Home / Feature Breaking news / भारतलाई लज्जित बनाउने मणिपुरको दृश्य– महिलालाई नाङ्गै पारेर सडकमा घुमाउँदै बलात्कार गरियो

भारतलाई लज्जित बनाउने मणिपुरको दृश्य– महिलालाई नाङ्गै पारेर सडकमा घुमाउँदै बलात्कार गरियो

अढाई महिनादेखि तनावग्रस्त भारतीय राज्य मणिपुरको एउटा भिडियोलाई लिएर भारतमा अहिले तहल्का मच्चिएको छ। भिडियोको सन्दर्भलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४० करोड भारतबासी नै लज्जित भएको टिप्पणी गरेका छन्।

मणिपुरमा मैतेइ र कुकी समुदायबीच हिंस्रक संघर्ष चलिरहेको छ। मणिपुरको उच्च अदालतले त्यहाँको बहुसंख्यक मैतेई समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न भन्दै राज्य सरकारका नाममा आदेश जारी गरेपछि मणिपुरमा हिंसा भड्किएको थियो।

अल्पसंख्यक कुकी समुदायका व्यक्तिले उच्च अदालतको आदेशको विरोध प्रदर्शन सुरु गरेपछि मणिपुर हिंस्रक बन्दै गएको हो। यसबीच पछिल्लोपटक सार्वजनिक भएको एउटा भिडियोले भारतभर नै तहल्का मच्चिएको छ।

भिडियोमा हतियारधारी युवा रहेको एउटा समूहले महिलालाई नाङ्गै पारेर सडकमा घुमाइरहेको देखिन्छ। सडकमा नाङ्गै घुमाउँदा महिलामाथि यौन उत्पिडन भइरहेको पनि भिडियोमा देखिन्छ। भिडियोमा देखिएकामध्ये एक महिलाको उमेर २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष भएको बताइएको छ।

मणिपुर प्रहरीले उक्त भिडियोको पुष्टि गर्दै उक्त घटना मे महिनाको ४ तारिखको भएको बताएको छ।  इन्डियन एक्सप्रेसमा छापिएको समाचारका अनुसार कुकी–जोमी समुदायका यी महिलामाथि मैतेई बहुल थोबल जिल्लामा यौन उत्पिडन भएको थियो।

सामूहिक बलात्कारसहित यौन उत्पिडनबाट पीडित महिलाहरुले प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीमा उनीहरुले आफूसहित एक ५० वर्षीया महिलाको पनि कपडा उतारेर यौन उत्पिडन गरिएको उल्लेख गरेका छन्।

पीडित महिलाहरुले उजुरीमा उल्लेख गरेअनुसार मे ३ तारिखका दिन आधुनिक हतियार बोकेका ८०० देखि १ हजार जनाको समूहले थोबल जिल्लास्थित उनीहरुको गाउँमा हमला गरेका थिए। हतियारधारीहरुले गाउँमा लुटपाट मच्चाउनका साथै घरहरुमा आगो लगाउन सुरु गरिदिए।

यस्तो स्थितिमा पीडित २ महिलासहित अन्य युवतीहरु आफ्ना पिता र भाइहरुसँगै जंगलतर्फ भागे। जंगलतर्फ भागेपछि सुरुमा प्रहरीले उनीहरुलाई बचायो पनि। प्रहरीले उनीहरुलाई संरक्षणका लागि भनेर प्रहरी चौकी लैजाँदै थियो। तर प्रहरी चौकीभन्दा २ किलोमिटर अगाडि नै भिडले उनीहरुलाई रोक्यो।

त्यसपछि भिडमा रहेका व्यक्तिले ती महिलालाई प्रहरीबाट खोसे। एक युवतीका पितालाई भिडले त्यहीँ मारिदियो।

३ जना महिलालाई निर्वस्त्र भएर हिँड्न विवश बनाइयो। युवतीहरुमाथि सामूहिक बलात्कार भयो। सामूहिक बलात्कारको शिकार भइरहेकी दिदीलाई बचाउन गएका १९ वर्षीया किशोरलाई पनि भिडले मारिदियो।

मणिपुर हिंसाको आगोमा जल्न लागेको ३ महिना पुग्न लाग्दा समेत त्यस मामिलामा कुनै प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सार्वजनिक भएपछि प्रतिक्रिया दिएका छन्।

बिहीबार संसद्को मनसुन सत्र सुरु हुनु अगाडि मिडियालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मणिपुरमा भएको उक्त घटना १४० करोड भारतीयका लागि लज्जाको विषय भएको बताए। ‘मणिपुरमा भएको घटनाले १४० करोड भारतीयलाई लज्जा भएको छ। म सबै देशवासीलाई आश्वस्त पार्न चाहन्छु, यसमा संलग्न कसैलाई पनि छुट दिइने छैन,’ मोदीले भने।

संसद् सत्र सुरु हुनु अगाडि मोदीले भने, ‘लोकतन्त्रको यो मन्दिर (संसद्) अगाडि उभिरहँदा मेरो हृदय पीडाले भरिएको छ। क्रोधले भरिएको छ। मणिपुरको जुन घटना सार्वजनिक भएको छ कुनै पनि सभ्य समाजका लागि यो लज्जित बनाउने घटना हो। पाप गर्नेहरु, अपराध गर्नेहरु कति छन्, को हुन्, उनीहरु आफ्नो ठाउँमा छन्। तर बेइज्जती पुरै देशको भइरहेको छ। १४० करोड देशबासी लज्जित हुनुपरेको छ। म सबै मुख्यमन्त्रीहरुलाई आग्रह गर्दछु कि उहाँहरुले आफ्नो राज्यमा कानुन–व्यवस्थामा अझ कडाइ गर्नुहोस्। खास गरेर हाम्रा आमा तथा बहिनीहरुको रक्षाका लागि कठोरभन्दा कठोर कदम उठाउनोस्। म देसबासीलाई विश्वास दिलाउन चाहन्छु कुनै पनि अपराधीलाई छुट दिइने छैन।  कानुन आफ्नो पुरै शक्तिका साथ एकपछि अर्को कदम उठाउनेछ। मणिपुरका चेलीहरुमाथि जे भएको छ त्यसमा कहिल्यै माफ गर्न सकिन्न।’ –एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*