Home / Feature Breaking news / मतदाताले प्रत्येक ‘झूट’ को हिसाब राखेका छन्: राजु खनाल

मतदाताले प्रत्येक ‘झूट’ को हिसाब राखेका छन्: राजु खनाल

२०७० को संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित कांग्रेसका राजु खनाल अहिले प्रदेशसभा निर्वाचनमा भिड्दै छन्। दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका खनालले गठबन्धनको बलियो शक्ति रहेको यो क्षेत्रमा आफ्नो जित सहज दाबी गरेका छन्। मूलतः मतदाताहरुमा अघिल्ला जनप्रतनिधिहरुबाट हुन नसकेका कामहरुको विश्लेषण भइरहेको भन्दै खनालले मतदाताहरुको आधारभूत आवश्यक्ता प्रदान गर्ने सामथ्र्य आफूमा रहेको दाबी गर्छन्।

खनाल सँग पत्रकार देवेन्द्र बस्नेतले उनको चुनावी एजेण्डा र चुनाव जित्ने आधारका बिषयमा केन्द्रीत रहेर कुराकानी गरेका छन्।

कुराकानी यसप्रकार रहेको छ:

मतदाताहरुको मनोभाव कस्तो पाउनु भयो ?

मेरो चसनावी क्षेत्र अन्तर्गत बंगलाचुली गााउँपालिकाका केहि स्थानमा केहि दिन अघिको बर्षाका कारण क्षेती पुगेको छ। कतै पहिरोले बाटो बन्द भएको अवस्था, कतै घर भत्कीएको/चर्किएको अवस्था छ। यसर्थ त्यहाँ चुनावमा भन्दा पनि आफ्नै व्यवस्थापनको चिन्ता छ । समग्रमा मेरो चुनावी दौडका क्रममा मैले बुझेको र सत्य कुरा के हो भने यो भन्दा अगाडी पनि नेतृत्वमा पुर्यायौँ, काम भएनन् । विकासका समस्या छन्। सडकको, खानेपानीको समस्या यथावत छ।

विद्यालयको समस्या छ। स्वास्थ्य सेवा प्रभावकारी छैनन् भन्ने खालका गुनासा छन् । र यी गुनासाहरु नयाँ हैनन्,हिजो जुन खालका गुनासाहरु थिए, अहिले पनि उनै मागहरु राखिरहेको अवस्था छ। र मैले पनि यी विषयहरुका सन्दर्भमा प्रष्ट पार्ने, ती कामहरु पूरा गर्ने प्रतिबद्धता पनि गरिरहेको छु। र यी कामहरु गर्न सकिन्छ पनि म मा त्यो सक्षमता छ । र मैले मतदाताहरुका यी नै माग सुन्न, गुनासा सुन्न भेटघाटलाई तीब्र बनाएको छु र ति समस्या समाधानका लागि कसरी काम गर्न सकिन्छ भन्ने निक्र्यौल पनि गरिरहेको छु ।

राजनीति प्रति मतदाताहरुको दृष्टिकोण कस्तो छ ?

विगतमा पनि हामीहरुले तपाईलाई सधैँ साथ दिँदै आयौँ,तर जुन स्थिरताको कल्पना भएको थियो त्यो भएन भन्ने गुनासो छ। यो गुनासो समग्र राजनीति प्रतिको गुनासो हो। राजनीतिक दलहरु स्थिरताको पक्षमा लाग्नु होला, हामीहरुलाई सुख सुविधा प्रदान होला भन्ने आशा गरेका थियौँ भनेर मतदाताहरुले गुनासो राख्नु हुन्छ । त्यसमा पनि संविधान निर्माण पछिको अवस्थाबाट मतदाताहरु अझ बढि आशावादी भएको मैले पाएँ।

तर त्यो आशा पूरा भएन भन्ने नै मतदाताहरुको गुनासो छ। तर देश पुनः राजनीतिक द्धन्द्धमा जस्तै परेको अहिलेको अवस्थाले मतदाताहरुमा थप निराशा पैदा भएको छ। यसर्थ राजनीतिक नेतृत्वप्रतिको आक्रोश छ, दलहरुले केहि गर्न सकेनन् भन्ने गुनासो स्वाभाविक पनि छ। तर यसलाई हामी राजनीतिकर्मीहरुले गम्भिर ढंगबाट मनन गर्नुपर्छ। संविधान निर्माण पछि राजनीतिक स्थिरताको परिकल्पना हामीले पनि गरेका थियौँ ।

