Home / Feature Breaking news / मतपत्रमा ल्याप्चे !

मतपत्रमा ल्याप्चे !

स्थानीय तहको पहिलो निर्वाचनमा बढि देखिएको ‘बदर मत’ कम गर्ने निर्वाचन आयोगले लक्ष लियो । पहिलो निर्वाचनको बदर मतका आधारमा निर्वाचन आयोगले ‘मतदाता शिक्षा’ कार्यक्रमलाई अँझ प्रभावकारी बनाउने बताएको थियो । दश स्थानीय तह रहेको दाङमा ३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालित भए । बदर मत कम गर्नकै लागि सञ्चालन गरिएको मतदाता शिक्षा कायक्रमका लागि लाखौँ रकम खर्च पनि भयो । तर एक महिना सम्म चलेको निर्वाचन शिक्षा कार्यक्रम दोस्रो चरणको निर्वाचनमा पनि बन्न सकेन । यहाँ सम्मकी मतदाताहरुले मत्रपत्रमा स्वस्तीक छाप प्रयोग गर्नुपर्छ भन्ने ज्ञान समेत पाउन सकेनन् । स्वस्तीक छाप नै प्रयोग नगरि ‘ल्यााप्चे’ हानिएका मतपत्र बग्रेल्ती भेटिनुले यसको पुष्टि गरेको छ । यहाँका हरेक तहमा यस्ता मतपत्र भेटिएको सम्वन्धीत तहका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । ‘ल्याप्चे हानिएका मतपत्रहरु यसपटक धेरै भेटिए,’तुलसीपुर उपमहानगरका निर्वाचन अधिकृत गणेश प्रसाद आचार्यले नागरिकसंग भने ‘स्वस्तीक चिन्ह प्रयोग गर्नुपर्छ भन्ने सम्मको ज्ञान नभएको पनि पाईयो ।’ यो उपमहानगरमा कुल बदर मत मध्य दुई प्रतिसत मत ल्याप्चे हानिएका छन् ।

