Home / Feature Breaking news / शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग
फाईल तस्वीर

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव उठेको छ । पार्टीको विधानमा वरिष्ठ नेतासम्बन्धी व्यवस्था छैन । तर विगतमा महाधिवेशनमा सभापति पदका निकटतम प्रत्याशी रहेका नेतालाई केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेताको रुपमा सभापतिपछि दोस्रो वरीयता दिने अभ्यास थियो । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका नेता कोइराला अहिले पार्टीको वरीयताक्रममा २५ औँ स्थानमा छन् ।

उनीनिकट नेताहरूलाई कोइरालालाई वरिष्ठ नेता बनाउन माग गर्दै आएका छन् । मंगलबारदेखि जारी बैठकमा बिहीबार पनि करिब एक दर्जन नेताहरूले धारणा राखिसकेका छन् । त्यस क्रममा केन्द्रीय सदस्य चन्द्रमोहन यादवले नेता कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरे । ‘पार्टीमा वरिष्ठ नेताको अभ्यास छ । विगतमा रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति भएपछि त्यो पद रिक्त छ । त्यसमा अब शेखर कोइरालालाई वरिष्ठ नेता बनाएर जानुपर्छ भन्ने प्रस्ताव गर्दछु,’ बैठकमा यादवले प्रस्ताव गरे ।

उनले त्यसरी कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्टीमा समन्वय समझदारी र सहकार्यका लागि थप सजिलो हुने समेत दाबी गरे ।

कांग्रेसमा केन्द्रीय सदस्यमात्रै बनेर सीधा सभापतिमा चुनाव लडेका कोइरालालाई सभापति देउवाले पार्टीको मर्यादा क्रममा भने पूर्वपदाधिकारीहरूभन्दा पनि तल राखेका छन् । जबकि कोइराला समूहबाट उपसभापति धनराज गुरुङ र महामन्त्री बनेका गगन थापा तेस्रो र चौथो नम्बरमा छन् ।

महाधिवेशनमा आफूभन्दा धेरै जुनियर भन्दै डोमिनेट गरेका देउवाले महाधिवेशनपछि लामो समयसम्म कोइरालासँग सम्वादसमेत गरेनन् । तर गत निर्वाचनपछि देउवा-कोइराला सम्बन्धमा सुधार छ ।

यसपटकको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिमाथि प्रश्न उठाएकै कारण महामन्त्रीहरूको आलोचना भइरहेको छ भने केही नेताहरूले कोइरालाको भूमिकाको प्रशंसा गरिरहेका छन् ।

बुधबार र बिहीबार केन्द्रीय सदस्यहरुले कोइरालाको भूमिकाको प्रशंसा गरे ।

बुधबार केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी शेखर कोइरालाले निभाएको भूमिका प्रशंसनीय भएको उल्लेख गरे । ‘नेता शेखर कोइरालाले जुन भूमिका देखाइरहनुभएको छ, त्यो गुटगत हिसाबले भनौँ वा प्रतिस्पर्धीको हिसाबले मात्रै हेरिएको छैन,’ उनले भने,’उहाँले पार्टीको हित हेरेर काम गरिरहनुभएको छ, जुन प्रशंसा गर्न योग्य छ ।’

बिहीबार अर्का केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि कोइरालाको भूमिकाको प्रशंसा गरेका थिए । ‘शेखर दाइले ठूलो गुटबन्दी गर्नुभएको छैन । वास्तवमा अहिले काम गर्नकालागि सभापतिजीलाई निकै सहज अवस्था हो,’ उनले भनेका थिए ।

कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने विषयमा उपसभापति धनराज गुरुङसहित महामन्त्री र सहमहामन्त्रीहरुसमेत सकारात्मक छन् । तर अर्का उपसभापति पूर्णबहादुर खड्का पार्टीको महामन्त्री भइसकेको र मुलुककोसमेत उपप्रधानमन्त्रीसम्म भइसकेको भन्दै उनले कोइरालालाई वरीयतामा आफूभन्दा माथि राख्न नमिल्ने अडान लिँदै आएका छन् । नेताहरूका अनुसार खड्काकै अडानका कारण देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउन ढिला गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*