लक्ष्मी ढकाल
नेपालको संस्कृति र परम्परामा महिलाको जीवनसँग गहिरो रूपमा गाँसिएको पर्व हो हरितालिका तीज । भाद्र महिनामा आउने यो पर्व केवल व्रत बस्ने वा पूजा गर्ने दिन मात्र होइन, यसले महिलाको भावनात्मक, सामाजिक र मानसिक संसारलाई स्पर्श गर्ने ठूलो अवसर दिन्छ।
तीजमा महिलाहरू रातो, हरियो र पहेंलो रङका आकर्षक पहिरनमा सजिन्छन्, आफन्त र साथीभाइ भेटेर गीत–नृत्यमा रमाउँछन्, शिव–पार्वतीको पूजा गर्छन्, र दर खाने परम्परा मनाउँछन ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।
यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ ।दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकारहरु खिर,ढकनी,पुवा,पुलाउ,लटटे,थरीथरीका तरकारीहरु,विभिन्न थरीका रोटी साथै विभिन्न थरीका फलफूल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । अहिले मासुका परिकारहरु पनि खाने गरिन्छ । दर खाने दिनमा दिउसो देखि खान शुरु गरी मध्यरात १२ बजेअघि खाने चलन छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने गरिन्छ ।
यसै कारण तीजलाई “नारीहरूको पर्व“ भनिन्छ । तर, यस पर्वको चमक–दमकभित्र मानसिक स्वास्थ्यसँग जोडिएका गहिरा पक्षहरू पनि लुकेका हुन्छन्।
तीजले दिने मानसिक उर्जा र खुशी
तीजको सकारात्मक पक्षलाई हेर्ने हो भने यसले महिलाको मानसिक स्वास्थ्यलाई निकै सशक्त बनाउन सक्छ।
१. सामाजिक एकता र सहकार्य– लामो समयपछि दिदीबहिनी र साथीभाइ भेटिन्छन् । रमाइलो र मेलमिलापले एक्लोपन घटाउँछ, भावनात्मक सहयोग बढ्छ।
२. सांस्कृतिक पहिचान र आत्मगौरव– परम्परा र संस्कृतिसँग जोडिँदा महिलाले आफ्नो पहिचानलाई अझ मजबुत अनुभव गर्छन्। यसले आत्मबल र आत्मसन्तुष्टि बढाउँछ।
३. गीत–नृत्य र रमाइलो– हाँसो, रमाइलो र नाचगानले तनाव घटाउँछ। संगीत र नृत्य आफैंमा एउटा थेरापी जस्तो हुन्छ।
४. धार्मिक शान्ति र अध्यात्म– पूजा, भक्ति र प्रार्थनाले मनलाई शान्त बनाउँछ। विश्वासले भविष्यप्रतिको डर कम गर्छ र आशाको ज्योति जगाउँछ।
यसरी हेर्दा, तीज केवल सांस्कृतिक पर्व मात्र नभई मानसिक स्वास्थ्यलाई सशक्त बनाउने अवसर पनि हो।
तीजसँगै आउने मानसिक स्वास्थ्यका चुनौतीहरू
तर, हरेक सिक्काको दुई पाटा हुन्छन्। तीजसँगै केही मानसिक दबाब र चुनौतीहरू पनि आउँछन्।
१. लैङ्गिक असमानताको अनुभूति– “पति वा परिवारको सुखका लागि मात्र व्रत बस्ने“ भन्ने सोचले महिलामा आत्ममूल्य घटाउने खतरा हुन्छ।
२. उपवासको दबाब– दिनभरि केही नखाई बस्दा शरीर मात्र होइन, मानसिक शान्ति पनि प्रभावित हुन्छ। थकान, चिडचिडापन र अशान्ति बढ्न सक्छ।
३. आर्थिक बोझ र प्रतिस्पर्धा– महँगो लुगा, गहना, भोज र सजावटमा प्रतिस्पर्धा हुँदा आर्थिक दबाब बढ्छ। यसले तनाव, हीनभावना र असन्तुष्टि ल्याउन सक्छ।
४. सामाजिक र पारिवारिक अपेक्षा– विवाहित महिलामाथि व्रत बस्नैपर्छ भन्ने दबाब, अविवाहित वा सम्बन्धमा समस्या भएकाले अनुभव गर्ने मानसिक पीडा, यी सबैले नकारात्मक असर पार्न सक्छ।
यी चुनौतीहरूलाई सम्बोधन नगरे तीज मानसिक स्वास्थ्यलाई दबाब दिने पर्व बन्न सक्छ।
मानसिक स्वास्थ्यलाई सुरक्षित राख्दै तीज मनाउने उपाय
तीजलाई सचेत र स्वास्थ्यमैत्री तरिकाले मनाउने केही उपायहरूः
स्वस्थ तरिकाले व्रत बस्ने – शरीरको अवस्था हेरी उपवास गर्ने, पानी वा फलफूल खान सक्ने।
भावनामा जोड दिने – तडकभडक भन्दा सांस्कृतिक, भावनात्मक र आध्यात्मिक पक्षलाई महत्व दिने।
समावेशी दृष्टिकोण – विवाहित, अविवाहित, वा कुनै पनि अवस्थाका महिलाले तीज मनाउन सक्ने वातावरण बनाउनुपर्ने।
खुला संवाद र सचेतना – गीत, नृत्य वा संवादमार्फत महिला अधिकार, समानता र मानसिक स्वास्थ्यबारे सन्देश फैलाउन सकिन्छ।
परिवार र समुदायको समर्थन – महिलाको स्वतन्त्र निर्णयलाई सम्मान गर्नुपर्ने, चाहे व्रत बसून वा नबसून।
लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्रको वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।
RaptiSandesh RaptiSandesh