Home / Feature Breaking news / नेदरल्यान्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

नेदरल्यान्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं,१८ साउन । एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । अन्तिम खेलमा नेपालले जित हात पारेसँगै नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्याएको छ ।

२१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१५ रन मात्रै बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि वेस्लेय बरेसीले ७१ रन बनाए । उनले ८९ बलमा ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । त्यस्तै, नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राकले ३९, पिटर सेलयरले २१, बेन कोपरले १९ र शेन स्नाटरले १२ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ४१ रन खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि ललितसिंह भण्डारीले २ विकेट लिए ।

यसअघि नेपालले ४८।५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । उनले नेपालका लागि छटो अर्धशतक बनाउने खेलाडीको रेकर्ड पनि राख्न सफल भए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै विकेट गुमाएपनि मध्यम स्कोर बनाउन सफल भएको हो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

त्यस्तै, नेपालका लागि दीपन्द्रसिंह ऐरीलाई १९ रन रनआउट हुन पुगे । सुवास खकुरेल १९, आरिफ शेख १६, ज्ञानेन्द्र मल्ल १३, रोहित कुमार पौडेल ६, अनिल कुमार शाह ४ र बसन्त रेग्मी १ रनमा आउट भए ।

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*