Home / Feature Breaking news / कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने

कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दसैं खर्च सरकारले कोभिड-१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिए ।

प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए । उनले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*