको थियो।

‘कतिपय अवस्थामा समाजले पीडितलाई प्रहरी र कानुनी दायरमा ल्याउन दिइरहेको हुँदैन। त्यसले पनि घटना दोहरिएको हो। पीडित परिवारमाथि ज्यादती नै भएको छ। हामीले उनीहरूलाई न्यायका लागि कारबाही प्रक्रिया अघि बढाइसक्यौं, डिएसपी गिरीले भने। पीडित परिवारका अनुसार इतरियालाई घरमलमुत्र खुवाउने तयारी थियो ।

गत असोज २७ गते उनको घरै जलाउने समेत प्रयास भएको थियो। पीडित परिवारका अनुसार कुटपिट गरेकामध्ये विनोद झाँक्री हुन् । उनैले इतरिया बोक्सी रहेको र उसले टोलका धेरैजनाको परिवारलाई भुतप्रेतको शक्तिले दुःख दिइरहेको बताउँदै आएका छन् । झाँक्रीले नै बोक्सी घोषित गरिसकेपछि टोलका अधिकांश व्यक्ति इतरियाको विरोधमा उत्रिए।

‘दसैंको एकदिनअघि दिउँसो केवलकी छोरीमाथि भूत चढेको धामी विनोदले भनेछन् । राति १२ बजे धामी, विनोदका परिवारसहित त्यहाँका मानिसहरू तोडफोड गर्दै अचानक मेरो घर पसेछन्। उनीहरूले घरमाम आगो लगाउन सलाइ पनि बालेका थिए। तर घरमा आगो सल्केन्,’ घाइते भएकी इतरियाकी बुहारी समतोलियाले भनिन्, ‘कुट्ने अनि दिसा पिसाब घोलेर मेरी सासुलाई खुवाउने उनीहरूले तयारी गरेका थिए तर जेनतेन हामी लुकेर घरभित्र बस्यौं र त्यो दिन बाँच्न सफल भयौं। पहिले पनि त्यहाँका मानिसले हामीलाई दिनरात गालीगलौच गर्थे।’

त्यो दिनको घटनाबारे पत्रकारलाई जानकारी गराएको निहुँमा आफूहरूमाथि फेरि आक्रमण भएको उनले बताइन्।

‘म घरमा काम गर्दैथिएँ, अचानक एक हुल मान्छे आएर मलाई लाठी, भाटा र चिपर्टले कुट्न थाले। जो–जो बचाउन आए सबैलाई उनीहरुले अन्धाधुन्द प्रहार गर्न थाले। म छोरा र बुहारी त्यहीँ ढल्यौं,’ इतरियाले घटना सुनाउँदै भनिन्, ‘पहिले पनि गाउँमा कोही बिरामी पर्दा, भुतप्रेत लाग्दा मलाई गाली गर्थे, मार्ने धम्की दिन्थे। एक घर चमार परिवार छ काटेर बोरामा कसेर कतै फालदियौं भने हामीलाई कसैले केही गर्न सक्दैन् भनेर बारम्बार धम्की आउँछ।’

असोज २७ गते बोक्सी भन्दै इतरियाको परिवारमाथि भएको आक्रमणको प्रयासको बारेमा इलाका प्रहरी कार्यालय गौशालामा निवेदन परेको थियो। तर दसैंपछि त्यसको निर्क्यौल् निकाल्ने भन्दै प्रहरीले पीडित परिवरलाई घर पठाइदिए। कानुनी कारबाही प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरीले यही शुक्रवार दुबै पक्षलाई छलफलको समय समेत दिएको थियो। तर प्रहरीले छलफलको लागि बोलाउनु अगाबै बुधवार विहान इतरियाको पूरै परिवारमाथि नै आक्रमण भयो।

कुटपिट गर्नेमध्ये सन्तोष यादव र विनोद पासमानलाई बुधबार पक्राउ गरेको डिएसपी गिरीले बताए। उनका अनुसार पीडित परिवारको जाहेरीको आधारमा उनीहरूविरूद्ध बोक्सी आरोपमा कुटपिट गरेको शिर्षकमा मुद्दा चलाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी घटनबारे थप अनुसन्धान र फरारहरुको खोजी कार्य भइरहेको उनले बताए। विनोदकी श्रीमती र छोरीलगयायत आरोपीत अन्य व्यक्तिहरू फरार छन्। तर अस्पतालमा भर्ना भएदेखि इतरिया परिवारलाई उल्टै अपहरण मुद्दामा फसाइदिने धम्की आइरहेको छ।

‘विनोदले श्रीमती र छोरीलाई कहाँ–कहाँ भगाएका छन्। तर उल्टै हामीलाई नै पुलिसमा किन गयौ? अब तिमीहरूलाई दुबै जनाको अपहरण केसमा फसाउँछौं भन्छन्। हामी मजदुरी गरेर घरबार चलाउँछौं। हाम्रो कोही छैन। न्याय दिलाइदिनुस,’ रूँदै इतरियाले अस्पतालको शय्याबाट भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*