र पाँच बर्ष सम्मै स्थिर सरकार बन्छ र यसले जनताका आधारभूत आवश्यक्तालाई सम्बोधन गर्न भन्ने लागेको थियो। तर त्यो हुन सकेन। तर भएका उपलब्धीहरुलाई समेत भत्काउने प्रयासहरु पनि भए। यसले गर्दाखेरी आम नागरिकमा निराशा छ। तर यसको निकासका लागि फेरी राजनीतक दलहरुले नै दिने हो । हामीले भएका उपलब्धीको रक्षा र आधारभूत आवश्यक्ता सम्बोधनका लागि गठबन्धन गरेर अगाडी बढेका छौँ भनेर मतदाताहरुलाई भनिरहेका छौँ, मतदाताहरुलाई बुझाउने प्रयत्न गरिरहेका छौँ ।

मतदाताहरुको गुनासो सम्बोधन गर्ने तपाईको ठोस एजेण्डा के हो?  

अब हिजोको सोचले हैन, अब जनता प्रति केन्द्रीत हुनै पर्छ। जनता प्रति उत्तरदायि भएर कार्यक्रम, नीति निर्माणगर्नै पर्छ। विगतमा पनि तपाईहरुले सुन्नु भयो, रेल कुदाउने आश्वासन हिजो दिईयो। अनि पानी जहाजमा घुमाउने आश्वासन दिईयो। खानेपानीको सुविधा दिन सकेका छैनौँ तर पाईपबाट ग्याँस उपलब्ध गराउने सपना बाँडियो। यस्ता असम्भव सपनाहरु पूरा हुने अवस्थामै नरहेका आश्वासनहरु थिए। यसले आम नागरिकलाई पनि के भयो भने मतदातहरुमा ठूलो भ्रम पैदा भयो।

अनि राजनीतिक दलहरुले झूटै बोल्छन् भन्ने प्रमाणित पनि भयो। यसर्थ अहिले हामीहरुले के भनिरहेका छौँ भने जे गर्न सक्छौँ, त्यो मात्रै बोल्छौँ। तत्कालीन रुपमा सबै ठाउँमा सहज यातायात सेवा उपलब्ध हुन सकोस्। सहज रुपमा हाम्रा सन्ततीहरुले गुणस्तरीय शिक्षा आर्जन गर्न सकुन्।  हरेक नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच कायम होओस्।

कृषकहरुले समयमै मल बिउको पाउन सकुन्। र कृषकहरुलाई दिन सकिने राहतका कार्यक्रहरु तयार पारेर अघि बढ्ने मेरो योजना हो। पा्रकृतिक स्रोत साधनको संरक्षण र प्रवर्धन गरेर यहाँ रोजगारीको सृजना गरिनु आवश्यक्ताको विषय हो। यसर्थ म यो वातावरण निर्माणका लागि लागि परेको छु, लाग्ने छु र यसको सकारात्मक नतिजाका लागि सफल पनि हुने छु। म उम्मेदवार भएकोले पनि यहि अजेण्डामा केन्द्रीत छु।

संसद विघनको ‘राजनीतिक प्रयास’ ले मतदाताहरुको मनोभाव कस्तो बनेको छ?

यसले धेरै निराशा बढायो। चुनावका बेलामा झूठ बोल्छन् र अल्मलाउँछन् तर काम भने उल्टो गर्छन् भन्ने आम बुझाई बनेको छ। बुद्धिजिवीहरुमा पनि राजनीतिक नेतृत्व प्रति आक्रोश छ। त्यसबाट हामीहरुले गल्ती महशुस गरेर अब आउने पुस्ताले मतदाताको त्यो भावनालाई समेटेर गल्ती नगर्ने चेष्टा गर्नुपर्छ।

यदि हामीहरुले यसलाई करेक्सन गरेर जान सकेनौँ भने अझ बढि आक्रोश बढ्छ , यथार्थलाई स्वीकार्नु पर्छ। र यहाँले भने जस्तो संविधान मास्ने प्रयास जसरी कुनै एक दल बिशेष एमालेले गर्न खोज्यो। यसले त्यो गलत कदमको हकदार दल एमालेलाई त सबै भन्दा बढि असर पर्ने नै भयो, तर अरुलाई पनि कतै न कतै मुछ्दै जाने भयो नि। पाँच बर्ष सम्मको म्याण्डेट सहित स्थिर सरकारको परिकल्पना हामीहरुले गर्यौँ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आशा देखाएको सरकारको नेतृत्व गरेको दलबाट ठिक उल्टो भयो। सविधान मास्न खोज्ने हर्कत हुनुलाई आम मतदाताहरुले सहि कि गलत भनेर सहजै बुझ्ने कुरा हो।

