शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । गएराति परेको वर्षाले दार्चुलामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार माहाकाली ३ की मानमती कार्की, माहाकाली २ का नन्दरानम बोहरा, नौगाड २ का मोहनराम पार्की, नौगाड १ का जानकी ठगुन्ना र धनमती ठगुन्नाको शव भेटिएको छ । अन्य चारजना अझै बेपत्ता छछ् ।
अहिले घटना स्थालमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएका छन् । महाकालीका आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् । प्रहरीका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमासमेत क्षति पुगेको छ ।
अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधनसमेत बगाएको प्रहरीले बताएको छ । रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।