Home / Feature Breaking news / राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

घोराही, ६ माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रवार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय सभाको १ रिक्त सदस्यका लागि उपनिर्वाचन हुन थालेको हो । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङगनमा मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि माघको ८ गते मतदाता नामावली प्रकाशन गरिने र नामावलीमा दावी विरोध भए निवादन वा उजुरी दिने, माघको ९ र १० गते निवेदन तथा उजुरी उपचर छानविन र कारवाही गर्ने, माघको १० गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने र मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको कार्यतालिका सार्वजनिक भएको छ ।

त्यसैगरी माघको १२ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरि निर्णय गर्ने, माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने कानुनी व्यवस्था रहेको छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्राईले राजिना दिएपछि उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*