स्थिर भनेर परिकल्पना गरिएको सरकारका पालामा भएको अनियमीतता,प्रस माथिको अधिकार कुण्ठित गरिनु आमनागरिकको हित अनुकुलका कामहरु भएनन्। तत्कालीन प्रधानमन्त्रीबाट हरेक शक्तिलाई आफू माथि केन्द्रीत गरेर सर्वसत्तावादी शासक बनेर राज्य सत्ता सञ्जालन गर्न थलियो।

अनि कोरोना संक्रमणका बेला नागरिकहरु छट्पटाएर बस्नु परेको जर्जर अवस्था थियो। यो बेलामा नागरिकहरुलाई राज्यको सहारा चाहिएको थियो, तर त्यहि बेला नागरिकका लागि खरिद भएका स्वास्थ्य सामाग्रीमा भएका घोटालाले आम नागरिकहरुलाई तत्कालीन राज्य संयन्त्र प्रति झनै बढि क्रुद्ध बनाएको हामीले देख्यौँ। अनि मुलुकको मुल कानुनलाई च्यात्ने प्रयत्न कति सम्म जायज भन्ने प्रश्न आम रुपमा उठ्यो। एउटा प्रधानमन्त्री आफू अल्पमतमा पर्छु कि भन्ने त्रासमा संसदै विघटन सम्मको हर्कत पनि भए। यी समग्र गलत कामहरुका कारण पनि जनतामा निराशा उच्चतम् रुपमा पैदा भयो र मतदाताहरुले प्रत्येक झूठको हिसाव राखेका छन्।

हामी अहिले तिनै गलत कदमको बिरोधी शक्तिहरु मिलेर गठबन्धनमा छौँ। हाम्रो अहिलेको अजेण्डा पनि के हो त भन्दा मुलुकमा भएका उपलब्धीहरुको रक्षा हाम्रो पहिलो प्राथमिकता हो। त्यसपछि जनताको सेवा सुविधाका लागि हाम्रो अको मूल प्रतिवद्धता हो।

तपाईले गठबन्धनको कुरा गर्नु भयो, चुनावमा यसको कार्यान्वयनको पाटोलाई कति मजबुत देख्नु हुन्छ?

आउँदो निर्वाचनमा अझ कस्सीएर जान्छ। हिजो स्थानीय तहको चुनावमा गठबन्धन कार्यान्वयनको पहिलो अभ्यास भयो। एउटा पार्टीको चुनाव चिन्हमा अर्को पार्टीका मतदाताहरुले मत हाल्ने अभ्यासको सुरुवात हिजो भयो। यसको कार्यान्वयनमा केहि सामान्य कमजोरी भए होलान्। र अर्को कुरा मतदानका क्रममा देखिएको मतपत्रको उल्झनका कारण बदर मतको संख्या बढेर गयो र घोराही उपमहानगरको परिणाम हाम्रो अनुकुल हुन सकेन।

तर अहिले मतदाताहरु सबै सचेत हुनुहुन्छ। मतपत्रको उल्झन पनि अहिले त्यस्तो जटिल छैन। र गठबन्धनलाई मजबुत बनाएर राष्ट्रहितका पक्षमा सबै अडिग रहनु पर्छ भन्ने बुझाई आम मतदाहरुमा परेको छ। यसले पनि गठबन्धन कार्यान्वयनको पाटो बलियो बनेर आगामी निर्वाचनमा गठबन्धनको सहज जीत प्रष्टै देखिएको छ। समस्या हामी गठबन्धन भित्र छैन , तर यसमा एमालेले फरक दलको चुनाव चिन्हमा किन मत हाल्ने? भनेर गठबन्धनका मतदाताहरुलाई भड्काउन खोजिरहेको अवस्था चाहिँ छ।

एमालेले मतदाता सम्म लैजाने अजेण्डाहरु त कुनै पनि छैन। अनि कांग्रेसीको घरमा गएर माओवादीलाई किन भोट हाल्नु हुन्छ? अनि माओवादीको घरमा गएर कांग्रेसले माओवादीलाई भोटै हाल्दैन तपाईहरुले किन हाल्ने? भनेर यस्ता खालका गठबन्धनका बिचमा भिडाउने खालका भ्रमहरु फैलाउने खालका कामहरु एमालेले गरिरहेको छ।

यो भ्रमका कारण गठबन्धनको केहि मत आर्जन गर्न सकिन्छ कि भन्ने एमालेको प्रयास हो, तर एमालेले सोचे जस्तो समस्या गठबन्धनमा छैन। हिँजो भन्दा अझ कसिलो अवस्थामा अहिले गठबन्धन अगाडी बढेको छ। यदि हामी अहिले चुक्यौँ भने फेरी राजनीतिक अस्थिरतामा मुलुक जान्छ भन्ने चेत गठबन्धनका नेता देखि तल्लो तहका कार्यकर्ताहरु सम्मै छ।

कांग्रेसले आफ्नो योगदानको जस लिन सक्दैन, अरुले लिन्छन् र चुनावी अजेण्डा बनाउँछन् भन्ने चर्चा चल्छ नि , यो सत्य हो?

