सुशीला वली
दाङ, ६ असोज । घोराही उपमहानगरपालिका–८ दुन्द्राका आइतमाली विकको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । बिहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउने र खोर सफा गर्दैमा उनको दिनचर्या बित्ने गरेको छ । विगत ३ वर्षदेखि उनी व्यवसायमा नै छन् । आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनले बताए । माडीगाउँपालिका–१ रोल्पा स्थायी घर भए पनि अहिले घोराही झरेका भएका विक बंगुरपालनमा राम्रो सम्भावना देखेर व्यवसाय सुरु गरेको बताए । उनले २०७४ सालको निर्वाचनपश्चात् माडी गाउँपालिकामा कार्यपालिका सदस्यमा रहेरसमेत काम गरेका थिए । बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उनले यो पेशामा हात हालेका हुन् ।
थोरै रकमबाट सुरु गरेको व्यवसाय अहिले एक करोड बढीको लगानी पुगेको उनले बताए । मोर्डन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएका विकले आप्mनै एक बिगाह जग्गामा बंगुरपालन व्यवसाय गरेका छन् । उनको फार्ममा अहिले २ सय ६० वटा बंगुर छन् । यस अघि सात सय रहेकोमा केही समय अगाडि बंगुर मरेका कारण केही क्षति पुगेको बताए । विकले स्थानीय सात जना व्यक्तिलाई रोजगार समेत प्रदान गरेका छन् । यो व्यवसायबाट वार्षिक ५ लाखसम्म बचत गरेको उनले बताए ।
रोल्पा रुन्टीगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्ती मगरले पनि करिब तीन वर्षदेखि घोराही उपमहानगरपालिका–१२ हापुर डाँडागाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन् । आफ्नै व्यवसायबाट आय आर्जन गर्ने उद्देश्यले घर्तीको परिवार दाङ आएको हो । उनले गाई, भैँसीबाट दैनिक उत्पादन गरेको दूध घोराहीसम्म पु¥याउने गर्छन् । ४० वर्षीय घर्तीसँग नेपाल प्रहरीको जागिर र करिब ५ वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेको अनुभव छ । हाल १० वटा गाई, भँैसी र बोयर बोका पाल्दै आएका घर्ती १८ कठ्ठा जग्गा भाडामा लिएर व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले राम्रै प्रतिफल दिँदै आएको बताए । रोजगारका लागि युवाहरू श्रमशक्ति खर्चिन अन्य देशमा जानुभन्दा आफ्नै गाउँमा आय आर्जनको बाटो खोज्न आवश्यक रहेको उनको भनाइ छ ।
आफ्नै मिहिनेत र सीपमार्फत् आत्मनिर्भर हुन सकियो भने देश र समाजलाई समेत फाइदा पुग्ने उनले बताए । नेपालमा थुप्रै जमिन बाँझो रहेको अवस्थामा युवाहरू कृषि पेशामा आबद्ध भएर आम्दानीको स्रोत बढाउनुपर्ने सुझाव उनको छ । पूर्णबहादुर, आइतमाली पौरखी पात्रका उदाहरण मात्र हुन् । उनीहरूजस्तै धेरै युवा स्वरोजगारमा लागेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । जिल्लाको राजपुर गाउँपालिका–३ खरदरीयामा पनि भँैसीपालन व्यवसायमा १ सय ५० बढी किसान आबद्ध छन् । जसले गर्दा उनीहरूको दैनिकी भैँसीको रेखदेखसँगै दुग्धजन्य वस्तुको बजारीकरणमै बित्ने गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०७३–०७४ मा जिल्लाका १० पालिकामा गरेर जम्मा ५ सय ७४ पशुपालन उद्योग दर्ता भएका छन् । यस्तै २०७४–०७५ मा चार सय ४८, २०७५–०७६ मा पाँच ७४, २०७६–०७७ मा ६ सय ५७, २०७८–०७९ मा १ हजार १ सय १ र २०७९–०८० मा १ हजार ५ सय १६ पशुपालन उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । हरेक वर्ष कार्यालयमा हुने बढ्दो उद्योग दर्ताको अभिलेखले पनि पशुपालनमा किसानको आकर्षण बढेको छ ।