voter
लमही नगरपालिकाका निर्वाचन अधिकृत चन्द्रवहादुर सिँजालीले पनि ल्याप्चे हानिएका मत भेटिनुले अचम्मित बनाएको बताउँछन् । ‘ल्याप्चे हानिएका मतहरु हाम्रो केन्द्रमा पनि भेटिए,’उनले भने ‘मतदाता शिक्षा कार्यक्रमलाई यति तिब्र बनाउँदा पनि मतदाताहरुमा ल्याप्चे हान्ने पुरानो परिपाटीको अन्त्य नभएको पाईएको छ ।’ त्यसोत,जिल्लाभरको बदर मतको संख्या हेर्ने हो भनेपनि निर्वाचन शिक्षा कार्यक्रमको प्रभावकारीता माथि प्रश्न चिन्ह लगाउने ठाउँ प्रशस्तै देखिन्छ । २ लाख ९१ हजार १ सय ७५ कुल मतदाता रहेको दाङमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो । तर पुरै सदर मत एक लाख ९९ हजार ८५ मात्रै रहेको छ । जिल्लाको कुल बदरमत १९ हजार २ सय ५४ रहेको छ । यो मध्य ५ हजार ५ सय ९३ मत पूर्ण बदर रहेको निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार ५ हजार ५ सय ९३ मत कामै नलाग्ने गरि बदर भएका हुन् भने अन्य सिमित चुनाव चिन्हको मात्रै बदर मत हो । ‘पूर्ण बदर मत भन्नाले त्यो पूर्ण रुपमै काम नलाग्ने अवस्थाको हो,’जिल्ला निर्वाचन कार्यालयका प्रमुख, विजय कार्किले भने ‘अन्य भनेको सिमित चुनाव चिन्हको मात्रै बदर भएका हुन् ।’
निर्वाचन कार्यालयको तथ्यांक अनुसार जिल्ला सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामै सबै भन्दा बढि मत बदर भएको छ । ५८ हजार ५ सय ३९ मत खसेको यो उपमहानगरमा १ हजार २ सय ६५ पूर्ण बदर मत संख्या छ । सिमित चिन्हमा बदर मतको संख्या ४ हजार २ सय ६३ छ । यसैगरि कुल ५७ हजार ३ सय ६७ तुलसीपुर उपमहानगरपालिकामा ५ हजार ११ मत बिग्रियो । यो मध्य १ हजार १ सय २४ मत पूर्ण बदर भयो ।
उपमहानगरपालिकामा मात्रै नभई, यहाँका हरेक तहमा दुई सय भन्दा माथि मत पूर्ण बदर भएका छन् । १९ हजार ७ सय १९ मत खसेको लमही नगरपालिकामा ३ हजार ६३ मत विग्रीयो । यो मध्य ५ सय ४४ मतपत्र कामै नलाग्ने भए ।
यसैगरि दंगीशरण गाउँपालिकामा बिग्रिएका १ हजार ३ सय २४मत मध्य ३सय ५९ मत पुरै बिग्रिएका छन् । यो गाउँपालिकामा १० हजार ४२ मत खसेको थियो । बंगलाचुली गाउँपालिकामा ६८४ बिग्रिएका मत मध्य ३७५ मत पूर्ण बदर भए । यहाँ ८ हजार ३ सय ५ मत खसेको थियो । ९ सय मत बिग्रीएको बबई गाउँपालिकामा ३ सय २८ मतपत्र फालियो । यहाँ १६ हजार ८७ मत खसेको थियो । ९ सय ७७ मतबदर भएको राजपुर गाउँपालिकामा ३ सय ७८ मत पुर्ण बदर भए । २ हजार १ सय ५७ मत बदर भएको राप्ती गााउँपालिकामा ९ सय ७२ मत पूर्ण बदर भए । यो गाउँपालिकामा कुल १७ हजार ४ सय ९४ मत खसेको थियो । ८ सय ६४ मत बिग्रिएको शान्तिनगर गाउँपालिकामा २ सय ४८ मत पूर्ण बदर भए । यहाँ ११ हजार ५ सय ७३ मत खसेको थियो ।
निर्वाचन शिक्षा कार्यक्रममा स्वस्तीक चिन्ह प्रयोग गरेर मत हाल्ने भनेर सिकाईनु नै प्रमुख बिषय हो । तर यो सिकाई प्रभावकारी बन्न नसकेको मतपत्रमै स्वस्तीक चिन्ह प्रयोग नभएका मतपत्रहरुले पुष्टि गरेका छन् । जिल्लामा बदर भएको मत स्वस्तीक चिन्ह प्रयोग नगरिएका अधिकांश रहेको निर्वाचन अधिकृतहरुले जनाएका छन् । केहि स्वस्तीक चिन्ह प्रयोग नगरि ल्याप्चे लगाईएका छन् भने केहि खाली छन् त केहिमा कलमले सहि चिन्ह लगाईएका छन् । ‘ल्याप्चे लगाईएका,खाली मतपत्र तथा स्वस्तीक चिन्हको साटो कलमले सहि चिन्ह लगाईएका मतहरु बढि छन्,’तुलसीपुर उपमहानगरका निर्वाचन अधिकृत गणेश प्रसाद आचार्यले भने ‘मतदाताहरुले भोट हाल्ने बेलामा कहाँ ? कसरी हाल्ने भन्ने बुझ्न नसकेको देखिन्छ ।’
यसैगरि उम्मेदवारै नभएको चुनाव चिन्हमा छाप हानिएका मतपत्रहरु समेत अधिक भेटिएका छन् । दंगीशरण गाउँपालिकामा यस्ताखाले मतपत्रहरु बढि भेटिएको त्यहाँका निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिए । ‘हाम्रो क्षेत्रमा ल्याप्चे हानिएका मतहरु पनि भेटिए,तर उम्मेदवारै नभएका चुनाव चिन्हमा छाप हानिएका बढि मतपत्रहरु भेटिए,’उनले भने ।
स्वस्तीक चिन्हको छाप हान्दा तलमाथि भएर मत बदर हुनुलाई सामान्य मान्य सकिएपनि स्वस्तीक चिन्हनै प्रयोग नगरिनुले मतदाता शिक्षा कार्यक्रमको ‘निष्प्रभाव’ स्पष्ट पारेको छ । लमहीका निर्वाचन अधिकृत चन्द्रवहादुर सिँजालीले भने ‘स्वस्तीक छाप नहानेर ल्याप्चे लगाउनु,मत्र पत्र पुरै खाली छोडिदिनुले मतदाता शिक्षा कार्यक्रमको प्रभावकारीता माथि प्रश्न उठाउने ठाउँ रहन्छ ।’ यसबाहेक धेरै चुनाव चिन्हमा हालिएका मतहरु बदरको अर्को कारण बनेका छन् ।  त्यसोत, मतदानका क्रममा थुप्रै मतदाताहरुले कसरी मत हाल्ने भन्नेमा अनभिज्ञता जनाएको देखिएको थियो । थुप्रै मतदाताहरुले निर्वाचनका लागि खटिएका प्रहरीसंग समेत कहाँ कसरी भोट हाल्ने भनेर सल्लाह मागेका देखिन्थे । ‘अहिलेको ठूलो मत पत्र र धेरै चुनाव चिन्ह अंकित मतपत्रले मतदाताहरुलाई धेरै अन्यौल बनायो,’सिँजालीले भने ‘मतदातानकै बेला पनि धेरै मतदाताहरुमा त्यो अनभिज्ञता देखिन्थ्यो ।’
यता जिल्ला निर्वाचन कार्यालयले भने अहिलेको बदर मत निकै कम रहेको दाबी गर्छ । जिल्लामा १०.०६ प्रतिसत मत बदर भएको छ भने ३.१६ प्रतिसत मत पूर्ण बदर रहेको निर्वाचन कार्यालयले जनाएको छ । ‘अहिलेको मतपत्र निकै झन्झटीलो रहेकाले पनि मतदाताहरु धेरै अन्यौलमा रहे,’निर्वाचन कार्यालयका प्रमुख कार्किले भने ‘तर अहिलेको बदर मतलाई कमै मान्नु पर्छ ।’ गत संविधानसभा निर्वाचनमा भन्दा यो बदर मत बढि भएको भन्दै उनले थपे ‘त्यो बेला एकजनालाई मात्रै मत हाल्नु पथ्र्यो,त्यसबेला कम मत बदर भयो, तर अहिले धेरै ठाउँमा मत हाल्नु पर्ने भएकाले मतदाताहरु झुक्कीएकाले बदर मत केहि बढि भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*