यो सत्य हो। मुलुकमा भएका हरेक उपलब्धीको जस एमालेले लिन खोजिरहेको छ। मैले उदाहरणकै रुपमा भन्छु म अहिले जुन निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको छु , यो क्षेत्रमा अघिल्लो पटक एमालेका नेता शंकर पोख्रेल निर्वाचित हुनु भयो र मुख्यमन्त्री पनि बन्नु भयो। उहाँ अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ।

उहाँले हिजो निर्वाचित भएको क्षेत्र अन्तर्गत बंगलाचुली गाउँपालिकामा के काम गर्नु भयो? म उहाँलाई सोध्न चाहन्छु। म धेरै पटक त्यहाँ पुगेँ, तर उहाँले मैले यसो काम गरेँ भनेर देखाउने एउटा ठाउँ छैन। तर उहाँकै दलका कार्यकर्ताहरुले अन्य ठाउँका योजनाहरुलाई हामीहरुले गरेका हौँ भनेर प्रस्तुत गरिरहनु भएको छ। मैले फेरी पनि प्रश्न गरेँ कि हिजो मुख्यमन्त्री भएका शंकर पोख्रेलले गरेका काम खोई? एउटा त देखाउनुस्।

यसर्थ उहाँहरुले आफूहरुले गलत प्रचारबाजी गरेर हरेक उपलब्धीको जस लिन खोज्नु हुन्छ, यो उहाँहरुको प्रबृत्ति नै हो।तर मतदाताहरुलाई यसरी गलत प्रचारबाजी गरेर अब अल्मल्याउन सकिने छैन। मतदाताहरुले सत्य के हो? भनेर बुझिसक्नु भएको छ।

तपाईले चुनाव जित्ने आधारहरु के छन्?  

पहिलो कुरा म संविधान सभा सदस्य हो। म यहि निर्वाचन क्षेत्रबाटै निर्वाचित भएर संविधान लेखन जस्तो महत्वपूर्ण ऐतिहासिक काममा सहभागी भएँ। यससँगै मैले यहाँको विकास निर्माणका लागि मेरो अर्को प्रतिवद्धता थियो।

मैले संविधान निर्माण र विकास निर्माण दुईवटै प्रतिवद्धता पूरा गरेँ। गत प्रतिनिधिसभा निर्वाचनमा पनि म उम्मेदवार बनेँ। त्यो बेला पनि मलाई मतदाताहरुले माया गर्नुभयो। तर त्यो बेला माओवादी र एमालेको गठबन्धनका कारण म पराजित बन्न पुगेँ। र अहिले पनि मतदाताहरुको भरोसा म प्रति छ। किनभने म हिजो सांसद निर्वाचित भएका बेला पनि कांग्रेस सरकारमै थियो ।

त्यो बेला म माथि लाञ्छना लगाउने कुनै ठाउँ मैले दिएन। यसले काम गर्न सकेन, आर्थिक हिनामिनामा जोडियो भनेर मैले कतैबाट गुनासो गर्ने ठाउँ दिएनँ। यी सँगै हरेक गलत अनियमितताका कुरामा मेरो नाम जोडिएन ।

यसर्थ यो काम गर्ने मान्छे हो भन्ने बुझाई म प्रति मतदाताको छ। त्यसमा पनि म आन्दोलनबाट आएको व्यक्ति हिजो पञ्चचायत बिरोधी आन्दोलनमा बिद्यार्थी आन्दोलनबाट निरन्तर राजनीतिमा सकृय रहेको मान्छे हुँ म। एउटा सामान्य परिवारबाट राजनीतिमा आएको मान्छे यसलाइ सेवा भावले मैले जसरी अगाडी बढाएको छु एउटा उम्मेदवारको रुपमा मलाई हेर्ने सकारात्मक दृष्टिकोण यो छ। अनि अहिले मेरो प्रदेश सभा क्षेत्र भनेको गठबन्धनको राम्रो पकड भएको क्षेत्र हो। यसर्थ सहजता पूर्वक हामीले चुनाव जित्ने आधार छ। र म प्रतिको मतदाताको प्रेम, सद्भावले पनि मलाई जित दिलाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*