Home / Feature Breaking news / पर्यटकलाई अनावश्यक सास्ती दिइएको छ, आउन मनै गर्दैनन् : मन्त्री न्यौपाने

पर्यटकलाई अनावश्यक सास्ती दिइएको छ, आउन मनै गर्दैनन् : मन्त्री न्यौपाने

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले आनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन नसकेको बताएका छन् ।

उनले प्रदेशमा आउने विदेशी पर्यटकहरुलाई अनावश्यक चेकजाँच गरेर सास्ती दिने काम भइरहेको भन्दै यो सास्ती अन्त्यका लागि मन्त्रालयले पहल गरिरहेको बताए । मूलतः यो प्रदेशमा बाह्य पर्यटकहरु भारतबाट बढि आउने गरेका छन् ।

तर उनिहरुलाई प्रहरीद्धारा अनावश्यक चेकजाँच गरेर सास्ती दिने काम भैरहेको मन्त्री न्यौपानेको भनाई छ । ‘एक पटक प्रदेशमा आएका भारतीय पर्यटकहरु अर्को पटक फर्केर आउन नसक्ने स्थिती छ,’ घोराही स्थित धार्मिक पर्यटकीय स्थल सिद्धरत्ननाथ मठमा आयोजित कार्यक्रममा मन्त्री न्यौपानेले भने ‘प्रहरीले अनावश्यक चेकजाँच गरेर सास्ती दिएको गुनासो बढि छ, यहि सास्तीका कारण अर्को पटक दोहोरिएर पर्यटक आउन मन नगर्ने परिस्थती सिर्जना भएको छ ।’

पर्यटकहरुको आगमन बढाउन पर्यटकहरुलाई सहज वातावरण निर्माण गरनु पर्नेमा झनै सास्ती दिने काम भैरहेको उनको भनाई छ । भारतबाट नेपाल प्रवेश गरिसकेपछि एक ठाउँमा मात्रै चेकजाँच गरे पुग्ने भएकाले प्रदेश सरकारले एक पटक चेकजाँच गरिने र उनिहरुलाई जाँच् गरिएको पास उपलब्ध गराउने व्यवस्था गर्न थालेको जानकारी दिए ।

‘भारतबाट गाडी लिएर लुम्बिनी प्रदेशमा घुम्न आउने पर्यटकहरुलाई एक ठाउँमा मात्रै चेकजाँच गर्ने र उनिहरुलाई चेकजाँच गरेको पास उपलब्ध गराईनु पर्छ भनेर मन्त्रालयले त्यसको तयारी गरिरहेको छ,’ मन्त्री न्यौपानेले भने ‘ठाउँ ठाउँमा चेकजाँच गरेर पर्यटकलाई सास्ती दिने काम अब बन्द गरिने छ ।’ प्रदेशको समृद्धिको बलियो आधार भनेकै पर्यटकीय क्षेत्र रहेको तर पर्यटकहरुलाई सहज रुपमा आउने वातावरण निर्माण नहुँदा प्रदेशको आर्थिक समृद्धिको लक्ष्य पुरा हुन नसक्ने मन्त्री न्यौपानेको भनाई छ ।

‘एउटै पर्यटकलाई १०÷१२ ठाउँमा चेकजाँच गरेर सास्ती दिने काम भैरहेको छ,’ मन्त्री न्यौपानले भने ‘यस्तो सास्ती बेहोर्नु पर्ने ठाउँमा कुन पर्यटक आउन मन गर्छ ? यसरी प्रदेशको आर्थिक समृद्धिको लक्ष्य पुरा कदापी हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*